Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalविद्युतीय ठगी तथा अनलाईन जुवा खेलाउने एक चिनियाँसहित चार जना पक्राउ !

विद्युतीय ठगी तथा अनलाईन जुवा खेलाउने एक चिनियाँसहित चार जना पक्राउ !


काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन जुवा खेलाउन संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजिसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचना पछ्याउँदै गरेको अप्रेसनका क्रममा एक चीनिया र तीन नेपाली बुधबार दिउँसो पक्राउ परेका हुन ।

प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड समेत बरामद गरेको छ । अभियुक्त उपर म्याद थप गरेर आवश्यक अनुसन्धान र कारबाही अघि बढाइएको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारि दिनुभएको छ ।

पछिल्लो समय प्रहरीले नेपालमा बसेर कल सेन्टरका नाममा वित्तिय अपराध गरिरहेका चिनियाँ नागरिक र उनीहरुको सहयोगी बन्दै सघाउने नेपाली माथीको अप्रेसनलाई तिब्रता दिएको छ । पोखरामा करिब ४५ लाख नगद तलब बाढ्न लाग्दैगर्दा कलसेन्टरमा छापा मारेर सुरु भएको कल सेन्टर अनि अनलाईन जुवाविरुद्धको अप्रेसन अहिले देशव्यापी जस्तै बनेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको प्रहरीले सोमबार मात्रै काठमाडौंको तीनकुने र गैरिगाउँका तीनवटा कल सेन्टरमाथी निसाना बनाएको थियो । अन्य क्षेत्रको समेत सूचना कलेक्सन गरेर अप्रेसनलाई निरन्तरता दिइने प्रहरी रणनीति रहेको प्रवक्ता राई बताउनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ