Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली अर्थतन्त्र : घट्दै रेमिट्यान्स, बढ्दै बैदेशिक लगानी !

नेपाली अर्थतन्त्र : घट्दै रेमिट्यान्स, बढ्दै बैदेशिक लगानी !


काठमाडौं । चालु अर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण (रेमिट्यान्स) साढे पाँच प्रतिशतले घटेको छ । साउनदेखि पुससम्म चार खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार यो गएको वर्षको ६ महिनाको भन्दा साढे पाँच प्रतिशतले कम हो ।

अघिल्लो वर्षको साउनदेखि पुससम्म रेमिट्यान्स ११ प्रतिशतले बढेको थियो । यस्तै ६ महिनामा अमेरिकी डलरमा प्राप्त हुने रेमिट्यान्समा पनि ६ दशमलव २ प्रतिशतले कमी आएर तीन अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जानकारि दिएको छ ।

बढ्दै नेपालबाट रोजगारीका लागि बाहिरिनेहरु
६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेर एक लाख ६७ हजार पाँच सय १३ जना पुगेको छ । अघिल्लो वर्ष यो ८९ प्रतिशतले कम थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६ महिनामा दुई सय ९८ प्रतिशतले बढेर एक लाख ३० हजार दुई सय १२ जना पुगेको छ ।

बढ्दै मुल्यबृद्धीको मार
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मूल्य वृद्धि ५ दशमलव ६५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ६ महिनामा ३ दशमलव ५६ प्रतिशत रहेको मुल्यबृद्धीमा यो वर्ष अधिक बृद्धि देखिएको छ । ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ४ दशमलव २ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६ दशमलव २३ प्रतिशत पाइएको छ । २०७७ पुसको तुलनामा २०७८ पुसमा घिउ तथा तेलमा २१ दशमलव २२ प्रतिशत, यातायातमा १४, मदिराजन्य पेय पदार्थमा ११ दशमलव ३७, सुर्तीजन्य वस्तुमा साढे १० र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि नौ दशमलव २२ प्रतिशत मुल्यबृद्धी रहेको छ ।

बढ्दै बैदेशिक लगानी
प्रत्यक्ष वैदेशिक लगानी भने बढेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ दशमलव १ प्रतिशतले वृद्धि भइ ११ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ६ महिनामा सात अर्ब ६६ करोड रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी आएको राष्ट्र बैंकले जानकारि दिएको छ ।
विदेशी विनिमयको सञ्चिति १७ प्रतिशतभन्दा धेरैले घटेर ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो । चालु खाता तीन खर्ब ५४ अर्ब सात करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ६ महिनामा चालु खाता ५१ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ