Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ नेपाल बारे महत्वपूर्ण जानकारि दिने प्रमुख ५ खबरहरु

नेपाल अपडेट : पढौँ नेपाल बारे महत्वपूर्ण जानकारि दिने प्रमुख ५ खबरहरु


काठमाडौं । नेपालमा जारी एमसीसीको किचलोसँगै शक्तिराष्ट्र चीन र अमेरिकाबीच बढ्न थालेको टकराब, विश्व बैंकले कोरोना नियन्त्रणका लागि नेपाललाई दिन लागेको २ अर्ब बढी ऋण,अन्तर्राष्ट्रिय उडानमा पिसिआर हटाउन भन्दै दिइएको दबाब, काठमाडौंमा सुरु भएको फोहोरको आतंक, प्रजातन्त्र दिवसका अवशरमा दिइएको सन्देष बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

नेपालमा रहेको एमसीसीको किचलोलाई लिएर चीन अमेरिका टकराब
नेपालमा संसदीय अनुमोदनको रस्साकस्सी चलिरहेको एमसीसी परियोजनाको विषयलाई शक्ति राष्ट्रहरु अमेरिका र चीनले अस्वाभाविक सक्रियता बढाउन थालेका छन् । एमसीसीबारे दलहरु विभाजित भइरहेको बेला चीन र अमेरिकाबीच टकराव बढ्दा यो विषय थप जटिल बनेको छ । अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्कीको कुटनीति सुरू गरेको भन्दै चीनले यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ । चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी जे बेरीले ट्वीट गर्दै एमसीसीको विषयलाई लिएर नेपालमा भइरहेको विवाद र प्रदर्शनप्रति आपत्ति जनाउनुभएपछि आएको यो प्रतिक्रियालाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनले स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिएको छ । एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्नेबारे नेपालका दलहरुले समयमै निर्णय गर्न नसक्दा बेइजिङ र वासिङ्टनले काठमाडौंमाथि अनावश्यक दबाब सिर्जना गर्न खोजेको प्रष्ट देखिएको छ । यसलाई कुटनीतिज्ञसँगै आमनागरिकले अस्वाभाविक भन्दै नेपालका दलहरुलाई उच्च कुटनीतिक चातुर्यता देखाउन सुझाव दिएका छन् । नेताहरु जिम्मेवार नहुँदा नेपालमा देखिने गरी वैदेशिक हस्तक्षेप बढ्न थालेको र भू–राजनीतिक भुमरीमा नेपाल परेको भन्दै चिन्ता व्यक्त समेत गर्न थालिएको छ ।

विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण सहायता लिदै नेपाल सरकार
सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकमार्फत कोरोनाभाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ऋण सहायता स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यो सहायतालाई संक्रमण नियन्त्रण र जोखि न्युनिकरणको पूर्वतयारीमा सदुपयोग गर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण हटाउन दबाब
वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तर्राष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन दबाब दिन थालेको छ । कोभिड महामारीको सङ्क्रमण दर घटेको र जोखिम कम रहेको भन्दै सङ्घले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो । विश्वभरि नै कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको दाबी गर्दै सङ्घले झण्डै दुई वर्षमा विदेशी पर्यटकको आगमनमा निकै ह्रास आएको विषयलाई समेत स्मरण गराएको छ । नेपालको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

कुहिने फोहोरको आफै व्यवस्थापन गर्न महानगरको आह्वान
एक सातादेखि फोहोर उठ्न छाडेर चोकगल्ली दुर्गन्धित बन्न थालेपछि काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कुहिने फोहोरको आफै व्यवस्थापन गर्न आह्वान गरेको छ । नुवाकोट काठमाडौं सडक समयमा नबनेको भन्दै सिस्डोल जाने सडक क्षेत्र स्थानीयले बन्द गरेपछि फागुन १ बाट काठमाडौं उपत्यकाको फोहार उठन छाडेको छ । महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकाबासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नहुन अनुरोध गरिन्छ ।’ नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन समेत आग्रह गरिएको छ । उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा बारम्बार समस्या आइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्व राजाले के भने ?
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले शुभकामना सन्देश दिनुभएको छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने वास्तविकतालाई स्मरण गराउनुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलताका आधारमा मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख सबै मिलेर थप सबल र सुदृढ तुल्याउन भुमिका खेल्नुपर्ने बताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अझ सवल रुपमा लागिपर्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै,पूर्वराजा ज्ञानेन्द्र शाहले ७२ औँ प्रजातन्त्र दिवसको शुभकामना सन्देश दिँदै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको अनि जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको बताउनुभएको छ । राष्ट्रियता बिनाको प्रजातन्त्र कसैको सुरक्षा कवच र न्यायको छाता बन्न नसक्ने शन्देष समेत पूर्वराजा शाहले दिनुभएको छ । आज राजा त्रिभुवनको स्मृतिमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ