Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : एउटै हेडलाईमा पढौँ नेपाल बारेका यी प्रमुख ५ खबरहरु

नेपाल अपडेट : एउटै हेडलाईमा पढौँ नेपाल बारेका यी प्रमुख ५ खबरहरु


काठमाडौं । हिउँ खेल्दा बेपत्ताहरुका २ युवा मृत भेटिएको घटना, काठमाडौं भित्रिएको बर्डफ्ूको प्रकोप, नेपालमा रहेको विद्युत पँहुचसँगै विजुली खरिदमा भारतले गरेको वेवास्ता र सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक बारेका प्रमुख ५ खबर यस्ता छन् ।

हिउँ खेल्न जाँदा वेपत्ता भएका २ किशोर मृत फेला
हिउँ खेल्ने क्रममा वेपत्ता भएका बारपाकका दुई किशोर मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको हो । हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका–१ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट–२ का करण घले लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरू सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौंमा पनि बर्डफ्लूको संक्रमण
भारत लगायतका विभिन्न देश र नेपालको तराई क्षेत्रमा देखिएको बर्डफ्लूको संक्रमण काठमाडौंमा पनि देखा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले संक्रमण देखिएको क्षेत्रको पन्छी नष्ट गरिनुका साथै निसंक्रमण समेत सकिएको बताउनुभयो । थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौंमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको बताइएको छ । चितवनको राप्ती नगरपालिका–६ मा पालिएको कुखुरामा पनि बिहीबार बर्डफ्लूको संक्रमण पुष्टि भएको थियो । केन्द्रीय पशुपन्छी रोगअन्वेषण प्रयोगशालामा गरिएको रियालटाइम पीसीआर परीक्षणमा संक्रमण देखिएसँगै नस्ट गरिएको थियो ।

नेपालको बुजुली किन्न भारतको आनाकानी
थप ८१४ मेगवाट क्षमताको आयोजनाको बिजुली बेच्न नेपालले गरेको प्रस्ताव बारे भारत सरकारले निर्णय लिन आनाकानि गरेको छ । नेपालका ठूला जलविद्युत् आयोजनाहरुको बिजुली भारतीय प्रतिस्पर्धी बजार (एक्सचेन्ज मार्केट)मा बेच्ने अनुमति दिन भारत सरकारले अनिक्षा देखाएको हो । नेपालले निश्चित परिमाणमा लगातार बिजुली बेच्ने नभई खेर जाने समयमा मात्रै विभिन्न आयोजनाको बिजुली प्रतिस्पर्धी बजारमा बेच्न दिन प्रस्ताव गरेको थियो । त्यसअनुसार १५ कात्तिक २०७८ मा नै भारतले आफ्ना अनुदान सहयोगमा बनेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट आयोजनाको बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न अनुमति दिएको थियो । अहिले भने अनुमतिको प्रक्रियाबारे सरकारले कुनै निर्णय गरेको छैन ।

नेपालमा विद्युत उपयोग गर्ने ग्राहक ५२ लाख ५० हजार
देशभर बिजुली उपभोग गर्ने ग्राहकको संख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । यी मध्येपनि नेपाल विद्युत प्राधिकरणका मात्रै कूल ग्राहक ४७ लाख बराबर पुगेका छन् । यस्तै, सामुदायिकतर्फका ग्राहकको संख्या पाँच लाख ५० हजार रहेको पाइएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नै प्राधिकरणको ग्राहक संख्यामा एक लाख १२ हजार थप भएका छन् । गत असार मसान्तमा कूल ग्राहक संख्या ५१ लाखको हाराहारीमा थियो । देशभर पछिल्लो विवरणअनुसार झन्डै ९२ प्रतिशत घरपरिवारमा बिजुलीको सेवा पुगेको छ । कर्णाली प्रदेशका डोल्पा, हुम्ला र मुगुमा हालसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छैन । विजुलीको पँहुच नपुगेका जिल्लामा दुई वर्षमा बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको बताइएको छ । प्राधिकरणले कर्णाली प्रदेशमा गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनका लागि थप २५ अर्ब खर्च गर्ने योजना अगाडि बढाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारि दिनुभयो । गत पुस मसान्तसम्म प्रतिव्यक्ति विद्युत् खपत ३२५ किलोवाट पुगेको छ । पछिल्लो छ महिनामा देशभर थप ३०० मेगावाट थप बिजुली खपत भएको छ । प्राधिकरणको केन्द्रीय प्रणालीमा हाल दुई हजार १३२ मेगावाट बराबरको बिजुली उपलब्ध छ । विगत चार वर्षदेखि सर्वोच्च अदालतलगायत विभिन्न अदालतमा परेका मुद्दाका कारण रणनीतिक महत्वका योजना तथा प्रसारण लाइनको काम भने अबरुद्ध हुँदैआएको छ ।

सभामुखको आह्वानमा सर्वदलीय बैठक
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले दिउँसो २ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । महाअभियोग प्रस्ताव दर्ता भएको मितिले सात दिनपछिको कुनै बैठकमा छलफल हुने गरी सभामुखले दिन र समय तोक्ने संविधानमा व्यवस्था छ । तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछ । प्रस्ताव पेस भएपछि सभामुखले प्रस्तावमा छलफल हुने समयावधि निर्धारण गर्ने र छलफल समाप्त भएपछि सभामुखले त्यस्तो प्रस्तावलाई नियम बमोजिमको महाभियोग सिफारिस समितिमा पठाउने व्यवस्था छ । प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्या एक चौथाइ सदस्यले समर्थन गरेमा महाभियोगको कारबाहीको प्रकृया सुुरु हुन्छ । प्रस्ताव अघि बेपनि पास हुने संख्या सत्ता गठबन्धनसँग छैन । प्रमुख प्रतिपक्ष एमालेले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । २ सय ७५ सदस्यीय सङ्घीय प्रतिनिधि सभामा सभामुखसहित २ सय ७१ जना कायम छन् । तीमध्ये सबैभन्दा धेरै एमालेका ९८ सांसद र कांग्रेसका ६३ सांसद छन् । माओवादी केन्द्रका सभामुखसहित ४९, नेकपा एकीकृत समाजवादीका २३, जनता समाजवादीका २१, लोकतान्त्रिक समाजवादीका १३, राप्रपा, नेमकिपा, राजमो र स्वतन्त्रतर्फ एक÷एक सांसद रहेका छन् । सभामुख र निलम्बनमा रहेका ४ जना सांसदले मतदानमा भाग लिन पाउँदैनन् । महाभियोगलाई पारित गर्नका लागि सांसद सङ्ख्याको दुई तिहाइ अर्थात १ सय ८१ सांसदको मत आवश्यक पर्छ । एमालेको सहयोग विना महाअभियोग पारित गर्न सम्भव देखिदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ