Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : छुट्लान है, पढ्नैपर्ने यी प्रमुख ५ खबरहरु

नेपाल अपडेट : छुट्लान है, पढ्नैपर्ने यी प्रमुख ५ खबरहरु


काठमाडौं । प्रजातन्त्र दिवसको उत्सव, एमसीसीमा देखिएको निरन्तरको राजनीतिक गतिरोध, सुर्खेतस्थित प्रदेश अस्पतालमा बढ्न थालेको बिरामीको चाप, पाथिभरामा केवलकार निर्माणको तयारीसँगै पेट्रोलियम पदार्थमा भैरहेको निरन्तरको मूल्यबृद्धि बारे नेपालका प्रमुख ५ खबरहरु यस्ता छन् ।

भब्यताका साथ मनाइयो प्रजातन्त्र दिवस
१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको अवसरमा हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस शनिबार नेपालमा भब्य कार्यक्रमसहित मनाइएको छ । बि.स. २००७ साल फागुन ७ गतेका दिन राणा शासनको अन्त्य भएको स्मरणमा यो दिवसले निरन्तरता पाउँदै आएको हो । शनिबार टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता रह्यो । कार्यक्रममा नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अंकित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएका थिए । नेपाली सेनाका विभिन्न टुकडीले कला कौशल प्रदर्शन गरेका थिए ।

एमसीसी संसदमा टेवल हुने सम्भावना, पास नहुने
सत्ता गठबन्धनमा रहेका दलहरू लचिलो भएसँगै आजको संसद् बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेको छ । अनौपचारिक सहमति भइसके पनि सत्तागठबन्धन दलको औपचारिक निर्णय १० बजे बस्ने बैठकबाट सार्वजनिक हुनेछ । अमेरिकाले एमसीसी पास गर्न आउँदो १६ गतेसम्मको समयसीमा दिएको छ । एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेपछि विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लचिलो बनेको आँकलन गर्न थालिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदमा एमसीसी पेस गर्न सकारात्मक देखिनु भएको छ भने सत्तागठबन्धन बचाउनै पर्ने बाध्यतामा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक बन्न थालेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष पनि एमसीसी अगाडि बढाउन तयार देखिएको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने अडान भने यथावत् नै रहेकाले संसद् बैठकमा एमसीसी पेस भए पनि अनुमोदन हुनेमा भने अन्योल छ ।

सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप
सुर्खेतस्थित प्रदेश अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसँगै बिरामीको चाप बढेको छ । एक वर्षमा ६१ हजार बढी बिरामीहरुले आकस्मिक र ओपिडि सेवा लिएको अस्पतालले जानकारि दिएको हो । यो अस्पतालमा स्वेदका ५० भन्दा बढी जिल्ला र भारतबाट समेत उपचारका लागि विरामी आउने गरेको पाइएको छ । १६ बर्ष अघि ५० शैयाबाट सुरुवात भई हाल २ सय ५० शैयामा अस्पताल सञ्चालन भैरहेको छ । अस्पतालमा हाल ५१ जना विशेषज्ञ डाक्टर, अन्य डाक्टरहरुसहित ४ सय बढी स्वास्थ्यकर्मी र कर्मचारीहरु कार्यरक्त रहेका छन् । अस्पतालको भौतिक संरचनादेखि सेवा प्रवाहसम्म वृद्धि भएसँगै काठमाडौं र भारत जाने विरामीहरुले स्थानीय रुपमै सहज सेवा पाएका छन् ।

पाथीभरा मन्दिर दर्शनका लागि अब केबुलकार निर्माण गरिने
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण गरिने भएको छ । पर्यटन विकास तथा प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी आगामी वैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्ने गरी तयारीलाई अघि बढाइएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभएको छ । पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि धाम जोड्ने केबुलकारको दूरी २ दशमलब ६ किलोमिटर हुने प्रालिले जनाएको छ । तीन अर्ब रुपैयाँको लागतमा निर्माण हुने केबलकार २२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको छ । केबुलकारको निर्माण संरचना, कार्यान्वयनको प्रकृति, परियोजनाले हुने सामाजिक र आर्थिकसहित समष्टिगत उपलब्धिबारे जानकारी गराउँदै परियोजनाले पर्यटन विकाससँगै ताप्लेजुङवासीलाई धेरै फाइदा पुग्ने प्रालिका परामर्शदाता बच्चुनारायण श्रेष्ठले जानकारि दिनुभएको छ ।

फेरि बढ्यो नेपालमा पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आजबाट पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरिएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ पुगेको छ । ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले जानकारि दिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप र पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ ६१ पैसा, डिजेल पाँच रुपैयाँ ६२ पैसा र हवाई इन्धन चार रुपैयाँ ९५ पैसा बढेर आएकाले नेपालमा पनि भाउ बढाएको निगमले जानकारि दिएको छ । बढेको मूल्यमा बिक्री गर्दा पनि अबको १५ दिनमा निगमलाई दुई अर्ब १५ करोड रुपैयाँ घाटा हुने बताइएको छ । गएको माघ मसान्तसम्म २४ अर्ब रुपैयाँ घाटा बेहोरिसकेको भन्दै निगमले पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न कठिनाइ भएको दाबी गर्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ