अष्ट्रेलियाको पार्कमा हस्तमैथुन गर्ने नेपाली युवकलाई ‘यौन अपराधी’को रुपमा दर्ता गर्न नहुने भन्दै अदालतमा बहस
अर्को सुनुवाई सेप्टेम्बरमा
तास्मानिया/ होबार्टको एक सार्वजनिक पार्कमा आफ्नो कारभित्र हस्तमैथुन गर्ने नेपाली युवकलाई यौन अपराधीको रुपमा सरकारी रेकर्डमा राख्नु नहुने भन्दै अदालतमा बहस भएको छ ।
नेपाली युवकको तर्फबाट तास्मानियाका फौजदारी कसुर सम्बन्धी कानुन व्यवसायी दिनेश लोगनाथले म्याजिष्ट्रेड अदालतमा यस्तो च्यालेन्ज गर्नुभएको हो । यौन अपराधीका रुपमा दर्ता गर्न एउटा आधार तयार गर्ने परिक्षण प्रणाली नै गलत भएको भन्दै दिनेशले अदालतमा दुइ मनौवैज्ञानिकको रिपोर्ट समेत प्रमाणका रुपमा पेश गर्नु भएको छ । ती दुइ मनोवैज्ञानिकले ती युवकले फेरी त्यस्तै कार्य गर्न सक्ने अवस्था निकै न्युन रहेको रिपोर्ट तयार पारेका छन् । नेपालट्युबको सम्पर्कमा आउनु भएका कानुन व्यवसायी दिनेशले अदालतबाट न्याय पाउनेमा आफु र आफ्नो क्लाइन्ट सकारात्मक रहेको बताउनुभयो । दिनेशले यो मुद्दा निशुल्क रुपमा लडिरहेका छन् ।
सुपरमार्केटको खुद्रा सामान घरघरमा डेलिभरी गर्ने नेपाली युवक होबार्टको एक सार्वजनिक पार्कमा रोकिएको आफ्नो गाडीभित्र हस्तमैथुन गरेको आरोपमा गत वर्ष दोषी करार भएका थिए । अदालती प्रकृया अनुसार नै तास्मानिया सरकारको न्याय विभाग अन्तगर्तको कम्युनिटी करेक्सन तास्मानिया सिसिटीले ती युवकले फेरी यस्तै हर्कत दोर्याउन सक्छ कि सक्दैन भनेर जोखिम मुल्यांकन गरेको थियो । मुल्यांकको रिपोर्टका आधारमा अदालतले यौन अपराधीको रुपमा दर्ता गर्ने कि नगर्ने फैसला गर्दछ । सिसिटीले ती युवकले त्यस्तै हर्कत फेरी पनि गर्न सक्ने मध्यम खालको जोखिम रहेको रिपोर्ट तयार पारेको छ । पार्कमा हस्तमैथुन गरेको कार्यमा दोषी करार हुदा तास्मानियामा पुलिस अफेन्स ऐन १९३५ को दफा १३ उपदफा १ बमोजिम बढीमा ३ महिना जेल सजाय हुन्छ ।
तर, यदि यौन अपराधीको रुपमा दर्ता भएमा ती नेपाली युवकको भिषा रद्द भएर देश निकाला नै हुन सक्ने वकिल दिनेशले जानकारी दिएको स्थानिय संचारमाध्यम एबिसीले खबर समेत लेखेको छ । दिनेशका अनुसार अर्को सुनुवाई सेप्टेम्बर २२ तारिखमा छ । यी नेपाली युवकलाई सघाउन तास्मानियाको गैर आवासिय नेपाली संघ तयार रहेको यसका संयोजक राकेश शाक्यले जानकारी दिनुभयो । त्यस्तै सामाजिक अभियन्ता पुनम पन्तले नेपाली युवक बारे गलत मुल्यांकन भएको भन्ने खबर एबिसीमा पढेको भन्दै त्यसैको आधारमा यौन अपराधीको रुपमा दर्ता गरिनु उचित नहुने बताउनुभयो । अदालतबाट न्याय पाइनेमा आफु पनि आशावादी भएको भन्दै ती नेपाली युवकलाई सम्पर्क गरेर सहायता गर्ने कोसिस भइरहेको पन्तले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया