Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा गर्मी बढ्यो, पश्चिम तराईका जिल्लामा तीन दिनसम्म तातो हावा चल्ने !

नेपालमा गर्मी बढ्यो, पश्चिम तराईका जिल्लामा तीन दिनसम्म तातो हावा चल्ने !


काठमाडौं । नेपालमा गर्मीयाम सुरु भएसँगै दु्रत गतिमा मौसमी प्रभाव देखिएको छ । तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गले तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना बढेको बताउनुभएको हो ।

४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार नेपालका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री , नेपालगञ्जको ३९ दशमलव ५, धनगढीको ३८ दशमलव ९, सिमराको ३८ दशमलव ६, जनकपुरको ३८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको अधिकतम तापक्रम नै ३१ दशमलव ५ डिग्री सेल्सियस पुगिसकेको छ ।

तापक्रम धेरै बढेको बेला बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती लगायतलाई बढी असर गर्छ । यस्तो बेला दिउँसो घरबाहिर ननिस्कने र खानपानमा ध्यान दिनुपर्नेमा विज्ञले सुझाव दिएका छन् । चिकित्सकहरुले समेत बढ्दै गरेको तापक्रमबाट बढ्नसक्ने जोखिमबाट बच्न सबैलाई आग्रह गरेका छन् ।

आउँदो बिहीवार भने देशका धेरै ठाउँमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । मौसम बद्ली हुने सम्भावना रहेकाले बिहीवारपछि तापक्रम घट्ने अनुमान गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ