Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदिनहुको उडान रद्दले हजारौँ अष्ट्रेलियाली नागरिक बालीमा अलपत्र !

दिनहुको उडान रद्दले हजारौँ अष्ट्रेलियाली नागरिक बालीमा अलपत्र !


अष्ट्रेलिया । दिनहु हुने उडान रद्दका कारण बालीमा रहेका हजारौं अष्ट्रेलियाली नागरिक अलपत्र परेका छन्। सेप्टेम्बरको सुरुदेखि, इन्जिनियरिङ समस्यालाई मुख्य कारण देखाउँदै अष्ट्रेलिया र बाली बीचका धेरै उडान दिनहु रद्द गरिएपछि यात्रुहरु अलपत्र परेका हुन ।

जेटस्टारका अनुसार एक समयमा लगभग ४ हजार अस्ट्रेलियन नागरिकहरू प्रभावित भएको पाइएको छ । केही यात्रुहरूले अर्को जेटस्टार उडानमा पुनः बुक गर्न पाँच दिनसम्म कुर्नुपरेको पाइएको छ भने केही यात्रुले अर्को एयरलाइनमा उडानहरू बुक गर्न सयौं डलर खर्च गर्नुपरेको छ । सोमबारसम्म २०० यात्रु वैकल्पिक उडानको पर्खाइमा रहेको जेटस्टारले जनाएको छ । मेलबर्नकी मेगन मुल्डर, उनका पति एड्रियन र दुई बच्चाहरू साथीसँग बिदा मनाउन बाली पुगेकोमा अहिले उडान रद्दको मारमा परेका छन् । केसी इमर्सन र उनकी प्रेमिका किम सेप्टेम्बर १ मा घर आउन लागेका भएपनि अझै बालीमै अड्किएका छन्। यी यात्रुहरु फर्किने तयारी गरेको उडान २ पटक रद्द भएको बताइएको छ । मेलबर्नकी पाउलिन शुक्रबारबाट घर फर्किन प्रयास गरिरहनुभएको छ । हजुरबुबाको निधन भएपछि घर फर्किन लाग्नुभएकी पाउलिन निरास मुद्रामा आइतबार अबेला मात्रै अर्को उडानमार्फत घर फर्किनुभएको छ ।

जेटस्टारसहितका विभिन्न एयरलाइन्सको सोमबारदेखि बिहीबारसम्म अष्ट्रेलियाबाट बालीसम्म २६ उडान तालिका रहेका उडान रद्दको प्रभावको मार धेरैले खेप्नुपर्ने आँकलन गरिएको छ । अष्ट्रेलियाली नागरिकहरु बिदा मनाउन वा पारिवारिक घुमघामका लागि नजिकको गन्तब्यका रुपमा माली जाने गरेपनि दिनहु हुने उडान समस्याका कारण बैकल्पिक गन्तब्य रोज्नुपर्ने बाध्यतामा पर्न थालेका छन् ।

किन अष्ट्रेलियालीहरुको प्रमुख रोजाई बन्दैछ त बाली ?
बाली संसारमै प्रसिद्ध पर्यटकिय गन्तब्य हो । स्वर्गको टापुका रुपमा परिचित बाली एक मनमोहक गन्तब्य पनि हो । अष्ट्रेलियाको धेरै मनपर्ने मध्ये एक भ्रमण गन्तब्य बालीलाई लिने गरिन्छ । एकपटक पुगेपछि यो टापु मन नपराउँनेहरु कोही भेटिदैनन । बाली तथ्याङ्क केन्द्रको तथ्यांकअनुसार विदेशी पर्यटकमध्ये ३० प्रतिशत अष्ट्रेलियाली नागरिकहरु रहेका छन्, अर्थात् हरेक महिना झण्डै ८० हजार अष्ट्रेलियालीहरू बाली पुग्नेगरेका छन् ।

यो टापु विशेष गरी युवाहरुको लागी लत बन्ने गरेको छ। नजिकको दूरी पनि एक प्रमुख कारक हो जसले धेरै अष्ट्रेलिया महादेशका पर्यटकहरूलाई तानिरहेको छ । केही घण्टाको उडानबाट पुगिने आनन्दमय वातावरणका कारण पनि बाली पहिलो रोजाई बन्नेगरेको छ । यस टापुको सौन्दर्य र रात्रि जीवनका विभिन्न आकर्षणहरूमा अष्ट्रेलियालीहरूको जीवन देखाउने रियालिटी शोहरू समेत राखिएका कारण पनि बाली अष्ट्रेलियाका धेरै परिवारहरूको लागि आकर्षक भ्रमण गन्तब्य बन्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ