Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका खबर अपडेट, यी हुन आज बढ्नैपर्ने प्रमुख ५ खबर

नेपालका खबर अपडेट, यी हुन आज बढ्नैपर्ने प्रमुख ५ खबर


काठमाडौं । अदलातमा देखिएको भाडभौलोले पाउँदैआएको निरन्तरता, लामो रस्साकस्सीपछि प्रदेश २ को नाम र राजधानीमा लागेको टुंगो, काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मीमा देखिएको कोरोना, औषधी व्यवस्था विभागमा देखिएको लफडा र कोरोनाविरुद्धको बुस्टर डोजलाई दिइएको तिब्रता लगायतका प्रमुख ५ खबर यस्ता छन् ।

सर्वोच्च अदालतमा फुलकोर्ट बैठक
सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । आफू नबस्नेगरि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको बताइएको छ । न्यायाधीश र कर्मचारी संक्रमित भएर प्रभावित भएको सेवा बारे पूर्ण बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

प्रदेश २ को राजधानी र नामको छिनोफानो
प्रदेश–२ को स्थायी राजधानी र नाम लामो रस्साकस्सीपछि सोमबार टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित हुँदा प्रदेशको नाम मधेश राख्ने प्रस्ताब दुई तिहाइले पारित भएको छ । कुल १ सय ४ सदस्य रहेको प्रदेश–२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । मधेश नामाकरणको पक्षमा ८० जना सांसदले मतदान गर्दा स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको थियो ।

काठमाडौं उपत्यकाका ७ अस्पतालमा ५ सय स्वास्थ्यकर्मी संक्रमित
कोरोनाको लक्षण वा संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनको अध्यावधिक निर्देशिकाअनुसार १० दिनसम्म आइसोलसनमा बस्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकामा बिरामीको चेकजाँच गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी नै संक्रमित भएर आइसोलेसनमा बस्न थालेपछि अस्पतालहरुमा संक्रमितको उपचारमा समस्या देखिन थालेको छ । तेश्रो भेरियन्टको तिब्रतासँगै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका करिब दुई सय जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित भएका सबै स्वास्थ्यकर्मी आइसोलसनमा छन् । महाबौद्धस्थित वीर अस्पतालमा ७५ जनामा संक्रमण देखिएको छ । एकैपटक धेरै संख्यामा संक्रमण देखिएपछि सेवामा कठिनाइ भइरहेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले बताउनुभयो । निजामति कर्मचारी (सिभिल) अस्पताल, बानेश्वरका ७० जनाभन्दा बढी स्वास्थ्यकर्मी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका ७ जना स्वाथ्यकर्मी संक्रमित भएका छन् । सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा ३२ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । यो संख्या आज बढ्ने आँकन गरिएको छ । भक्तपुर अस्पताल, भक्तपुरका २० जना स्वास्थ्यकर्मी पाटन अस्पताल, ललितपुरका ८४ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

पशुपति धर्मशालाको सम्झौता रद्ध गर्न सिफारिस
छानबिन समितिले पशुपतिमा धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको छ । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम आलेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले संस्कृति मन्त्रालयका सचिव तथा परिषद्का सदस्य महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाउँदै सेटिङका विभिन्न कारण देखाएर सम्झौता खारेज गर्न समितिले सिफारिस गरिएको जानकारि दिनुभयो ।

औषधी व्यवस्स्था विभागमा दुई महानिर्देशक
गत मंगलबार स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएसँगै अहिले विभागमा दुई निर्देशकले हाजिर गरिरहेका छन् । तत्कालिन महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशाला प्रमुखमा सरुवा गरिएपनि भट्टराई र ढकाल दुबैले विभागको महानिर्देशककै रुपमा अहिले हाजिर गरिरहेका छन् । हालै सरुवा भएर विभाग आएका भट्टराई हाजिर गरेर हिड्ने गरेका छन भने ढकाल बिहानै विभाग पुगेर बस्दैआउनुभएको छ ।

ललितपुर महानगरमा आजबाट बुस्टर डोज
महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै महानगरका ८ वटा अस्पतालबाट बुस्टर डोज खोप दिने जानकारी दिएको हो । माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वयंसेवक लगायतलाई समेटिने बताइएको छ । यस्तै सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा)का कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतले समेत बुस्टर डोज खोप पाउनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ