Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsबारा र पर्सामा ठुलो जनधनको क्षति । अष्ट्रेलियाबाट सुरु भयो सहयोग

बारा र पर्सामा ठुलो जनधनको क्षति । अष्ट्रेलियाबाट सुरु भयो सहयोग


सरल गुरुङ/सिड्नी

हावाहुरीका कारण बारा र पर्सामा ठुलो जनधनको क्षति भएपछि अष्ट्रेलियावासी नेपालीले तत्कालै सहयोग संकलन सुरु गरेका छन् ।
एसोसियन अफ नेपाल तराई अष्ट्रेलिया (एन्टा) ले सहयोग जुटाउन सुरु गरेको हो । यो दुखको घडीमा सहयोग गर्न सबै अष्ट्रेलियावासी नेपालीलाई अपिल गरेको छ ।

हावाहुरीले घर उडाएपछि घरबार बिहिन बनेकालाई तत्कालै अस्थाई टेन्टमा राख्नुपर्ने, घाईतेको उपचारमा रगत अभाव देखिएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने र खानेकुरा तथा लत्तकपडा बाड्नका लागि आर्थिक संकलन गर्नु परेको एन्टाले जनाएको छ ।
आइतबार साझ चलेको भिषण हावाहुरीले बारा र पर्सामा ठुलो जनधनको क्षति पु¥याएको छ ।
पछिल्लो जानकारी अनुसार बारा र पर्सामा गरि कम्तिमा २५ जनाले ज्यान गुमाएका छन् भने ४ सय भन्दा बढी घाईते भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।

घाइतेलाई अस्पताल लगिदै । तस्बिर – आपन विरगंज

“बरु एउटा कफि नखाउ”–एन्टाका अध्यक्ष अरुणकुमार ठाकुरले भने – “त्यहि कफिको पैसाले पनि यो दुखको घडीमा पिडितको घाउमा मलम लगाउन सक्छ”। घटना हुने बित्तिकै एन्टाले स्थानिय स्वयंसेवकहरुलाई बारा र पर्सामा खटाइसकेको ठाकुरको भनाई छ ।

“हाम्रा स्वयंसेवकहरु घटनास्थल र अस्पतालमा पुगेर विवरण संकलन गरिरहेका छन्”– ठाकुरले भने – “सबै वस्तुस्थिती बुझेपछि के कस्ता सामान सहयोग गर्ने भन्ने निर्णय लिने छौ” ।
आवश्यकता अनुसार सहयोग उपलब्ध गराउन स्थानिय स्वयंसेवकलाई निर्देशन दिएको एन्टाले जनाएको छ ।
एन्टामार्फत बारा र पर्साका हावाहुरी पीडितलाई सहयोग गर्नका लागि निम्न खातामा सहयोग रकम जम्मा गर्न सकिने छ ।

Account name :- Association of Nepal Terai in Australia ( ANTA)

BSB 082024

AC 148925691

नेपालबाटै लत्ताकपडा र सरसामान सहयोग गर्न चाहानेले स्थानिय समाजसेवी प्रकाश थारुलाई ९८५५०२०७८२ मा सिधै सम्पर्क गर्न पनि एन्टाले अनुरोध गरेको छ ।
१० हजार डलर संकलन गरेर तत्कालै नेपाल पठाउने एन्टाको तयारी छ । सहयोग रकमलाई गैर आवासिय नेपाली संघ र स्थानिय प्रशासनसंग सहकार्य गरि पारदर्शी तरिकाले पिडितसम्म पु¥याउने एन्टाका अध्यक्ष ठाकुरले स्पष्ट पार्नुभयो ।

घाइते उपचार हुदै । तस्बिर – आपन विरगंज

एनआरएनए अष्ट्रेलियाको आपत्तकालिन बैठक बस्दै

बारा र पर्सामा हावाहुरीका कारण ठुलो जनधनको क्षति भएपछि तत्कालै राहत उपलब्ध गराउन के गर्न सकिन्छ भनेर छलफल गर्न एनआरएनए अष्ट्रेलियाको आपतकालिन बैठक बस्दै छ ।
सोमबार साझ तय भएको बैठकमा तत्कालै राहत सामाग्री, टेन्ट र लत्ताकपडा उपलब्ध गराउने बारे छलफल हुने एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले जानकारी दिनुभयो ।
एनआरएनए अष्ट्रेलियाले सहयोग रकम उठाउने भन्दा पनि दैविप्रकोप कोषमा भएकै रकममार्फत सहयोग गर्ने तयारी समेत गरेको छ । कोषमा ४० हजार डलर पैसा छ । “हामीले रकम उठाउने बारे सोचेका छैनौ”– प्रवक्ता खरेलले भने – “सायद कोषकै रकममार्फत सहयोग गछौ होला” ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ