Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसयौं नेपाली नर्सिङ विद्यार्थीको भविष्य अन्यौल पार्ने अष्ट्रेलियाको एक कलेज खारेज । विद्यार्थीको भविष्य के हुन्छ ?

सयौं नेपाली नर्सिङ विद्यार्थीको भविष्य अन्यौल पार्ने अष्ट्रेलियाको एक कलेज खारेज । विद्यार्थीको भविष्य के हुन्छ ?


 

सरल गुरुङ\सिड्नी

नर्सिङ इन डिप्लोमा विषयको सम्बन्धन नै नलिई विद्यार्थी भर्ना गरेर पढाउन सुरु गरेको भन्दै अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी ( एआइबिटी) कलेज खारेजीमा परेको छ ।

अष्ट्रेलियन क्वालिटी अथोरोटी (अस्क्वा ) ले शैक्षिक कानुन उल्लघंन गरेको भन्दै आज एआइबिटीको दर्ता खारेज गरेको हो ।
कलेजले विद्यँर्थीलाई भ्रममा पार्ने गरि बजार प्रवर्धन गरेको र विज्ञापनमा भनिएजस्तो कार्य नगरेकोले दर्ता खारेजीको निर्णय गर्नु परेको अस्क्वालाई उदृत गर्दै एसबिएसले जनाएको छ । दर्ता खारेजीको निर्णय भने आगामी मार्च २६ तारिखबाट लागू हुनेछ । कलेजले २८ दिनभित्र खारेजी विरुद्ध अपिल भने गर्न सक्दछ ।

यसैबिच एआइबिटीले भने अस्क्वाको निर्णय विरुद्ध कानुनी लडाई लड्ने जनाएको छ ।

अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी ( एआइबिटी) ले डिप्लोमा इन नर्सिङ विषयको सम्बन्धन नै नलिई भटाभटा विद्यार्थी भर्ना गरेर दुइ वर्षदेखि पढाइरहेको थियो । पढाइ सकिन लागिसक्दा मात्रै विद्यार्थी चाल पाएपछि सम्बन्धित निकायमा उजुरी गरेका थिए । एआइबिटीमा झण्डै ८ सय नेपाली विद्यार्थी पढिरहेका थिए ।

अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल ( एनम्याक) बाट सम्बन्धन लिनुपर्छ । सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हुदैन ।

सिसाले गर्यो स्वागत

काउन्सिल अफ इन्टरनेश्नल स्टुडेण्ट अष्ट्रेलिया (सिसा) ले अस्क्वाको निर्णयलाई स्वागत गरेको छ । नेपाल ट्युब अष्ट्रेलियासंग कुरा गर्दै सिसा अध्यक्ष विजय सापकोटाले गुनासो आएको यत्ति छोटो समयमै सरकारले छानविन गरेर निर्णय गर्नु स्वागत योग्य भएको बताउनुभयो ।
अस्क्वाको निर्णयले एआइबिटीले गलत अभ्यास गरिरहेको स्पष्ट भएको छ सापकोटाले भन्नुभयो यसले विद्यार्थी, अभिभावक र परामर्शदाताहरु सबैलाई सचेत गराएको छ ।

विद्यार्थीको भविष्य के हुन्छ ?

यो प्रश्न सबैभन्दा महत्वपुर्ण छ । सिड्नी र व्रिजबेनमा पढिरहेका झण्डै ८ सय नेपाली विद्यार्थीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न अहिले सबैका लागि गम्भिर बनेको छ ।
यसबारे ट्युसन प्रोटेक्सन सर्भिस (टिपिएस)ले काम गरिरहेकाले निर्णय नहुन्जेल केही भन्न नसकिने सिसाका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
त्यसो त टिपिएसले विद्यार्थीलाई थप अन्य कोर्स गराएर अहिले पढिरहेको वा पढिसकेको डिप्लोमा नर्सिङलाई नै मान्यता दिने व्यवस्था गर्न पनि सक्छ । विद्यार्थीको पैसा फिर्ता गराउने र अहिलेसम्म खर्च भएको समयको भरपाई गर्न टिपिएसको भूमिका महत्वपूर्ण हुन्छ ।
उता सिसाले भने पैसा फिर्ताका बावजुत केही थप कोर्स गराएर साविककै नर्सिङ विषयलाई मान्यता दिदा विद्यार्थीको भविष्य राम्रो हुने दावी गरिरहेको छ । टिपिएसको निर्णय आउन अझै केही दिन कुर्नुपर्ने सापकोटाले बताउनुभयो ।

बदमासी नेपाली शैक्षिक परामर्शदाताको ?

नर्सिङ दर्ता नै नभएको कलेजमा कसरी पुगे सयौ नेपाली विद्यँर्थी ? यो प्रश्नले अहिले अष्ट्रेलियाको नेपाली समाजलाई विझाएको छ । नेपाल वा अष्ट्रेलियाका नेपाली शैक्षिक परामर्शदाताले विद्यँर्थीलाई कलेज बारे पुर्ण जानकारी दिएनन् वा जानकारी पाएर पनि विद्यार्थीहरुले अष्ट्रेलिया आउने हतार गरे ? अहिलेको अवस्था यी दुबै कारणले सृजना भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ बताउनुहुन्छ ।
विद्यार्थीलाई भ्रममा पारेर एआइबिटीमा भर्ना गराउने कन्सल्टेन्सीहरु कानुनी कारवार्ही गर्न दुतावास, एनआरएनए र परामर्शदाताहरुको संस्था एक्कासंग मिलेर अघि बढ्नुपर्ने गुरुङको भनाई छ । सहि सुचना नदिई गुम्राहमा राख्ने त्यस्ता कन्सल्टेन्सीविरुद्ध विद्यार्थी स्वयम्ले उपभोक्ता अधिकार संरक्षण कानुन अनुसार अष्ट्रेलियामा उजुरी गर्न सक्छन् ।

त्यसो त अष्ट्रेलियामा रहेका नेपाली शैक्षिक परामर्शदाताहरुको संगठन एक्काले पनि विद्यार्थीहरुलाई परेको समस्या समाधान गर्न सहयोगी भूमिका खेल्ने विज्ञप्तीमार्फत जनाइसकेको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ