नेपाल अपडेटः यी हुन पढ्नैपर्ने प्रमुख ५ खबरहरु
काठमाडौं । चिनियाँ विदेशमन्त्रीको नेपालमा देखिएको राजनीतिक दौडधुप, हावाहुरी र डढेलेको प्रकोप र क्षती, यातायात भाडा बढाउने तयारी, हात्ती बेच्नेहरु पक्राउ परेको बारेका प्रमुख ५ खबरहरु यस्त छन् ।
चिनियाँ मन्त्री नेपालमा, विमानस्थल हस्तान्तरणदेखी ९ बुँदे सहमतिसम्म
चीन सरकारले आफ्नो ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९३ प्रतिशत पुरा भएको छ । यसअघि आजै नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्का बीच नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाल चीन अन्तर देशीय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययन लगायतका नौ बुँदे समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा हावाहुरी र डढेलोको प्रकोप, यो वर्षमात्रै ८८ को मृत्यु
हावाहुरी र सुक्खा मौसम सुरु भएसँगै नेपालमा हरेक दिन आगलागी र १०-१२ ठाउँमा डढेलोका घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार एकैदिन रामेछाप, सर्लाही र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । रामेछापमा २२ वटा घरगोठ, सर्लाहीमा १४ घर र दोलखामा दुई घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–८ सल्लेरीको तीनदोबान भिरपाखा, सिन्धुलीको सिन्धुलीमाडी सामुदायिक वनमा डढेलो लागेको छ । यसवर्ष ७७ वटा जङ्गलमा डढेलो लागेको छ । घर तथा जङ्गलमा भएको आगलागीबाट यसवर्ष मात्रै ८८ जनाले ज्यान गुमाएका छन् भने तीन सय ६८ जना घाइते भएका छन् । यी घटनामा २६ सय ६७ परिवार प्रभावित भएका प्राधिकरणको तथ्याङ्क छ । झन्डै साढे दुई अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । अघिल्लो वर्ष चैत लागेसँगै नेपालका सयौँ ठाउँमा एकै पटक डढेलो लागेको थियो । एकैदिन पाँच सयभन्दा धेरै ठाउँमा डढेलोका घटना हुँदा प्रदूषण बढेको थिये । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले अघिल्लो वर्षको तुलनामा अहिले कम डढेलो लागेको भए पनि जोखिम कायमै रहेकोले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । डढेलोको प्रकोपका हिसाबले अघिल्लो वर्षलाई दशकौँयताकै सबैभन्दा खराब वर्ष मान्ने गरिएको छ ।
यातायात भाडा बढाउने तयारीमा सरकार
सरकारले लामो दुरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी अघि बढाएको छ । स्वचालित रुपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेसँगै भाडा बढ्ने आँकलन गरिएको हो । इन्धनको मूल्य वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव गरेको बताइएको छ । अब स्वचालित भाडा प्रणाली लागू भएमा इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ सार्वजनिक यातायातको भाडादर परिवर्तन हुनेछ ।
हात्ती बेच्न लाग्दा समातिए तीन जना
दुई वटा हात्तीसहित पर्साबाट तीन जना पक्राउ परेका छन् । हात्ती बिक्रीका लागि नेपालबाट भारततर्फ लैजादै गरेको सूचना पछ्याएको प्रहरीले दुई जना माहुते र हात्ती बिक्री गर्ने एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले माहुतेहरु बुद्धिराम महतो र राजु कुमाल तथा हात्ती बिक्री गर्ने सफरोज आलम रहेको बताउनुभयो । पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।
चिनियाँ विदेशमन्त्रीको नेपालमा राजनीतिक दौँडधुप
तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्दैहुनुहुन्छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता भएको छ । यस्तै नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच छलफल र कतिपय विषयमा सम्झौता समेत भएको छ । चिनियाँ विदेशमन्त्री यीले शनिबार बिहानै शिवपुरी हाइकिङ गर्नुभएको छ । नेपाली प्रतिनिधिमण्डलसँगको शनिबारको भेटमा ९ वटा समझदारीमा हस्ताक्षर भएको छ । शनिबार साँझ साढे ७ बजे होटल द्वारिकाजमा रात्रिभोजमा विदेशमन्त्री वाङ सहभागी हुनुभएको थियो । चिनियाँ विदेशमन्त्री वाङले १० बजे शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हायातमा भेटवार्ताको कार्यक्रम तय भएको छ । बिहान ११ बजेपछि ओलीसँग भेट हुनेछ भने पौने १२ बजेपछि प्रचण्डसँग भेटवार्ता हुने बताइएको छ । शुक्रबार नेपाल आएका वाङ चिनियाँ विशेष विमानबाट आजै स्वदेश फर्किदै हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया