Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : नेपालको पछिल्लो अपडेटका लागि पढौँ यी प्रमुख ५ खबर

नेपाल अपडेट : नेपालको पछिल्लो अपडेटका लागि पढौँ यी प्रमुख ५ खबर


काठमाडौं । एमसीसी पास गराउन प्रधानमन्त्री देउवाको दौडधुपसँगै बढ्दै गरेको राजनीतिक किचलो, घाइते आन्दोलनकारी बचाउन प्रहरीले गरेको रगत दान, स्थानीय तह निर्वाचनका लागि भैरहेको दल दर्ता, ईसेवाले थालेको ई टिकेटिङ सेवासँगै क्याप्टेन विजय लामा ब्राण्ड एम्बेसडर बनेको खबर र खोपको पँहुच विस्तारका लागि नेपाल सरकारले विश्व बैंकसँग लिन लागेको थप सहुलियपूर्ण ऋण बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

एमसीसीको किचलो, पास गराउन दौडधुपमा प्रधानमन्त्री देउवा
नेपालमा यतिबेला अमेरिकी सहायता परियोजना बिवाद र वहसको केन्द्रमा छ । एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउने प्रयास गरिरहनुभएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फागुन १६ गते पास गर्ने तयारीमा जुट्नुभएका प्रधानमन्त्री देउवाले एमालेलाई साथमै उभ्याउने प्रयास जारी राखेपनि सहमति जुट्न सकेको छैन । सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको हात अगाडि बढाउनुभएको हो । पुस २४ गतेदेखि एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री देउवाले संवाद सुरु गरेपनि सार्थकता नपाउँनु र सत्तारुढ दलमा सहमति जुट्न नसक्दा एमसीसी के हुने अन्यौल छ । यता प्रधानमन्त्री देउवाले ओली देखाएर एमसीसीको विपक्षमा रहेका गठबन्धन दललाई गलाउने रणनीति अख्तियारी गरेको कतिपयको आशंका छ । तर अहिलेसम्म पनि पार्टीबाट एमसीसी पास गराउने निर्णय गराएका कांग्रेस सभापति समेत रहेका देउवालेसत्ता गठबन्धन र एमालेको साथ जुटाउन भने सक्नुभएको छैन ।

प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर बचाए
अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएपछि प्रहरीले नै उद्धार गरेर अस्पताल पुर्याएको थियो । नयाँबानेश्वरको एभरेस्ट अस्पतालमा लगिएपनि टाउकोमा गहिरो चोट लागेर बेहोस भएकाले थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल हुँदै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगेर उपचार गरिएको छ । प्रहरी गण नम्बर–१ नक्साल काठमाडौँमा कार्यरत २३ वर्षीय प्रहरी जवान सामिनाथ यादवले अस्पताल पुगेर रक्तदान गरेपछि घाइते अवस्थीको शल्यक्रिया सफल भएको छ । अस्पतालले तत्काल शल्यक्रिया गर्न रगत आवश्यक पर्ने जानकारी दिएपछि प्रहरीले सर्कुलर गरेर आफ्नो कर्मचारिमार्फत ओ नेगेटिभ ब्लड उपलब्ध गराएपछि चौतर्फी प्रशंसा भैरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले प्रदर्शनकारी घाइते भएको सूचना पाउनासाथ नजिकैको प्रहरी टोलीलाई उद्धार गर्न निर्देशन दिइएको र उपचारमा समेत प्रहरीले भरपुर सहयोग गरेको बताउनुभयो ।

स्थानीय तह निर्वाचनका लागि ५१ वटा दल निर्वाचन आयोगमा दर्ता
वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचनमा सहभागिताका लागि ५१ राजनीतिक दलले निर्वाचन आयोगमा पुगेर निवेदन दिएका छन् । आयोगमा दर्ता भएका १०९ दल मध्ये शुक्रबारसम्म ५१ दलले निवेदन दिएको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिनुभयो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत राष्ट्रिय मान्यता प्राप्त पाँच दलले निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टीले भने हालसम्म निवेदन दिएको छैन । निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दिएर दल दर्ता गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।

क्याप्टेन विजय लामा ई –सेवा ट्राभल एण्ड टुर्सको ब्रान्ड एम्बेसडर
ई –सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ई–सेवाले अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै क्याप्टेन लामालाई ब्रान्ड एम्बेसडर नियुक्ति गरेको हो । यसअघि नै इ–सेवा एपमार्फत आन्तरिक उडानमा हवाई टिकट काट्न सकिने व्यवस्था रहेकोमा अब ई –सेवा ट्राभल एण्ड टुर्समार्फत अन्तर्राष्ट्रिय उडानका टिकट काट्न सकिने भएको छ । ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ५–६ महिनाको तयारी पछि अन्र्तराष्ट्रिय हवाई टिकट योजना सफल जानकारि दिनुभयो । एयरलाइन्स कम्पनी र ट्राभल कम्पनीलाई सहज बनाउनका लागि यो सेवा सुचारू गरिएको बताइएको छ । ई–सेवा ट्राभल एण्ड टुर्सका ब्रान्ड एम्बेसडर लामाले ग्राहकलाई सहज गराउन आफूले इ–सेवामार्फत सहयोग गर्ने बताउनुभयो । उहाँले कागजको टिकेटको सट्टा प्रविधिको प्रयोग बढ्दै गएको र यसले आम नागरिकलाई सहज सेवा दिलाउन मद्धत गरेको बताउनुभयो । ३५ वर्ष देखि हवाई क्षेत्रमा काम गरेकाले इसेवा मार्फत हवाई क्षेत्रको प्रचार गर्न पाउँदा खुसी लागेको समेत क्याप्टेन लामाले बताउनुभयो ।

नेपालले विश्व बैंकबाट २ अर्ब १३ करोड सहुलियतपूर्ण ऋण लिदै
नेपाल सरकार र विश्व बैंकका अधिकारिबीच २ अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएकोछ । अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । यो ऋण नेपालले कोभिड–१९ विरुद्धको खोप खरिदमा उपयोग गर्ने बताइएको छ । अर्थ सचिव मरासिनीले ऋण सहायता बालबालिकामा खोपको पहुँच विस्तार गर्न उपयोग गरिने बताउनुभयो । विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ