Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : नेपाल बारेको पछिल्लो अपडेटका लागि पढौँ यो खबर

नेपाल अपडेट : नेपाल बारेको पछिल्लो अपडेटका लागि पढौँ यो खबर


काठमाडौं । युक्रेनमा रहेका नेपालीहरु स्वदेश ल्याउने तयारी, माओवादी केन्द्रको बैठकमा एमसीसी किचलो, हराएका तीन बालिका मसाज पार्लरमा भेटिएको घटना, युट्यूबमाथी प्रेस काउन्सिलले थालेको नियमन र कारबाही सिफारिससँगै राष्ट्रिय सभा सदस्यको सपथ बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

युक्रेनबाट ५ सय ११ जना नेपाली सुरक्षित तरिकाले नेपाल आउँदै
युक्रेनबाट पाँच सय ११ जना नेपाली सीमावर्ती छिमेकी देशमा पुगेको परराष्ट्र मन्त्रालयले जानकारि दिएको छ । अहिलेसम्म युक्रेनबाट पोल्यान्डमा चार सय तीन, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली पुगेका छन् । उनीहरुलाई भारतीय उडानबाट सुरक्षित तरिकाले स्वदेश ल्याउने तयारीमा सरकार लागेको छ । युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरिएको समेत परराष्ट्र मन्त्रालयले जानकारि दिएको छ । उद्धारका लागि भारतबाट सकारात्मक जवाफ प्राप्त भएको र युक्रेनको सुरक्षा अवस्थालाई ध्यानमा राखेर त्यहाँ रहेका नेपालीलाई सुरक्षित ठाउँमा पुर्याउन र देश फर्काउन पनि सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जानकारि दिएको छ । उद्धार कार्यमा बर्लिनमा रहेको नेपाली राजदूतावास र मस्कोमा रहेको नेपाली राजदूतावासलाई परिचालन गरिएको छ । युक्रेनको विभिन्न ठाउँमा रहेका बाँकी केही नेपाली पनि तुलनात्मक रुपमा सुरक्षित रहेको र पश्चिम क्षेत्रतर्फ जाँदै गरेको बताइएको छ । उद्धार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष सम्मिलित एक कार्यसमिति गठन गरेर काम भैरहेको छ ।

माओवादी केन्द्रको बैंठकमा एमसीसीको किचलो
पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षासहित पार्टी पदाधिकारी चयनका लागि भन्दै शुक्रबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको बैठक निरन्तर जारी छ । शुक्रबारको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् । माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् । पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको नेताहरुले बताएका छन् । व्याख्यात्मक घोषणा गलत रूपमा पारित गरिएको दाबी गर्दै आएका यी नेताहरुले अध्यक्ष पुष्पकमल दाहालले एकलौँटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । एमसीसीका विषयमा विमत्ति भएपनि नेताहरूले पार्टीभित्रै बसेर संघर्ष गर्ने बताएका छन् ।

बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका बालिका मसाज सेन्टरमा
काठमाडौंको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका बौद्धको मसाज सेन्टरमा भेटिएका छन् । यही १६ गते विद्यालय जान भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धमा रहेको एक मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जानकारि दिएको हो । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा रहेको बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय एक विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् । फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

१६ वटा युट्युब च्यानलमाथि कारबाहीको सिफारिस
प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानलमाथि कारबाही गर्न भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरेको छ । शुक्रबार काउन्सिलले विज्ञप्ति निकाल्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि सिफारिस गरेको जानकारि दिएको हो । काउन्सिलले विज्ञप्ती जारि गर्दै भनेको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष÷विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ । जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५ (११), ५ (४) र ४ (९) को ठाडो उल्लंघन भएको छ ।’

राष्ट्रियसभाका नवनिर्वाचित १९ जना सदस्यहरुको शपथ आज
राष्ट्रियसभाका १९ जना नवनिर्वाचित सदस्यहरुको शपथ आज ११ बजे हुने संघीय संसद् सचिवालयले जानकारि दिएको छ । सपथ कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ । शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जानकारि दिएको छ । चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् । एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४÷४ र कांग्रेसका ३ सदस्यको पदावधि शुक्रबारबाट सकिएको छ । माघ १२ गते भएको निर्वाचनमार्फत १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ