Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन तपाईले पढ्न छुटाउनै नहुने प्रमुख ५ खबरहरु

नेपाल अपडेट : यी हुन तपाईले पढ्न छुटाउनै नहुने प्रमुख ५ खबरहरु


काठमाडौं । चोरिएका सम्पदा नेपाल ल्याएर गरिएको हस्तान्तरण, ९ वर्षिया बालकलाई साङ्लोले बाध्नुपरेको बाध्यता, ग्लाल्पो ल्होछार पर्वको उल्लास, नेपाली पत्रकारको पारिश्रमिक बृद्धिको पहलसँगै जुवाडे पक्राउ बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

चोरिएका तीनवटा सम्पता साँढे ६ महिनाको पहलपछि नेपालमा
काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरिएका तीन वटा सम्पदा करिब साढे ६ महिनाको प्रयासपछि नेपाल फर्काइएका छन् । अमेरिका न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा रहेका दुईवटा र तिब्बत हाउस ग्यालरीमा रहेको एउटा मूर्ति र काष्ठकला सोमबार नेपाल ल्याइएको हो । गत असोज ४ गते पुरातत्व विभागमा परेको उजुरीको आधारमा फिर्ताको पहल थालिएको थियो । फिर्ता गरिएका सम्पदाहरुमा ओम बहालस्थित न्हुँच्छे बहाःबाट चोरिएको मल्लकालीन ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्ध मूर्ति, ललितपुरको यम्पी महाविहारको प्रवेशद्वारमाथि रहेको काठको कलात्मक तोरण र इटुम्बहालबाट चोरिएको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला बुधबार पुरातत्व विभागमार्फत राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अभिलेखालयको सभाहलमा आयोजित कार्यक्रममा रुबिन म्युजियम अफ आर्ट न्यूयोर्कका कार्यकारी निर्देशक डा. जोरिट बित्स्च्गी र क्युरेटर एडमिनिस्ट्रेसन एण्ड कलेक्सनकी निर्देशक मिचेल बेन्नेट सिमोरेल्लाले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेलाई मूर्ति तथा काष्ठकला हस्तान्तरण गर्नुभएको थियो ।

नौ वर्षीय बालक फलामको साङ्लोमा
झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीमा केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँग फलामको साङ्लोले बाँधेर राखिएको छ । उनका बुबा सेवुलालले आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पछि आकाशलाई साङ्लोले बाधेर राखिएको बताउनुभयो । आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालले बताउनुभयो ।

शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउँदै
शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) विभिन्न कार्यक्रमसहित मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । अहिले बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद्ले जानकारि दिएका छन् । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन गर्ने गरिन्छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम समेत गर्ने गरिन्छ । ग्लाल्पो ल्होछारका अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित दलका नेताहरुले शुभकामना दिदै, राष्ट्रिय एकतासहितको सहकार्यको खाँचो औल्याउनुभएको छ ।

बढ्दै पत्रकारको न्यूनतम पारिश्रमिक
न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलव २५ प्रतिशत बढाउन सिफारिस गरेको हो । समितिका अध्यक्ष राजेन्द्र अर्यालले न्यूनतम आवश्यकता, बजार भाउमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरूको तुलनात्मक पारिश्रमिक दरको अध्ययन गरी २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको बताउनुभयो । हाल पत्रकारको न्यूनतम आधारभूत तलब २४ हजार ५०० रुपैयाँ रहेको छ । प्रतिवेदन बुझ्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गरिने जानकारि दिनुभएको छ ।

४ लाख २९ हजार नगदसहित २५ जुवाडे पक्राउ
ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, वचुहाइटमा विनोद कुमार श्रेष्ठले संचालन गरेको ओचु व्याडमिण्टन क्लबको घरभित्र जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ परेका छन् । ४ लाख २९ हजार ५९० रुपैयाँ नगद जुवातास खेल्न प्रयोग हुने सामाग्री, हिसाब किताबसहित उनीहरुलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ