Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकाठमाडौंमा सुरुभयो एनआरएनएको १० औँ विश्व सम्मेलन, उद्घाटनमा कस्ले के भने ?

काठमाडौंमा सुरुभयो एनआरएनएको १० औँ विश्व सम्मेलन, उद्घाटनमा कस्ले के भने ?


काठमाडौं । लामो बिवाद र बहसकाबीच गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड यतीमा सुरु भएको सम्मेलनको अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले उदघाटन गर्नुभएको हो ।

उद्घाटन सत्रमा कस्ले के भने ?

अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)
अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको भन्दै एकीकृत एनआरएनको आवश्यकता रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाईसम्बोधन गर्दै मन्त्री शर्माले विधानलाई मिचेर काम नगर्न सबै गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको हो । ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं’ मन्त्री शर्माले भन्नुभयो, ‘तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’ एनआरएनएलाई एक बनाउन संरक्षक शेष घलेलाई आग्रह गर्नुभएका मन्त्री शर्माले नेपाली बैंकमा निक्षेप खाता खोल्न आग्रह समेत गर्नुभयो । अर्थमन्त्री शर्माले देशमा संकट पर्दा एनआरएनएले महत्वपूर्ण भूमिका खेलेको भन्दै सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन घलेले भुमिका खेल्नुपर्ने बताउनुभयो । गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको सिप र पुँजी नेपाल भित्र्याउन समेत मन्त्री शर्माले आग्रह गर्नुभयो ।

शेष घले, प्रमुख संरक्षक एनआरएनए
प्रमुख संरक्षक शेष घलेले अर्थमन्त्रीसहित प्रतिनिधिहरु आफूलाई विश्वास गरेर उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको बताउनुभयो । बोल्ड डिसिजन गरेर उपस्थित भएको भन्दै अर्थमन्त्री शर्माको प्रशंसा गर्नुभएका घलेले भविष्यको प्रधानमन्त्रीका रुपमा समेत शर्मालाई इंगित गर्नुभयो । पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरे पनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताउनुयो । एनआरएनए राजनिति भन्दा सेवा र सत्कर्मबाट अघि बढ्नुपर्ने भन्दै धेरै देशहरुबाट प्रतिनिधि आइसकेको समयमा निर्वाचनको काम अघि बढ्ने उहाँले बताउनुभयो । एनआरएनएका पूर्व अध्यक्ष घलेले सबै गैर आवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको भन्दै सबै नेपाली बीच पार्टनरसीपको आवश्यकता औँल्याउनुभएको थियो ।

सोनु लामा, एनआरएनए विश्व सम्मेलन मूल आयोजक समिति संयोजक
गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन मूल आयोजक समितिका संयोजक सोनु लामाले विधान र विधिविपरीत कुनै काम हुन नदिने दाबी गर्नुभयो । एनआरएनएलाई कुनै व्यक्तिको हितमा प्रयोग गर्न नदिने दाबी गर्नुभएका लामाले संस्थामा राजनीति घुसाउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो । ‘कुल आचार्य कांग्रेसको अनि कुमार पन्त एमालेको भन्छन्, त्यस्तो होइन हाम्रोमा राजनीति पस्नु हुन्न’ लामाले राजनीति मुक्त एनआरएन अहिलेको आवश्यकता भएको बताउनुभयो ।

विश्व सम्मेलनमा कोरोनाको प्रतिबन्द्धका बाबजुत २५/३० देशहरुबाट एनआरएन प्रतिनिधिहरु उपस्थिति भएको बताइएको छ । उद्घाटन सत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पूर्वअध्यक्ष अनिल केशरी शाह लगायत उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुभएको थियो । यसप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले यसलाई रोक्न सोमबार मात्रै आदेश दिएको छ ।

शेष घलेले एनआरएनलाई नेपालको सामाजिक कर्म र विकाशमा जोड्ने प्रयास गरिरहँदा कुमार पन्त समूहले राजनीति गर्ने भर्याङ बनाउन खोजेको भन्दै विश्वभरका एनआरएनहरुले आलोचना समेत गर्दैआएका छन् ।


ट्याग : #१० औं विश्व सम्मेलन, #अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर), #गैरआवासीय नेपाली संघ (एनआरएनए), #प्रमुख संरक्षक शेष घले, #संयोजक सोनु लामा
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ