Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका साना व्यवसायमा कामदार अभाव, आप्रवासन बढाउन के गर्दैछ सरकार ?

अष्ट्रेलियाका साना व्यवसायमा कामदार अभाव, आप्रवासन बढाउन के गर्दैछ सरकार ?


ब्रिजबेन । कोरोना महामारीका कारण २०२० मार्च देखि २०२१ को अन्त्यसम्म अष्ट्रलिया प्रवेशमा प्रतिबन्ध लाग्यो । यो समयमा अन्तर्राष्ट्रिय विद्यार्थी आउने क्रम समेत पूर्ण रुपमा बन्द भयो । लामो समयसम्म अन्तरराष्ट्रिय विद्यार्थीहरू नआएका कारण धेरै उद्योगहरू प्रभावित हुँदैआएका छन् । विशेषगरी होटल र पर्यटन क्षेत्रमा समेत यसको प्रभाव ठूलो देखिएको छ ।

अहिले सिमानाहरू पुनः खोलिएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारहरूले अष्ट्रेलियामा भिसाका लागि आवेदन दिने क्रम पनि बढेको छ । तर, पुराना आवेदनहरूको ठूलो चांगले भिसाको लागि भने लामो समय कुर्नुपर्ने अवस्था देखिएको आवेदकहरुले बताउने गरेका छन् । बसाइँसराइलाई तीव्रता दिइएन भने कामदार अभाव हटाउन दुई–तीन वर्ष लाग्ने आँकलन भैरहेको छ । अष्ट्रेलियाको भिसा अस्वीकार दर धेरै उच्च रहेको दाबी गर्दै अष्ट्र्रेलियाको ब्रिसबेनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई व्यवसायिक शिक्षाबारे तालिम दिदै आउनु भएकी मारिया जिया सरकारले यसको मूल्याङ्कन गर्नुपर्ने समय आएको बताउनुहुन्छ ।

अर्थतन्त्रको ‘मेरुदण्ड’ मानिने साना व्यवसायमा के–के छन त समस्या ?
साना व्यवसायहरूले अष्ट्रेलियामा सामना गर्ने सबैभन्दा ठूलो समस्या भनेकै अहिले कामदार अभाव हो । काउन्सिल अफ स्मल विजनेश अर्गनाइेसन अष्ट्रेलिया ९सिओएसबिओए० की सिइओ एलेक्सी बोइड अष्ट्रेलियाका साना विजनेसहरूको अवस्था अन्तरराष्ट्रिय कामदारहरूको अभाव भएका कारण नाजुक रहेको बताउनुहुन्छ । सिओएसबिओएले गत हप्ताको संघीय बजेटमा घोषणा गरिएका धेरै संरचनात्मक सुधारहरूको प्रशंसा गरेको छ । तर, बोइडले श्रम अभावलाई सम्बोधन गर्न तत्काल उपायहरूको अभाव भएको बताउनुभएको छ । ‘आप्रवासीहरू साना व्यवसायको अर्थतन्त्रको मेरुदण्ड हुन् । यहाँ धेरै उद्योगहरू र हाम्रा धेरै सदस्यहरू छन् जसले आफ्नो विशेष उद्योगको लागि दक्ष बसाइ सर्ने सूची बढाउन वर्षौंदेखि कल गर्दै आएका छन् ।’ उहाँले भन्नुभएको छ ।

सरकारले सन् २०२२–२३ का लागि १ लाख ६० हजार स्थायी आप्रवासन सीमा कायम गर्ने निर्णय गरे पनि दक्ष आप्रवासीलाई समर्पित भिसाको अनुपात करिब ७० प्रतिशतमा पुर्याउने निर्णय गरेको छ । त्यसैगरी, आप्रवासनमन्त्री एलेक्स हकले वर्तमान प्रधानमन्त्री मोरिसनको सरकारले दक्ष कामदारहरूलाई भित्र्याउने कार्यलाई केन्द्रमा राख्ने बताउनुभएको छ । सिइओ बोइडले दक्ष कामदार भित्र्याउनका लागि लगानी बढाउँदै भिसा प्रक्रिया सरल बनाउँदै लैजानुपर्ने बताउनुहुन्छ । सन् २०१८–१९ मा भएको आप्रवासी प्रवेशको सीमा १ लाख ९० हजारमा पुर्याउन उद्योग समूहहरूबाट माग आएको दाबी गरिएको छ ।

अष्ट्रेलियन इन्डस्ट्री ग्रुपका सिइओ इनेस विलक्सले दक्ष कामदारलाई केन्द्रित गरेर आप्रवासी ल्याउने कार्य स्वागतयोग्य भएता पनि अभाव पूर्तिका लागि पर्याप्त नभएको बताउनुभयो । ‘साना व्यवसायीहरू दक्ष कामदार ल्याउने संख्या चाँडो भन्दा चाँडो बढ्छ भन्ने विश्वास छ ।’विलक्सनले बताउनुभयो ।

के छ त पछिल्लो बजेटमा गरिएको व्यवस्था ?
सरकारले श्रमशक्तिको अभावलाई सम्बोधन गर्न र महामारीको सीमा बन्द भएपछि अर्थतन्त्रलाई जम्प–स्टार्ट गर्न बसाइसराइको महत्वलाई स्वीकार गरेको छ । सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी र ब्याकप्याकरहरूलाई खाली ठाउँहरू भर्न मद्दत गर्ने जनाएको छ । सरकारले यस वर्ष जनवरी १९ देखि मार्च १९ सम्म आइपुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र अप्रिल १९ सम्म आइपुग्ने कामदारहरूको भिसा आवेदन शुल्क फिर्ता गर्ने प्रस्ताव समेत गरेको छ । यसैगरी, जनशक्तिको अभाव कम गर्नका लागि विद्यार्थीले १५ दिनमा ४० घण्टा मात्रै काम गर्न पाउने सीमा निर्धारण पनि तत्कालका लागि खारेज गरिएको छ ।

यद्यपी, धेरै भिसाको कामहरू बाँकी रहेको भन्दै दक्ष आप्रवासी ल्याउने कार्य द्रूत गतिमा भने हुन सकिरहेको छैन । तत्काल कामदारको अभाव टर्ने सम्भावना नदेखिदा साना व्यवसाय मार्फत व्यवसायी बनेका र राज्यमा योगदान दिनेहरु मारमा पर्दैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ