Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमै विनाअप्रेसन मुटुको कृत्रिम भल्व प्रत्यारोपण, हट्ला त बिदेश जानुपर्ने बाध्यता ?

नेपालमै विनाअप्रेसन मुटुको कृत्रिम भल्व प्रत्यारोपण, हट्ला त बिदेश जानुपर्ने बाध्यता ?


काठमाडौं । नेपालमा पहिलो पटक विनाअप्रेसन मुटुको कृत्रिम भल्वको प्रत्यारोपण सफल भएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्व राखेर सफलता हात पारेको हो ।

केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि भल्वको ठाउँमा नयाँ कृत्रिम भल्व राखिएको बताउनुभयो । ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टीएभीआई) विधिबाट सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको नेपालमा यो नै पहिलो घटना हो । डा. अधिकारीको नेतृत्वमा २२ जनाका टोलीले भल्वको सफल प्रत्यारोपण गरेको हो । यस किसिमको प्रत्यारोपण अब नेपालमा हुने भएपछि धेरै बिरामीको उपचार गर्न सकिने छ । सन् २००२ देखि यस किसिमको कृत्रिम भल्व फ्रान्समा पहिलो पटक गरिएको थियो । कृत्रिम भल्व प्रत्यारोपण गर्न भारतमा ६० देखि ८० लाख रुपैयाँ लाग्ने र नेपालमा २० देखि २५ लाखमा गर्न सकिने बताइएको छ ।

कसरी गरिन्छ त कृत्रिम भल्व राखेर उपचार ?
यसविधि अनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरद्वारा मानवनिर्मित भल्व मुटुभित्र छिराइ रोग भएको एओर्टिक भल्वको ठाउँमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण भएको भल्वले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने डा. अधिकारी बताउनुहुन्छ ।

सोमवार भल्व प्रत्यारोपण गरेर शुक्रबार बिरामीको डिस्चार्ज गरिएको हो । मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्छ । एओर्टिक भल्व वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज हुँदा भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा नै कृत्रिम भल्वको सफल प्रत्यरोपण गरेपछि अब भल्व परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महँगो खर्च गरेर जान नपर्ने भएको छ । केन्द्रका निर्देशक डा. अधिकारीले कृत्रिम भल्व भने नेदरल्यान्ड लगायतका देशबाट खरिद गरेर ल्याइने बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ