Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : एकै ठाउँमा पढ्नुहोस् नेपाल बारेका यी प्रमुख ५ खबर

नेपाल अपडेट : एकै ठाउँमा पढ्नुहोस् नेपाल बारेका यी प्रमुख ५ खबर


काठमाडौं । भिजिट भिसामा विदेशमा अलपत्र परेकाहरुको उद्धार, स्थानीय तहको चुनाव घोषणासँगै तातेको नेपाली राजनीति, क्यासिनो सञ्चालनको होड, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानसँगै नियमित उडानको तयारी र कोरोनाको संक्रमण घटेसँगै संग्रहालय सञ्चालनमा दिइएको छुटसहित नेपालका प्रमुख ५ खबर यस्ता छन् ।

भिजिट भिसामा यूएई पुगेर अलपत्र परेका १२ जनाको उद्धार
टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा यूएई र्पुयाइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिनुभएको थियो । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजङ्ग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाईं रहेका छन् । यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही सात लाख ५० हजारका दरले रकम लिएर यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङ पक्राउ परेका छन् । ‘मार्शल टोली’ले सञ्चालक पक्राउ पर्नुपूर्व ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालि पीडितको परिवारका सदस्यसहित पुगेका यूट्युवर र अभियन्ता कुटिएका थिए । केही समयअघि साउदी अरेवियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानासहित चार नेपालीलाई समेत सरकारी पहलमा उद्धार गरिएको छ ।

बैशाख ३० मा स्थानीय तहको निर्वाचन
सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तय गरेसँग राजनीतिक बृत्तमा चुनावी सरगर्मी सुरु भएको छ । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ४ गते सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना नगरेकाले वैशाख ३० गते शुक्रबारका दिन एकै पटक देशभर स्थानीय चुनाव हुनेगरि मिति तय गरिएको हो ।

नेपालमा ३० वटा क्यासिनोलाई सञ्चालन अनुमति
नेपालका विभिन्न ३० वटा होटलले क्यासिनो सञ्चालनको अनुमति पाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ६ वटा क्यासिनोलाई अनुमति दिएका हुन भने बाँकी क्यासिनोले यस अघिका मन्त्रीबाट अनुमति पाएका हुन । काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई वटासहित ११ वटा पाँचतारे होटलमा क्यासिनोले सञ्चालन अनुमति पाएका छन भने १९ वटा होटलमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएको पनि पर्यटन विभागको जानकारी दिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भर्न जहाज आउँदै
सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने भएको छ । योबीचमा प्राविधिकहरुले यो विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गर्ने बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै नेपाल ल्याउन आग्रह गरिए अनुसार मिति तय भएको बताउनुभयो । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे, नगरेको हेरिने छ । लगत्तै विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गरिने बताइएको छ । गौतमबुद्ध विमानस्थलमा उपकरण जडानसहति प्राविधिक कामको जिम्मेजारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको छ ।

खुले काठमाडौं उपत्यकाका संग्रहालय
सोमबारदेखि काठमाडौं उपत्यकाका संग्रहालयहरु खुला भएका गरिएका छन् । कोरोना महामारीका कारण ८ माघदेखि बन्द भएका उपत्यकाका संग्रहालय जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि खुला भएका हुन । राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले संग्रहालय खुला गरिएको जानकारी दिनुभयो । पहिलो दिन भएकोले सोमबार अवलोकनकर्ताको उपस्थिति न्यून देखिएको थियो । काठमाडौं उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको संग्रहालय सहित तीन र मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायतका संग्रहालयहरु सञ्चालनमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ