Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पछिल्लो जानकारिका लागि पढौँ यी प्रमुख ५ खबर

नेपाल अपडेट : पछिल्लो जानकारिका लागि पढौँ यी प्रमुख ५ खबर


काठमाडौं । सत्ता गठबन्धनको चुनावी रणनीति, तरकारी बजारमा भएको आगोलागी, ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा, प्रतिनिधि सभा र नेकपा माओवादी केन्द्रको बैठक बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

चुनावमार्फत एमालेलाई जवाफ दिने रणनीतिमा सत्ता गठबन्धन
संसद् विघटन गरेर संविधान कुल्चिदा पनि कुतर्क गरेर नेपाली राजनीतिमा अराजकता मच्चाइरहेको नेकपा एमालेलाई सत्ता गठबन्धनले संसद् विघटन गरेर भएपनि चुनावबाट जवाफ दिने रणनीति बनाइरहेका छन् । पछिल्लो समय सबै छलफल र सहमतिउन्मुख वार्ता असफल भएपछि आजित भएको सत्ता गठबन्धन संसद् विघटन गरेर भएपनि चुनावमा जाने निष्कर्षमा पुगेको हो । यो छलफलले सार्थकता पाएमा आउँदो जेठ वा असोजसम्म आम चुनाव हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, सभामुख अग्नि सापकोटालाई महाअभियोग लगाउनुपर्ने माग सम्बोधन नभएसम्म संसद् चल्न नदिने अडान राख्दै आएका छन् । संसद् चल्न नदिने, सत्तामा रहँदा संसद् विघटन गर्ने एमालेको अराजक राजनीतिमाथि नियन्त्रण गर्न चुनाव एक मात्रै विकल्प भएकोमा सत्ता गठबन्धनका नेताहरु एकमत भएका छन् । चुनावमा सत्ता गठन्धन मिलेर जाँदा देशैभर एकलौटी जित हासिल गर्न सम्भव छ । यसअघि २०७४ सालको चुनावमा एमाले र माओवादी मिलेर देशैभर झण्डै दुईतिहाई बहुमत हासिल गरेका थिए । तर दुई पार्टी मिलेर बनेको नेकपा फुटेपछि भने अहिले एमाले र माओवादीको हालत पहिलेको अवस्थाजस्तो छैन ।

बालाजुको तरकारी पसलमा आगोलागी
काठमाडौंको बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जानकारि दिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको सहयोगमा राति १ बजेतिर नै निभ्याइएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको र क्षतिको विवरण सङ्कलन भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारि दिएको छ ।

पर्यटकीय गन्तव्य ढोरपाटनमा फोरजी सेवा
नेपाल टेलिकमले पर्यटकीय गन्तव्य ढोरपाटनमा चौथो पुस्ताको फोरजी मोबाइल सेवा विस्तार गरेको छ । २०७५ वैशाखमा माइक्रोवेभ रेडियो लिंकमार्फत् टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा सुरु गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो । ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भिओ–एलटिइसहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । हिमपात र राम्रो सँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्व हुने समस्या समेत हट्ने बताइएको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची समेत सार्वजनिक भएको छ । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुने उल्लेख छ । बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक मार्फत कार्यसूची तय गर्नेछन् । एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

माओवादी केन्द्रको बैठक बस्दै, यस्तो छ छलफलका एजेण्डा
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जाजपनि बस्दैछ । बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएर निरन्तर जारी रहेको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने बताइएको छ । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ