Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : छुटाउनै नहुने प्रमुख ५ खबरहरु यस्ता छन् !

नेपाल अपडेट : छुटाउनै नहुने प्रमुख ५ खबरहरु यस्ता छन् !


काठमाडौं । सत्ता गठबन्धनमा मिल्न नसकेको भागबण्डाको किचलो, नमुना मतदानको तयारीमा आयोग, पाइपलाईनबाट निगमनलाई ५ अर्बको बचत, बढ्दो क्रममा रहेको रेमिट्यान्स र बेलायती महारानीको निधनमा मनाउन लागिएको तीन दिने शोक बारेका मुख्य खबरहरु पढौँ ।

सत्ता गठबन्धनको निर्णायक बैठक शनिबार
सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक स्थगित भएर शनिबार दिउँसो ४ बजे बस्ने भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण शुक्रबारको बैठक स्थगित भएको हो। सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको छ । अब नेपाली काँग्रेस, नेकपा माओवादी एकिकृत समाजवादीका शिर्ष नेताको बंठकले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।

देशभर नमुना मतदान गराउने तयारीमा आयोग
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको जानकारि दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गर्ने कार्यक्रम राखिएको जानकारि दिनुभयो ।

तीन वर्षमा पाइपलाइनबाट नेपाल आयल निगमलाई ५ अर्ब बचत
२०७६ भदौदेखि सुरु भएको पेट्रोलियम पाइपलाइन परियोजनाबाट हालसम्म कुल २८ लाख ९२ हजार ४ सय २९ किलोलिटर डिजेल आयात भएको छ । ट्यांकरमार्फत हुँदै आएको आयातलाई पाइपलाइनले विस्थापन गर्दा नेपाल आयल निगमले हालसम्म झण्डै ५ अर्ब रुपैयाँ बराबरको बचत गरेको पाइएको छ । पाइपलाइन परियोजना सञ्चालन भएको तीन वर्ष पूरा भएको छ ।

पछिल्लो १४ वर्षमा नेपाल भित्रियो ८४ दशमलब ६६ खर्ब रेमिट्यान्स
नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरूबाट ८४ दशमलब ६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट आएको रेकर्ड बराबरको मात्रै हो । आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा बढी ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०६५÷६६ मा २ खर्ब ९ अर्ब ७ करोड, २०६६÷६७ मा २ खर्ब ३१ करोड ७ करोड, २०६७÷६८ मा २ खर्ब ५३ अर्ब ६ करोड, २०६८÷६९ मा ३ खर्ब ५९ अर्ब ६ करोड, आर्थिक वर्ष २०६९÷७० मा ४ खर्ब ३४ अर्ब ६ करोड, २०७०÷७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१÷७२ मा ६ खर्ब १७ अर्ब, २०७२÷७३ मा ६ खर्ब ६५ अर्ब, २०७३÷७४ मा ६ खर्ब ९५ अर्ब, २०७४÷७५ मा ७ खर्ब ५५ अर्ब, आर्थिक वर्ष २०७५÷७६ मा ८ खर्ब ७९ अर्ब ३ करोड, २०७६÷७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७÷७८ मा ९ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको पाइएको छ ।

बेलायतकी महारानी एलिजावेथको निधनमा तीन दिन शोक मनाइने
सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वर्गीय महारानीको सम्मानमा भदौ २५ गते शनिबारदेखि भदौ २७ गते सोमबारसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । तीन दिन नै नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ