नेपालको स्थानीय निर्वाचनः ७४९ पालिकाको अन्तिम परिणाम, काठमाडौंमा बालेन अरु को को ?
काठमाडौं । बैशाख ३० मा सम्पन्न स्थानीयत तह निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलको जित निश्चित भैसकेको काठमाडौं महानगरपालिकासहित अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।
काठमाडौं महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा स्वतन्त्र बालेन्द्र साहले ५५ हजार ७७७ सहित अग्रता लिदा कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत मात्रै पाउनुभएको छ । उदयपुरको त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेसका वसन्त बस्नेतको ३०९० मत ल्याएर झिनो अग्रता लिदा एकीकृत समाजवादीका बलदेव चौधरीले ३०११ मतसहित पछ्याइरहनुभएको छ । त्रियुगाको मेयरमा कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँणले १६ हजार ८ सय ३६ मत प्राप्त गर्दा एमालेका मोहन चापागाईंले १५ हजार ८ सय ३३ मतका साथ पछ्याइरहनुभएको छ । बाजुराको बुढीगंगा नगरपालिकामा भने कांग्रेस र एमाले दुबैले गरेको धाँधलिका कारण फेरि मतदान हुने वा पहिलेकै मत गणना हुने अन्योलका कारण मतगणना नै सुरु हुन सकेको छैन ।
७ सय ५३ पालिकामध्ये अहिलेसम्म कांग्रेसले तीन सय २७ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० र लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख पद जितेका छन् । बाँकी पालिका मध्ये ४ वटामा राप्रपा, ४ वटामै जनमोर्चा, हिरासतमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले चारवटा र सिके राउत नेतृत्वको जनमत पार्टीले २ वटा पालिकामा जित हात पारेका छन् । जनता प्रगतिशील पार्टीले समेत एकपालिका जितेको छ । स्वतन्त्र उम्मेदवारले १२ वटा प्रमुख पद जितिसकेका छन् । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित निश्चित छ ।
तपाईको प्रतिक्रिया