Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : कतै तपाईले पढ्नु छुटाउनुभयो कि नेपाल बारेका यी प्रमुख ५ खबरहरु !

नेपाल अपडेट : कतै तपाईले पढ्नु छुटाउनुभयो कि नेपाल बारेका यी प्रमुख ५ खबरहरु !


काठमाडौं । एमसीसीमा चलिरहेको राजनीतिक दोहोरि, पूर्वतयारीमै ४ करोड बढी खर्च, दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको तयारी अन्तिम चरणमा, शिवरात्रीमा पाशुपत क्षेत्रमा देखिएको भीडभाडसँगै आज बस्ने संसद बैठक बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

एमसीसी स्विकृत नहुँदासम्म राष्ट्रघाती, गरेपछि उपलब्धी र बचाउ
अमेरिकी विकास सहयता सम्बन्धी एमसीसी परियोजना संसदबाट पारित नहुँदासम्म सत्ताको नेतृत्व गर्दैआएको नेपाली कांग्रेस बाहेकका दलले खुलेर समर्थन गरेनन् । बरु सत्ता गठबन्धनमै केही समयसम्म एमसीसीको कित्ताकाटको दोहोरि चल्यो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समावजादीले विना संशोधन एमसीसी अघि बढाउन नहुने भन्दै कार्यकर्ता उतारेर सडक आन्दोलन समेत गराए । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह समेत एमसीसीको बिपक्षमा उभिदा डा. बाबुराम भट्टराई पक्षधर नेताहरुले खुलेर समर्थन गरे । यता, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले लामो समयसम्म पनि पक्ष वा विपक्षमा खुलेनन । पारित हुने अन्तिम डेडलाईन नजिकिदैगर्दा लोसपाले पक्षमा उभिने निर्णय गर्यो भने प्रमुख प्रतिपक्षी दलले संसद अबरोधलाई निरन्तरता दियो । रपनि सत्ता गठबन्धनबीच १२ बुदे ब्याख्यात्मक घोषणासहित एमसीसी पास गराउने सहमति अनुसार एमसीसी परियोजना नेपालको संसदबाट पारित भएर प्रक्रिया अघि बढेको छ । पछिल्लो समय सत्ता घटक दलहरुले एमसीसी पास गराएर दुर्घटनाबाट देशलाई बचाएको, संविधानलाई गति दिएको दाबी गर्दै आफ्नो बचाउ गरिरहेका छन । यता, प्रमुख प्रतिपक्षी दल एमाले र अध्यक्ष केपी शर्मा ओली समर्थन वा बिरोध कतै नखुलेर मध्यमार्गी बाटोमा हिडेका छन् । एमसीसीको बिवादले बढेको राजनीतिक किचलो मथ्थर भएपनि आयोजनाको कार्यान्वयन कसरी हुन्छ, त्यो पनि प्रतिक्षाको बिषय बनेको छ ।

जेठ २ बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते अर्थात बुद्ध जयन्तीबाट व्यवसायिक उडान थालिने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बसद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान सुरु गरिने नागरिक उड्डयन प्राधिकरणले जानकारि दिएको हो । एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी भैरहेको छ । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारि दिनुभएको छ । त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्ने बताइएको छ । ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा अहिले नै आपत्कालीन अवतरण गर्न सकिने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ ।

एमसीसी परियोजनाको पूर्वतयारीमै सकियो साढे ४ अर्ब
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका आयोजना कार्यान्वयनको पूर्वतयारीका क्रममै झन्डै साढे चार अर्ब रुपैयाँ सकिएको छ । एमसीसी कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज अकाउन्ट विकास समितिका अनुसार अहिलेसम्म पूर्वतयारीका लागि चार अर्ब ४६ करोड रुपैयाँ खर्च भएको हो । एक अर्ब ८० करोड रुपैयाँ एमसीसीको पैसा खर्च भएको र बाँकी नेपाल सरकारको खर्च भएको बताइएको छ । एमसीए नेपालले एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयनको पूर्वतयारीका लागि आठ करोड अमेरिकी डलर अर्थात् झन्डै १० अर्ब रुपैयाँ खर्च गर्ने अधिकार पाएको छ । अझै झन्डै साढे पाँच अर्ब रुपैयाँ पूर्वतयारीको कामका लागि खर्च हुने एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टले जानकारि दिनुभएको छ । एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयनका लागि अमेरिकाको ५० करोड डलर र नेपालको १३ करोड डलर गरी ६३ करोड डलर खर्च हुनेगरि परियोजना बनाइएको छ । ६३ करोड डलरमध्ये आठ करोड डलर पूर्वतयारीका लागि खर्च हुनेछ भने ५५ करोड डलर निर्माणको चरणमा खर्च हुने बताइएको छ । १५ महिनाभित्र निर्माणको चरणमा पुग्ने दाबी गरिएको छ । तर चार सय केभी क्षमताको प्रसारण लाइन र तीन वटा सबस्टेशन बन्ने ठाउँको जग्गाको व्यवस्थापन, वन क्षेत्रको समस्या समाधान रुख कटान तथा प्रसारण लाइन र सबस्टेशनको डिजाइनको काममै झमेला हुने देखिएको छ ।

शिवरात्रिमा १७ लाखले गरे पशुपतिनाथको दर्शन
शिवरात्रिको दिन मंगलबार झण्डै १७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहान तीन बजेदेखि राति बेरसम्म पशुपतिमा १७ लाखले दर्शन गरेको पशुपति क्षेत्रविकास कोषले जानकारि दिएको हो । यस वर्ष मन्दिर दर्शनको लागि सहज भएको दाबी गरिएपनि भीडभाडको व्यवस्थापन हुन सकेको थिएन । मेला व्यवस्थापनका लागि पाँच हजार स्वयम्सेवक खटाइएको थियो । पशुपतिमा आज पनि शिवरात्रिसँगै जोडिएका विभिन्न पूजाआज हुनेछन् । भेटी गणना लगायतका व्यवस्थापकीय काम भने दिउँसो १२ बजेपछि शुरु हुने पशुपति क्षेत्र विकास कोषका सदस्य एवम् मेला व्यवस्थापन समितिका संयोजक पूर्ण संगम जेठाराले जानकारी दिनुभएको छ । बिहानैदेखि सरसफाइको काम भने सुरु भएको छ । यो वर्ष शिवरात्रिको अवसरमा पशुपति क्षेत्र निकै झकिझकाउ बनाइएको थियो । शिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइको तयारी पनि सुरु भएको र पर्सि बिहानसम्म उनिहरुको बिदाइ गरिने बताइएको छ । यस वर्ष पशुपतिमा झण्डै ११ हजार साधु सन्त आएको आँकलन गरिएको छ ।

प्रतिनिधिसभाको बैठक आजपनि बस्दै
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक बैठक बस्न लागेको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची तय भएको जानकारि दिनुभएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने प्रारम्कि कार्यसूचीमा उल्लेख छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत समेटिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ