Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : तपाईले पढ्न छुटाउनुभयो कि यी प्रमुख खबरहरु

नेपाल अपडेट : तपाईले पढ्न छुटाउनुभयो कि यी प्रमुख खबरहरु


काठमाडौं । एमसीसीले उब्जाएको राजनीतिक किचलोसँगै पास गराउन प्रधानमन्त्री देउवाको दौडधुप, सडकमा चल्दैआएको आन्दोलन, काठमाडौंमा बढेको पर्यटकिय चहल पहल, स्थानीय तह निर्वाचनको दल दर्तासँगै पछिल्लो मौसमी अवस्था बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

एमसीसी पास गराउने कसरतमा प्रधानमन्त्री देउवा
आइतबारको प्रतिनिधि सभामा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनका लागि बहुमत जुटाउने गृहकार्यमा जुट्नुभएको छ । सत्ता साझेदार दलसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफललाई प्रधानमन्त्री देउवाले निरन्तरता दिनुभएको हो । कांग्रेसले तत्काल एमसीसी अनुमोदन गर्न खोजे पनि माओवादी र एकीकृत समाजवादी संशोधनसहित अनुमोदन गर्नुपर्ने अडानमा छन् । गठबन्धन भत्किने डरले मात्रै संसदमा एमसीसी टेबल गर्न सहमति जनाएका माओवादी केन्द्र र एकीकृत समाजवादी अझपनि संशोधनपछि मात्रै पारित गराउनुपर्ने भन्दै सडक आन्दोलनको मोर्चामा समेत छ । सभामुखले १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै निरन्तर संसद् बैठक अवरुद्ध पार्दै आएको एमालेले एमसीसी बारे निर्णय नलिएपनि विपक्षमा मतदान नगर्ने प्रधानमन्त्री देउवाको विश्वास रहेको छ । एमसीसी टेबल भइसकेपछि सभामुख सापकोटाले छलफलको दिन तोक्नुपर्नेमा अर्को बैठक नै १२ गते बोलाउनुभएको छ । सरकारले एमसीसीलाई दीर्घकालीन असर नपार्ने किसिमको सम्झौताका रूपमा अथ्र्याएर संविधानअनुसार प्रतिनिधि सभाको सामान्य बहुमतले पास गर्ने तयारी गरेको छ । बहुमतका लागि सत्ता घटक दलका सांसद वा कांग्रेस र एमाले एकठाउँमा उभिनुपर्ने हुन्छ । यो सम्भावना अहिलेसम्म देखिएको छैन ।

हिजो तनावग्रस्त बनेको बानेश्वर क्षेत्र आज शान्त
एमसीसीको बिरोध गर्दै भएको प्रदर्शनका कारण आइतबार दिनभरजसो तनावग्रस्त बनेको नयाँ बानेश्वर क्षेत्र आज शान्त बनेको छ । सडक र गाडीमा असर पर्ने खालका कुनै गतिविधिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको हो । आज संसद् बैठक नभएकाले समेत बिरोधमा उत्रिएका दलहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेका छैनन् । आइतबारको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा नयाँ बानेश्वर क्षेत्रको सडक सडक अशान्त बनेको थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरु नै एमसीसी पेस गरेको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारी उग्र बन्दा र प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।

काठमाडौंमा बढ्दैछ पर्यटकिय चहलपहल
फागुन १ बाट काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । रात्रिकालिन व्यवसाय खुलेसँगै सुनसान रहेको ठमेल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । एक हजारभन्दा बढी होटल रहेको ठमेल क्षेत्रमा पर्यटकीय गतिविधि विस्तारै बढ्न थालेको छन् । कोरोनाकै बीचमा सञ्चालनमा आएको चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल बताउनुहुन्छ । बौद्धनाथ क्षेत्र विकास समितिका सचिव बसन्त लामा बौद्ध क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन् । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) का पूर्व उपाध्यक्ष निलहरि बाँस्तोला भने कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनर्जिवन दिनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुहुन्छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा मात्र हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट तीन हजार ९१६, बङ्गलादेशबाट एक हजार २३१, युरोपबाट तीन हजार ५२७, एसिया तथा अन्य मुलुकबाट एक हजार ११४, अमेरिका र क्यानाडाबाट तीन हजार ६१८, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट एक हजार २४० तथा अन्य मुलुकबाट एक हजार ९७५ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनन्जय रेग्मीले समेत पछिल्लो समय नेपालमा विदेशी पर्यटक आउने क्रम बढेको बताउँनुभयो । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१, सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा एक लाख ५० हजार ९६२ विदेशी पर्यटकले नेपाल भ्रमणमा आएका थिए ।

स्थानीय तह निर्वाचनका लागि १० वटा दल दर्ता
स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेसँगै आइतबारसम्म १० वटा दल मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् । आयोगमा १०९ वटा दलको दर्ता अद्यावदी रहेकाले निर्वाचन प्रयोजनका लागि दर्ताका लागि आउने क्रम जारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभएको छ । निर्वाचन प्रयोजनका लागि जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, मौलिक ज्वरो किलो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् । ठूला दलहरु अझै दर्ता प्रक्रियामा जान बाँकी रहेको बताइएको छ ।

आज बेलुका पनि मेघगर्जनसहित पानी पर्ने आँकलन
आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ । मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय प्रणालीकै असरका कारण आइतबार जस्तै आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जानकारि दिनुभएको हो । यो प्रणालीको प्रभाव मंगलबारबाट भने हट्ने आँकलन गरिएको छ । तर, फेरि पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना रहेकाले बुधवार र बिहीवार धेरै ठाउँमा पानी पर्ने जनाइएको छ । उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने मौसमविदहरुले बताएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ