Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : एउटै समाचारभित्र पढौँ नेपाल बारेका यी प्रमुख ५ खबरहरु

नेपाल अपडेट : एउटै समाचारभित्र पढौँ नेपाल बारेका यी प्रमुख ५ खबरहरु


काठमाडौं । नेपाल सरकारले राजश्व संकलनमा गरेको उपलब्धी, एमसीसीले उब्जाएको राजनीतिक किचलो, बालबालिकाका लागि कोरोनाविरुद्धको खापको जोहो, महामारि कम भएसँगै प्रतिबन्द्धमाथीको फुकुवा, जनयुद्ध दिवसको निरन्तरता लगायत नेपाल बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

६ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन
चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्य भन्दा बढी अर्थात १०३ प्रतिशत प्रगति हो । यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो । अन्तःशुल्कबाट मात्र ८५ अर्ब भन्दा माथि राजस्व उठेको छ । यस्तो राजस्व अन्तःशुल्कमा दर्ता भएका मदिरा, वियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थमा लाग्ने शुल्कबाट संकलन हुन्छ । साथै यस्तो वस्तुको पैठारीमा समेत अन्तःशुल्क लाग्ने गर्छ । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो ६ महिनामा आन्तरिक उत्पादनतर्फ ५० अर्ब ७२ करोड र पैठारीतर्फ ३४ अर्ब ५१ करोड गरी कुल ८५ अर्ब २३ करोड अन्तःशुल्क राजस्व उठेको हो । यो वर्ष आन्तरिक उत्पादनतर्फ उठेको अन्तःशुल्क गत आवको यसै अवधिको तुलनामा ३४.०४ प्रतिशत बढी रहेको छ । समग्र अन्तःशुल्कमा ४३ प्रतिशतको वृद्धि देखिएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालको कर संकलनमा अन्तःशुल्कको हिस्सा १७.०६ प्रतिशत रहने गरेको छ ।

एमसीसीको मुद्धाले नेपाली राजनीतिक तरंगित
एमसीसी विवाद पेचिलो बन्दा नेपालको राजनीति नै तरंगित बनेको छ । यो मुद्धाले सत्ता गठबन्धन नै धरमराएको छ । विहीवार एकैदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल शनिवार बालुवाटार पुगेर निराश मुद्रामा फर्किएका छन् । दुवै नेताले प्रधानमन्त्रीलाई एमसीसी पास गरेर चुनावमा जाँदा सत्ता गठबन्धन पराजित हुने र एमालेले चुनाव जित्ने भन्दै चुनावसम्म रोक्न आग्रह गरे पनि चुनावसम्म रोक्ने प्रस्ताव अमेरिकाले नमान्ने भन्दै देउवाले अस्वीकार गरेको पाइएको छ । दोस्रो विकल्पका रुपमा एमालेलाई पनि सहमतिमा ल्याएर सबै मिलेर पास गर्दा गठबन्धन पनि जोगिने र एमालेले एमसीसीविरोधी जनमतमा कब्जा जमाउन पनि नपाउने तर्क गरेपनि प्रधानमन्त्री देउवाबाट यसमा पनि सकारात्मक जवाफ पाएका छैन । उल्टै प्रधानमन्त्री देउवाले एमसीसीमा खटपट भए गठबन्धनको बिकल्प समेत आफूसँग रहेको जवाफ दिएका छन् । एमाले अध्यक्ष केपीशर्मा ओली जसरी भएपनि गठबन्धन फुटाएर चुनावी लाभ लिने पक्षमा अघि बढेको र एमसीसीकै कारण गठबन्धनमा खेल्न सकिने रणनीति एमालेले अघि सारेको आँकलन माओवादी केन्द्र र एकिकृत समाजवादीले गर्न थालेका छन् ।

४ देखी १२ वर्षसम्मका बालबालिकालाई खोप लगाउने चर्चा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने बताउनुभएको छ । मन्त्री पौडेलले कोभिडको तेस्रो लहरका कारण शिक्षा क्षेत्र प्रभावित भए पनि शैक्षिक सत्रमा प्रभाव नपर्ने गरी प्रबन्ध गरिएको र स्थानीय तहको चुनाव लगत्तै प्लस टुको परीक्षा गर्ने अनि सबै विद्यार्थीहरुलाई खोपको व्यवस्था गरिने बताउनुभयो । मन्त्री पौडेलले शैक्षिकसत्रमा क्षति नहुने गरी एसइईको परीक्षा तालिका सार्वजनिक गरिएको भन्दै छिट्टै ४ देखी १२ वर्षसम्मका बालबालिकाहरुलाई समेत कोरोनाविरुद्धको खोपको प्रबन्ध गरिने बताउनुभयो ।

आजबाट कोरोनाविरुद्धको प्रतिबन्ध थप खुकुलो
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दै छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको हो । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जान पाउने र १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनुपर्ने निर्णय सरकारले गरेको छ । १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइएकाले भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्षदेखि मुनिका बालबालिकालाई खोप दिन बाँकी रहेकाले उनीहरुलाई आलोपालो गरेर पठनपाठन गराउने निर्णय गरिएको छ । यस्तै आजदेखी नै मनोरञ्जनात्मक व्यवसायका रुपमा हेरिएका रात्रीकालिन, गजल, डान्सबार, दोहोरी साँझ, डिस्कोहरु समेत सञ्चालनमा आउनेछन् । यस्ता व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गराउनुपर्ने सर्त राखिएका छन् । कोरोना भाइरसको जोखिम केही कम भएसँगै बन्द भएका विद्यालय र व्यापार व्यवसाय खुल्न लागेका हुन् । बन्द भएका सिनेमा हल पनि आजैदेखि खुल्ला हुने छन् ।

मधेशमा जनयुद्ध दिवसको विशेष कार्यक्रम
मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो । मधेश सरकारमा गत साउनदेखि नेकपा (माओवादी केन्द्र) पनि सहभागी छ । यो पार्टीले आन्तरिम मामिला तथा संचार मन्त्री र राज्य मन्त्री पाएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा मधेश प्रदेश सरकारले यो दिवस मनाउन लागेको बताइएको छ । माओवादी केन्द्रले हरेक वर्ष विभिन्न कार्यक्रमसहित जनयुद्ध दिवस मनाउने गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले भिडियो सन्देष जारी गर्दै सबै माओवादी घटकहरुलाई एक ठाउँमा एकिकृत भएर जनयुद्धको उद्देश्य पुरा गराउन आह्वान गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ