Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आज : तपाईले पढ्न छुटाउनु भयो कि यी प्रमुख ५ खबर

नेपालमा आज : तपाईले पढ्न छुटाउनु भयो कि यी प्रमुख ५ खबर


काठमाडौं । कोरोना संक्रमणको सन्त्राससँगै खोप अभियानलाई नेपालमा तिब्रता दिइदैछ । चुनाव घोषण पूर्व मन्त्रीमण्डल विस्तारमा प्रधानमन्त्री देउवाले थालेको दौडधुपसँगै डिजिटल नेटवर्किङमा नलाग्न अर्थमन्त्री शर्माले गरेको आह्वान, मौसममा आएको बद्लाब बारे नेपालका प्रमुख ५ खबर यस्ता छन् ।

संक्रमितको तुलनामा मृत्यु हुनेको संख्या बढ्दो क्रममा
नेपालमा केही दिनयता कोभिड–१९ (कोरोना भाइरस) का नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गर्दा ज्यान गुमाउनेको सङ्ख्यामा भने बृद्धी देखिन थालेको छ । बिहिबार मात्रै तीन हजार एक सय ७५ जना नयाँ सङ्क्रमित थपिएदा १४ जनाले ज्यान गुमाएका छन् । गएको बिहीवार पनि एकै दिन १५ जनाले ज्यान गुमाउँदा संक्रमित पुष्टि हुनेको सङ्ख्या यो बिहिबार भन्दा झन्डै तीन गुणा बढी थियो । १४ गते शुक्रवार ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकोमा १० जनाको ज्यान गएको थियो । शनिवार चार हजार नौ सय चार जनामा सङ्क्रमण पुष्टि हुँदा ६ जनाले, आइतवार तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि हुँदा ३२ जनाको, १७ गते सोमवार पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएकामा आठ जनाको ज्यान गएको थियो । मङ्गलवार १८ गते पाँच हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएकोमा नौ जनाको ज्यान गएको थियो । केही दिनयता थपिएका सङ्क्रमितको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्नुको कारण सङ्क्रमितमा जटिलता हुने क्रम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले बताउनुभएको छ ।

७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप
नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले बधाई दिएको छ । नेपालले बुधबारमात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाइएको जानकारि दिएको थियो । नेपाल तथा सहयोगी निकायको ठूलो सफलता भएको भन्दै डब्लुएचओ नेपालले एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने दाबी गरेको छ । नेपाल सरकारले अझ पनि चैत मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।

काँग्रेस नेतृ सुजाता कोइराला मन्त्री बन्दै
नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब पक्का भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई महाधिबेशनमा दिएको आश्वासन अनुसार मन्त्री बनाउन लागेको बताइएको छ । प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री थप्न लागेको भएपनि कोइरालालाई रक्षा मन्त्रालय दिने आँकलन गरिएको छ । अर्को मन्त्री कसलाई बनाउने भन्ने परामर्शमा प्रधानमन्त्री देउवा रहेका छन् । निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले पहिला मन्त्री नियुक्ति गरेर मात्रै चुनाव घोषणाको तयारी भैरहेको छ ।

डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन अर्थमन्त्री शर्माओ आग्रह
अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएकाहरुलाई समेत तत्काल छोड्न सबैलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्री शर्माले डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भएको स्मरण गराउँदै यस्तो गैर कानुनी गतिविधि नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत मन्त्री शर्माले अनुरोध गर्नुभएको छ ।

दिनभर वर्षा र हिमपातको जोखिम
बिहीबार रातिदेखी देशभर सामान्यदेखि पूर्ण बदली सुरु भएको नेपालका आज पनि धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ । आज देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ