फोहोरबाट ब्रिजवेनमा बत्ति बल्छ भने काठमाडौमा किन बल्दैन ?
ब्रिजवेन/ काठमाडौंको फोहोरको डंगुर, नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलका लागि चुनौतीको पहाड बनेको छ । फोहोर व्यवस्थापनले नै उनीहरुको सफलताको मापन गर्छ भन्दा फरक नपर्ला । काठमाडौंको फोहोरबारे अरु बेला चर्चा गरौंला । आज काठमाडौंभन्दा दोब्बर जनसंख्या भएको अष्ट्रेलियाको एउटा शहर ब्रिजवेनले फोहोर व्यवस्थापन कसरी गरिरहेको छ भन्ने बारे बुझौं । यसबाट बालेन र सुनितालाई काठमाडौंका फोहोर व्यवस्थापन गर्न अलिकति भएपनि सहयोग पुग्नेछ ।
घरको फोहोर घरमै व्यवस्थापन
कुइन्सल्याण्ड राज्यको ब्रिजवेन सिटी काउन्सिलले घरको फोहोर घरमै व्यवस्थापन गर्न आफ्ना नागरिकलाई प्रात्साहित गर्छ । सरकारी तथ्याकं अनुसार राज्यभर प्रतिव्यक्ति फोहोर उत्पादन प्रतिवर्ष ६ सय किलो छ । घरको फोहोर घरमै व्यवस्थापन गर्ने योजना अन्तगर्त प्रतिव्यक्ति फोहोर वर्षको २ सय ५० किलो मात्रै ल्याण्डफिल्ड साइटमा पुग्दछन् । यो भने ६० प्रतिशत घरको फोहोर नागरिकले घरमै व्यवस्थापन गरिरहेका छन् । यसका लागि कुनै जादुको छडी प्रयोग गरिएको छैन । ल्याण्डफिल्ड साइटमा पुग्ने फोेहोरको मात्रा घटाउन ब्रिजवेनले पुर्नप्रयोगलाई प्राथमिकता दिएको छ ।
जसको सुरुवात हुन्छ रातो र पहेलो बिनबाट । कुहिने फोहोरहरु रातो बिनमा र पुर्नप्रयोग गर्न सकिने फोहोरहरु जस्तै कार्डबोर्ड, पलाष्टिक र बोतलहरु पहेलो बिनमा हाल्नका लागि काउन्सिलले प्रोत्साहन गरिरहेको छ । जसका लागि काउन्सिलले हरेक घरलाई यी दुइ रंगका बिन दिन्छ र हप्ताको एक दिन गाडी पठाएर फोहोर संकलन गर्छ । यसबाट ब्रिजवेन सिटी काउन्सिल लगायत स्थानिय निकायबाट वार्षिक ३ लाख ६ हजार टन कार्डबोर्ड र कागजजन्य फोहोरहरु पुर्नप्रयोग गरिदै आइएको छ ।
त्यस्तै काम लाग्ने लत्ताकपडा, फर्निचर, विद्युतिय सामाग्रीहरु फोेहोरमा नफालि पुर्न प्रयोग गर्नका लागि काउन्सिलले त्यस्ता सामाग्री संकलन केन्द्रहरु संचालन गरेको छ । ब्रिजवेनभरी ४ वटा स्थानमा रिसोर्स रिकभरी सेन्टरहरु संचालन छन् । जहा नागरिकले आफुलाई काम नलाग्ने तर, पुर्न प्रयोग गर्न मिल्ने सामानहरु चन्दा दिन सक्छन् । त्यस्ता सेन्टरहरुले स्थानिय स्तरमा फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा समेत पठाउछन् । त्यहाबाट संकलन भएका त्यस्ता सामानहरुलाई बेच्नका लागि गैर सरकारी संस्थासंग मिलेर पसलहरु संचालन गरिएको छ । सेकेण्ड हेण्ड त्यस्ता पसलहरुमा नागरिकले सामान निर्धक्क किन्ने गर्छन् । आफ्नो आवश्यकता पुरा हुने र फोहोर व्यवस्थापनमा समेत सकारात्मक सहयोग पुग्ने भएपछि नागरिकले त्यस्ता पसलबाट गर्वका साथ किनमेल गर्ने गरेका छन् ।
कुइन्सल्याण्ड सरकारको सन् २०२० को तथ्याकं अनुसार फोहोरबाट ८१ प्रतिशत सरसामानहरु पुर्न प्रयोगका लागि निकालिन्छ । जसले ल्याण्डमा जाने फोहोरको मात्रा निकै घट्ने गरेको छ ।
त्यस्तै गैर सरकारी संघसंस्थाहरुले खोलेका सेकेण्ड ह्याण्ड पसलहरुमा समेत नागरिकले आफुलाई नचाहिने तर पुर्न प्रयोग गर्न मिल्ने सामानहरु चन्दा दिन सक्छन् । राज्यभर त्यस्ता पसलहरु प्रसस्तै खुलेका छन् । यसबाट पनि लाखौ टन फोहोर ल्याण्डफिल्डमा जानबाट रोकिएको छ ।
ल्याण्डफिल्डबाट साढे ८ हजार घरलाई बिजुली
रियुज र रिसाइकलबाट बचेकुचेको फोहोरहरु मात्रै ल्याण्डफिल्ड साइटमा लगेर पुरिन्छ । जसका लागि ब्रिजवेनमा एउटा ल्याण्डफिल्ड साइट छ । सन् १९९३ देखि संचालनमा आएको यो ल्याण्डफिल्ड साइटमा वातावरणिय प्रदुषणलाई निकै कम गर्ने प्रयास गरिएको छ । पुर्न प्रयोग गर्न नमिल्ने फोहोर मात्र ल्याण्डफिल्ड साइटमा आउछ ।
स्थानिय फोहोर संकलन केन्द्रहरुले फोहोरलाई उच्च चाप दिएर डल्लो बनाएर मात्रै ल्याण्ड फिल्डमा पठाउने गर्छन् । जसले फोहोरको आकार निकै सानो हुन्छ । त्यस्ता फोहोरहरुको तौल लिएर मात्रै ल्याण्डफिल्ड साइटमा बनाइएका सेलहरुमा पुरिन्छ । फोहोरबाट निस्किने हानिकारक लिचडले वरिवरीको वातावरणमा असर नगरोस् भनेर हरेक सेलमा एक मिटर बाक्लो चुन र डेढ मिटर बाक्लो पोलिथिन प्लाष्टिकको पर्खाल लगाइएको छ । यो पर्खालबाट हानिकारण लिचड बाहिर निस्किन ३ सय वर्ष लाग्ने काउन्सिलले जनाएको छ ।
एउटा सेल भरिएपछि चुन र पलाष्टिकको बाक्लो तहले बन्द गर्ने अनि त्यसमा माटोले पुरेर त्यसमाथी वृक्षारोपण गरिन्छ । जसका कारणले फोहोर पुरेको ठाउ फेरी उस्तै प्राकृतिक देखिन्छ । ल्याण्डफिलको काम यत्तिकै सकिदैन । फोहोर पुरिएको ठाउबाट ग्यास उत्पादन गरेर त्यसबाट बिजुली समेत निकालिएको छ ।
ल्याण्डफिल्डबाट ४६ हजार मेघावाट आवर बिजुली निकालिदै आइएको छ । यसबाट ८ हजार ५ सय घरमा वर्षभरीलाई बिजुली खपत गर्न पुग्छ । त्यस्तै ल्याण्डफिल्ड साइटमा सोलार प्यानल राखेर वर्षको १३६ मेघावाट आवर बिजुली समेत निकालिएको छ ।
ब्रिजवेनमा फोहोर मोहोर बनेर बिजुली निस्कन्छ भने काठमाडौंमा किन निस्कदैन ?
ट्याग : #Balen, #brisbane, #kathmandu, #waste management
तपाईको प्रतिक्रिया