Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : एकै ठाउँमा पढ्नुहोस तपाईका लागि उपयोगि हुने प्रमुख ५ खबरहरु

नेपाल अपडेट : एकै ठाउँमा पढ्नुहोस तपाईका लागि उपयोगि हुने प्रमुख ५ खबरहरु


काठमाडौं । अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रणमा सरकारले थालेको पहल, नेपालमा बढ्न थालेको आगलागीको जोखिम, पर्यटनमन्त्री आलेको सरकारी सम्पत्ति दोहन रोक्ने प्रतिबद्धता सहित नेपालको मौसमी अवस्था बारेका प्रमुख ५ खबर यस्ता छन् ।

अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल
सरकारले अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुखले नेतृत्व गर्ने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जानकारि दिएको हो । सहसचिव भूपाल बरालको नेतृत्वको कार्यदलमा सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्रधिकरण र नेपाल प्रहरीका एक–एक जना उच्च अधिकारीहरु सदस्य छन् । राजस्व अनुसन्धानबाट कार्यदलमा उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, नेपाल दूरसञ्चार प्रधिकरणका इन्जिनियर एवम् निर्देशक विजयकुमार रोय सदस्य तोकिएका छन् । नेपाल राष्ट्र बैंकले कसलाई पठाउने भन्ने निधो गरिसकेको छैन । सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीबाट कार्यादलको सदस्य तोक्न बाँकी छन् । क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, हाइपर लगायतका डिजिटल नेटवर्किङ जस्ता अवैध कार्यबाट मुलुकको लगानीयोग्य पूँजी पालायन भइरहेको ठहर गर्दै मन्त्रालयले यसलाई रोक्न यस्तो कार्यादल बनाएको बताइएको छ । अर्थमन्त्री जर्नादन शर्माले डिजिटल प्रविधिको प्रयोगमार्फत राजस्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै यस्तो कारोबार नियन्त्रण गर्न विशेष कार्यादल गठन गर्ने घोषणा गर्नुभएको थियो ।

नेपालमा बढ्न थाल्यो आगोलागीको जोखिम
शनिबार बिहान मात्रै झापाको झापा मेचीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा ल्याइदैगर्दा क्षतीको विवरण आइसकेको छैन । २०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले जानकारि दिनुभयो । आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन् ।

यता शुक्रबार मात्रै दाङको तुलसीपुरमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पल गोदाममा आगलागी हुँदा दुई परिवारका ५ जनाको मृत्यु भयो । उद्धारका लागि पुगेका एकजना छिमेकिको अचेत अवस्थामा उपचार भैरहेको छ । आगलागीबाट झण्डै सात करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताउनुभएको छ । जुत्ता चप्पलको गोदाम र कस्मेटिक गोदाम आगो लागेको थियो । स्थानीय सरकारले पाँच जनाको किरिया खर्च बापत प्रतिव्यक्ति एक÷एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तर यी विपद्धका केही घटनाले सावधानी नपुग्दा आगलागीको जोखिम बढेको देखाएका छन् ।

अतिक्रमित सरकारी सम्पत्ति फिर्ता ल्याउन नसके पदमा बस्दीनः मन्त्री आले
सरकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका सरकारी सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने दाबी गर्नुभएको छ । दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले सरकारको दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको बताउनुभएको होे । विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने, अन्यथा मन्त्री पदमा नबस्ने बताउनुभयो । पदमा बसुन्जेल इमानदारपूर्वक देशका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीले अन्य व्यक्तिसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिनुभयो ।

क्यासिनोका समाचारप्रति पर्यटन विभागको ध्यानाकर्षण
क्यासिनोका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पर्यटन विभागको ध्यानाकर्षण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाण्डौमा रहेको याक एन्ड यती होटलको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा आएका समाचारप्रति विभागको ध्यानाकर्षण गर्दै प्रष्टिकरण दिएको हो । याक एन्ड यती होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच तारास्तरको स्तर वर्गीकरण प्रमाण रद्द गर्ने, होटेलको नाममा रहेको अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको सम्बन्धमा त्यस होटलका तर्फबाट विभिन्न सञ्चारमाध्यममा व्यक्त गरिएका भ्रामक समाचारप्रति विभागले खण्डन गरेको हो ।

नेपालको मौसममा सुधार देखिदै
नेपालको मौसममा पूर्ण रुपमा सुधार देखिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि लामो समयको मौसमी अवस्थाको एकिन गर्न बाँकी रहेपनि आगामी तीन दिनसम्मा वर्षा र हिमपातको सम्भावना नभएको जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार राति भने प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागका आंशिक बदली रहने आँकलन गरिएको छ । नेपालमा केही समय लम्बिएको जाडो सिजन सकिएर गर्मी सुरु हुने आँकलन गर्न थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ