Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल अपडेट : तपाईले छुटाउनु भयो कि पढ्नैपर्ने यी मुख्य खबरहरु !

नेपाल अपडेट : तपाईले छुटाउनु भयो कि पढ्नैपर्ने यी मुख्य खबरहरु !


काठमाडौं । दार्चुलामा बाढी पहिरोको बितण्डा, सत्ता गठबन्धनमा सिट बाँडफाँडको किचलो, ड्रयागन फ्रुटको खेतीले करोड कमाउनेको कथा, बढ्दैगरेको आत्महत्याको कहर र भारतमा हुन लागेको परराष्ट्र सचिव स्तारिय बैंठक बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

दार्चुलामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु
दार्चुलामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । अझै १० जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते पाँच जनाको उद्धार गरिएको छ भने बाढी पहिरोबाट संयौं मानिस प्रभावित भएका छन् । घाइतेको उद्धारमा निरन्तर हेलिकप्टर परिचालन गरिएको छ ।

सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति
सत्तारुढ दलका शीर्ष नेताको निर्णयक भनिएको छलफलले आज पनि सहमति जुटाउन सकेन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन असफल भएसँगै आइतबार फेरी बैठक बस्ने भएको हो । आजको बैठकमा कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गरेका थिए । गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गर्दा सहमतिको साझा बिन्दु पहिल्याउन सकिएको छैन ।

ड्रयागन खेतीमार्फत करोड कमाउने गणेश राई
नेपालमा ड्रयागन फ्रुटको बिरुवा भित्र्याउने व्यक्ति डाक्टर जगन्नाथ राई र व्यावसायिक खेतीमा लाग्ने पहिलो व्यक्ति लोकेन्द्र विष्ट मगर हुन । तर, नेपालमा यो खेतीमा क्रान्ति ल्याउने अर्का व्यक्तिका रुपमा मोरङ सुनवर्षी १ का गणेश राई यतिबेला चर्चामा हुनुहुन्छ । २०७८ साल वैशाखमा तीन विगाहा जग्गामा परम्परागत (लोकल) जातलाई विस्थापित गर्दै अत्यधिक उत्पादन हुने ड्रयागन फ्रुटको सायम रेट (सी) भेराइटी लगाउनुभएका राई लगानी १६ महिनामै उठाइसकेको दाबी गर्नुहुन्छ । बिरुवा लगाएको ४ महिनादेखि फाट्टफुट्ट उत्पादन सुरु भएर अहिलेसम्म ड्रयागन फलमात्रै १३ हजार किलो र ३२ हजार बिरुवा बिक्री गरिसकेको उहाँ बताउँनुहुन्छ । तीन बिगाहामा तयारी गरेर खेती सुरु गर्दा १ करोड बढी खर्च गरेर ३ हजार पोलमा १२ हजार बिरुवा रोपेको बताउने राईले स्थानीय बजारका साथै भाटभटेनी सुपरमार्केटको माग नै धान्न सक्नुभएको छैन ।

दिनमै २० जनाले आत्महत्या गर्छन नेपालमा
पछिल्लो केही वर्षयता नेपालमा आत्महत्या गर्ने किशोर–किशोरीको संख्या बढ्न थालेको पाइएको छ । प्रहरीका् तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा देशभर ७ हजार १४२ जनाले आत्महत्या गरेका थिए। यो वर्ष अर्थात आर्थिक वर्ष २०७८÷७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका छन्। प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई आर्थिक वर्ष २०७८÷७९ मा आत्महत्या गर्ने किशोर—किशोरीको मृत्युदर ११ प्रतिशत रहेको बताउनुहुन्छ। जसमध्ये ७ प्रतिशत किशोरी र ४ प्रतिशत किशोर रहेका छन्। आत्महत्याको प्रमुख कारण मानसिक समस्या रहेको र नेपालमा हरेक दिन २० जनाले आत्महत्या गर्ने गरको मनोरोग विशेषज्ञ डा.वासुदेव कार्कीले जानकारि दिनुभएको छ । आत्महत्या गर्ने किशोर–किशोरीको संख्या सबैभन्दा धेरै मधेस प्रदेश, त्यसपछि लुम्बिनी प्रदेश र प्रदेश १ मा रहेको पाइएको छ ।

मंगलबार नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक आगामी मंगलबार नयाँ दिल्लीमा बस्ने तय भएको छ । बैठकमा सहभागी हुन भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव भरतराज पौड्याल दिल्ली जानुहुनेछ । दुई देशका परराष्ट्र सचिवबीच हुने बैठकमा दुई देशबाट प्रधानमन्त्रीस्तरमा सम्पन्न उच्चस्तरीय भ्रमणका क्रममा अघि बढाइएका र घोषणा गरिएका काममा भइरहेको प्रगतिका विषयमा समीक्षा हुने बताइएको छ । परराष्ट्र सचिवबीच करिब दुई वर्षपछि बैठक हुन लागेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ