Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिजिट भिसामा बिदेश जाँदै हुनुहुन्छ ? यस्तो छ फेरिएको नयाँ नियम !

भिजिट भिसामा बिदेश जाँदै हुनुहुन्छ ? यस्तो छ फेरिएको नयाँ नियम !


काठमाडौं । तपाई भिजिट भिसामा विदेश घुम्न जाने सोचमा हुनुहुन्छ ? अब टिकट काट्नुअघि नै अध्यागमन विभागबाट अनुमति लिन पर्ने भएको छ । अब गत साउन अन्तिममा स्विकृत पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ सबैले परिपालना गर्नुपर्ने भएको हो ।

कार्यविधिले गरेका व्यवस्थाहरू भने गृह मन्त्रालयबाट कार्यविधि स्वीकृति भएको ६० दिन अर्थात् आउँदो कात्तिक महिनादेखि लागू हुनेछन् । पहिलो चरणमा खाडीका देशहरू, मलेसिया, अफ्रिकी देशहरू तथा दक्षिण अमेरिकी देशमा पर्यटक भिसामा जाने नेपालीले यो व्यवस्थाको परिपालना गर्नुपर्नेछ । संशोधित कार्यविधिले सरकारी कर्मचारी, जनप्रतिनिधिदेखि विभिन्न क्षेत्र तथा पेसा व्यवसायमा आबद्धहरू र अन्य व्यक्तिहरूका लागि विभिन्न व्यवस्था गरेको छ । कार्यविधिले तोकेका देशमा पर्यटक भिसामा जानेहरूले जहाजको टिकट काट्नुअघि नै अध्यागमन विभागबाट स्वीकृति लिनुपर्नेछ ।

पूर्व स्वीकृति क–कस्ले लिनुपर्छ ?
पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र उनीहरूको परिवार, विदेशमा रहेका आफन्त भेट्न जाने आफन्तका परिवारका सदस्य, नेपालमा आयात निर्यात गर्ने व्यावसायिक संस्थाका सञ्चालक र नेपालको कानुन अनुसार स्थापित सङ्घ संस्थाका सञ्चालक । यस्तै प्राज्ञिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी, शिक्षक र व्यवस्थापक, दक्ष रोजगार मूलक अन्तरवार्ता, व्यावसायिक तालिम तथा अध्ययन भ्रमण, व्यावसायिक प्रदर्शनी, खेलकुद, फिल्म तथा गीत सुटिङ तथा कला, सांस्कृतिक कार्यक्रममा जाने व्यक्तिहरू ।

पूर्व स्वीकृति लिन नपर्नेहरु यी हुन
सरकारी कामको सिलसिलामा जाने नेपाल सरकारका पूर्ण वा आंशिक स्वामित्वमा रहेका अर्धसरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका केन्द्रीय पदाधिकारी, सरकारी कर्मचारी र तिनका परिवारका सदस्य, सूचना सङ्कलन तथा व्यवसाय प्रवर्धनका लागि जाने पत्रकार तथा सञ्चार गृहका सञ्चालक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका व्यक्ति, ज्येष्ठ नागरिकहरु । यस्तै उच्च शिक्षा हासिल गरेका र विगतमा विदेश बसेका व्यक्ति र तिनका परिवार, विभिन्न पेसागत सङ्घ तथा महासङ्घ प्रतिनिधि, म्यानपावर व्यवसायी, विदेशमा रहेका आफन्त बिरामी परेर कुरुवा जानेहरू र आफन्तको मृत्यु भएपश्चात जान लागेका आफन्तहरू ।

नेपालबाट बिदेश जानेक्रममा विमानस्थलमा कार्यविधिले उल्लेख गरेको र प्रचलित कानुनले तोकेका कागजात भने अनिवार्य गरिएको छ । नियमित यात्रु अर्थात् उच्च शिक्षा हासिल गरेका र विगतमा लामो समय विदेश बसेका व्यक्तिहरूले भिजिट भिसामा जानका लागि भारत, मलेसिया र खाडीका देश बाहेक कम्तीमा अन्य दुई देश घुमेको अभिलेख पेस गर्नु पर्छ । यस्तै उच्च शिक्षा हासिल गरेकाको हकमा प्राविधिक विषय भएमा कम्तीमा डिप्लोमा तह र अन्य विषयको हकमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र हुनुपर्छ । विगतका दिनमा विदेश बसेका व्यक्तिको हकमा भने भारत, मलेसिया र खाडीका देश बाहेक अन्य देशमा कम्तीमा दुई वर्ष बसेको देखिन पर्छ । साथमा दुईतर्फी हवाई टिकट र गन्तव्य देशमा होटेलको वेबसाइटमा खुल्ने गरी होटेल बुक गरेको प्रमाण वा गन्तव्य देशमा भएको आफन्तको नम्बरसहितको विवरण । पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले भने परिवारका सदस्यबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात, कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात हुनुपर्छ भने अनलाइन प्रणालीमा पूर्व स्वीकृतिका लागि निवेदन दिँदा बैङ्क खातामा २ लाख रुपैयाँ भएको प्रमाण पेस गर्नुपर्छ । आम्दानीको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहलाई कर तिरेको प्रमाण पनि पेस गर्नुपर्छ भने साथमा दुईतर्फी हवाई टिकट र गन्तव्य देशमा होटेलको वेबसाइटमा खुल्ने गरी होटेल बुक गरेको प्रमाण वा गन्तव्य देशमा भएको आफन्तको नम्बरसहितको विवरण उपलब्ध हुनुपर्छ ।

विदेशमा रहेका आफन्त भेट्न जाने परिवारका सदस्यले परिवारका सदस्यबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात, गन्तव्य देशमा रहेको आफ्नो मानिसको राहदानी, भिसा र आवास अनुमति पत्रको फोटोकपी, विदेशमा रहेको आफन्तले गरेको प्रयोजन पत्र, र आफन्त कार्यरत रहेको कम्पनी वा निकायले उ कार्यरत रहेको ब्यहोराको कम्तीमा १५ दिन भित्रको पत्र पनि आवश्यक पर्छ । दुईतर्फी हवाई टिकट र गन्तव्य देशमा होटेलको वेबसाइटमा खुल्ने गरी होटेल बुक गरेको प्रमाण वा गन्तव्य देशमा भएको आफन्तको नम्बरसहितको विवरण उपलब्ध हुनुपर्छ । यसका साथै आफन्त बाहेक अन्य नातेदारलाई भेट्न जानु पर्ने भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोगले गन्तव्य देशमा रहेका नेपाली नागरिकको परिवारलाई भेट्न आउन दिन गरेको सिफारिससमेत आवश्यक पर्छ ।

अध्यागमन विभागबाट पूर्व स्वीकृति प्रदान गर्नका लागि एउटा छुट्टै कार्यदल रहने र कार्यदलले प्राप्त भएको निवेदनको पाँच दिन भित्र निर्णय गरी त्यसको जानकारी सम्बन्धित व्यक्तिले उपलब्ध गराएको इमेल वा मोबाइल नम्बरमा दिइने बताइएको छ । भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने, गन्तव्य देशमा पुगेर अलपत्र पर्ने क्रम बढेपछि विभिन्न सर्तसहितको कार्यविधि ल्याइएको गृह मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले वैदेशिक रोजगारीमा जानेहरू त्यही प्रक्रियामा जाउन र भिजिट भिसामा जानेहरू घुमेर देश फर्किउन भन्ने उद्देश्यले नयाँ कार्यविधि ल्याइएको जानकारि दिनुभएको छ ।

सरकारले नयाँ कार्यबिधि ल्याएसँगै बिना रोकावट घुम्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै आलोचना भइरहेको छ । तर सरकारले भिजिट भिसाका नाममा भैरहेको बिकृति रोक्न कार्यबिधि ल्याएको भन्दै विशुद्ध घुम्ने उद्देश्यले विदेश जानेहरुका लागि कुनै समस्या नहुने जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ