Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआजदेखि पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट, यसरी लिनुहोस सेवा

आजदेखि पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट, यसरी लिनुहोस सेवा


काठमाडौं । नेपालस्थित सरकारी सेवाहरु विस्तारै सूचनाप्रविधि मैत्री बन्न थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालेको छ ।
२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकोमा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी गर्न थालिएको हो ।

श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको श्रम विभागले जानकारि दिएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिनुभएको छ ।

कसरी लिन सकिन्छ सेवा ?
पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेभसाइटमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । सिधै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गएर समेत भर्न सकिनेछ ।

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको युजर एकाउन्टमा जान्छ । यसकारण आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुहोला ।

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा पुनः श्रम स्विकृति चाहिएको तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले सबैलाई अनुरोध गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सो बमोजिम भए नभएको यकिन गर्न समेत आग्रह गरिएको छ ।

वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करीब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजारभन्दा बढीले सेवा लिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ