Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेटः पढ्न छुटाउनुभयो कि नेपाल बारेका पछिल्ला यी ५ खबरहरु

नेपाल अपडेटः पढ्न छुटाउनुभयो कि नेपाल बारेका पछिल्ला यी ५ खबरहरु


काठमाडौं । नेपाल–भारत उर्जा वर्ता, विदेशमा रहेका नेपालीलाई आइपीओमा दिन लागिएको कोटा, क्रिकेटमा नेपालको खराब प्रदर्शन, अदालतले विज्ञ नियुक्तिमा लगाएको अशंकुश र स्काउट मुख्यालयमा भएको तोडफोड बारेका प्रमुख ५ खबर यस्ता छन् ।

आजबाट नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक
नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी)को नवौं बैठक आज काठमाडौंमा बस्दैछ । निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्र्दैछन् । समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन । आजको बैठकले एजेण्डा तय गरेपछि दोस्रो दिन सचिवस्तरीय बैठकमा पेस हुने बताइएको छ ।

अब वैदेशिक रोजगारीमा गएकाहरुले पनि आईपीओमा कोटा पाउने
वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर (आईपीओ) मा कोटा छुट्याइने तयारीमा सरकार जुटेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतका उच्च सरकारी अधिकृतबीच सोमबार भएको छलफलले कार्यविधि बनाएर आइपीओ कोटा छुट्याउने निर्णय गरेको हो । वैधानिक च्यानलबाट आउने रेमिट्यान्सलाई प्रोत्साहन गर्न ५ प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य गर्ने सहमति भएपनि यस मन्त्रालय, आयोग र राष्ट्र बैंक तीनै कार्यालय बसेर कार्यविधि बनाउन भने बाँकी छ । विदेशी मुद्रामा खाता खोल्ने गैर आवासीय नेपालीहरु र वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने विदेशमा रहेका नेपालीहरुले यो सुविधा पाउनेछन् । आईपीओमा कोटा छुट्याएपछि हुण्डि र भर्चुअल मुद्रामा हुने लगानी निरुत्साहित हुने अपेक्षा गरिएको छ ।

अब योग्यता र अनुभव भएकाहरुलाई मात्रै विज्ञ नियुक्ति : सर्वोच्च
सर्वोच्च अदालतले कुनै पनि विधाको विशेषज्ञ वा विज्ञ नियुक्त गर्दा कम्तिमा स्नातक उत्तिर्ण भएको र १० वर्ष सम्बन्धित विषयमा अनुभव भएको व्यक्ति चयन गर्न सरकारका नाममा आदेश जारी गरेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको सदस्य नियुक्तिसम्बन्धी विवादमा सर्वोच्चले न्यूनतम स्नातक र १० वर्षे अनुभव भएको व्यक्तिमध्ये योग्यतम् व्यक्तिलाई खुला र प्रतिस्पर्धी आधारमा मात्रै नियुक्त गर्न भन्दै नयाँ नजिर स्थापित गरिदिएको हो । तत्कालिन उद्योगमन्त्री लेखराज भट्टले ११ माघ २०७७ मा बाजुरा बुडिनन्दा नगरपालिका–५ का सहदेव बोगटीलाई निगमको सञ्चालक समिति सदस्य नियुक्त गरेपछि बिवाद चुलिएको थियो । सदस्यमा नियुक्त भएका बोगटी एसएलसी उत्तिर्ण थिए भने ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमा सदस्य भई काम गरेका थिए । उनी खप्तड क्षेत्र पर्यटन विकास समितिको ४ वर्ष अध्यक्ष बनेका थिए । तर शैक्षिक योग्यताका साथै सम्बन्धित क्षेत्रको ज्ञान र अनुभव नभएको व्यक्तिलाई विज्ञ सदस्य नियुक्त गरिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले गरेको फैसलामासहदेव वोगटीलाई नेपाल आयल निगमको सञ्चालक समितिको विज्ञ सदस्य पदमा गरिएको मनोनयन अनुचित, अतार्किक, सुशासनको मर्म विपरित र स्वेच्छाचारीपूर्ण देखिँदा निजलाई मनोनयन गर्ने सम्बन्धमा भएका निर्णय, काम कारवाही पत्राचार समेत उत्प्रेषणको आदेशले बदर गर्न भनिएको छ ।

विश्व कप सपना तुहिएको नेपाल आईसीसी टि–२० विश्व वरीयतामा समेत घटुवा
आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्व वरीयतामा दुई स्थान तल झरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा थियो । यसअघि नेपाल १३ औँ स्थानमा थियो । नेपाल दुई हप्तामै तीन स्थान तल झरेको छ । यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान तल झरेको थियो । ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले हारेसँगै नेपाल आउँदो अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा पुग्न समेत असफल भएको छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो ।

पूर्वमन्त्रीको संलग्नतामा स्काउटको मुख्यालय तोडफोड
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काको नेतृत्व र निर्देशनमा नेपाल स्काउटको लैनचौरस्थित प्रधान कार्यालयमा तोडफोड र लुटपाट गरिएको छ । नेपाल स्काउटको जग्गा भाडामा लिएर बसेको खड्का ल्याण्ड डेपलभमेट प्रालि सञ्चालकको समूहले स्काउटको कार्यालयमा लगातार दुई दिन आक्रमण गरेर केही सामान लुटपाट गरेको स्काउटका संयोजक लोकबहादुर भण्डारीले बताउनुभएको हो । खड्काल्याण्ड प्रालि संखुवासभाका पूर्व सांसद तथा कांग्रेस नेता दिपक खड्काको कम्पनी हो । उक्त कम्पनीले स्काउटको जग्गा जबर्जस्ति कब्जा गरेर अवैध संरचना निर्माण गर्न थालेपछि त्यसलाई रोक्न खोज्दा कर्मचारीमाथि आक्रमण भएको स्काउटले पत्रकार सम्मेलन गरेर जाकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ