Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : एउटै हेडलाईमा पढौँ नेपाल बारेका प्रमुख ५ खबरहरु

नेपाल अपडेट : एउटै हेडलाईमा पढौँ नेपाल बारेका प्रमुख ५ खबरहरु


काठमाडौं। एमसीसीका कारण सुरु भएको नेपालको राजनीतिक लफडा र बिरोध प्रदर्शन, स्थनीय तह निर्वाचनको माहौँल, सडक र विद्युत विकासमा योजना आयोगले बाँडेको आश्वासन, नयाँ शैक्षिक सत्र बारेको जानकारि र बाघको आक्रमणबाट गैडा मारिएको बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

एमसीसीले राजनीतिक लफडा, सडकमा बिरोध
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनको निर्णायक वार्ता हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद तिब्र बनेसँगै निर्णायक वार्ता हुन लागेको हो । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा र माओवादी केन्द्र, एकीकृत समाजवादी अनि जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्षी दल एमाले भने पर्ख र हेरको अवस्थामा छ । माओवादी केन्द्रले प्रधानमन्त्री देउवा एक्लै अघि बढे सरकारबाट बाहिरिने चेतावनी नै दिइसकेको छ । बुधबार दिनभर एमसीसीको बिरोध प्रदर्शनसँगै बानेश्वर क्षेत्रमा तनाब भएको थियो ।

स्थानीय तह निर्वाचन, आजबाट दल दर्ता
निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आजदेखि १५ गतेसम्म दल दर्ता गर्न समय दिएको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । यी दलले चुनावका लागि छुट्टै दर्ता गर्नुपर्ने छ । दर्ताका क्रममा दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति पनि खुलाउनुपर्नेछ । यसभन्दा अघिको स्थानीय तहको चुनावमा प्राप्त गरेको निर्वाचन चिह्नको साटो अर्को चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा चुनाव चिह्न प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ ।

५ वर्षमा सडकदेखी बिजुलीसम्ममा उल्लेख्य सुधारको आश्वासन
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले आउँदो ५ वर्षमा सडकदेखि बिजुलीसम्म पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार हुने बताउनुभएको छ । काठमाण्डौ–निजगढ फास्ट ट्र्याकमा २०८१ साल पुषसम्ममा टनेल बनिसक्ने र यसका लागि सरकारले आर्थिक समस्या नहुने विश्वास दिलाएकाले केही वर्षमै सम्पन्न हुने उहाँले बताउनुभयो । विकास निर्माणमा पाँच वर्षपछिको नेपालबारे उपाध्यक्ष पौडेलले सडक विभागले नारायणगढ–पथलैया सडक विस्तारको तयारी गरेको, इनरुवादेखि काँकडभिट्टा खण्डको सडक चौडा गर्न लागिएको र त्यसमा एक सय किलोमिटर प्रतिघण्टाका दरले मोटर गुडाउन मिल्ने गरी बनाउन प्राविधिकलाई सल्लाह दिएको उल्लेख गर्दै सडक र विद्युत विकासमा उल्लेख्य प्रगती हुने बताउनुभएको छ ।

जेठ १ बाट नयाँ क्षेक्षिक सत्र सुरु गरिने
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाख महिनामा नै शुरू गरी २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन सुरु गर्ने निर्णय गरिएको हो । विद्यालयले २०७९ चैत्र मसान्तभित्र राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्दिष्ट गरे बमोजिम पाठ्य घण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका कार्यहरू सकिने गरी स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्नुपर्ने मन्त्रालयले बताएको छ । विद्यालयहरूले पठन पाठन गर्दा कोभिड–१९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको माघ २३ गतेको सिफारिस अनुसार नै हुने गरी नियमित रूपमा सञ्चालन गर्नुपर्ने मन्त्रालयले जानकारि दिएको छ ।

बाघको आक्रमणबाट दुई गैँडा मारिएपछि…
चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मारिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा मृतावस्थामा फेला परेको जानकारि दिनुभएको हो । बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको छ । मृत भेटिएका गैँडाका खाग र खुर सुरक्षित राखिएका छन् । चालू आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ