Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबलात्कार ओरोपी क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजायको मागदाबी !

बलात्कार ओरोपी क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजायको मागदाबी !


काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्धा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुलुकी अपराध संहिताअनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको भएपनि तिहारको बिदाका कारण मुद्दा दर्ता हुन सकेको थिएन । प्रहरीले पीडितलगायतको बयान, होटलका सीसीटीभी फुटेज, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ । स्वदेश फर्किने क्रममा गत असोज २० गते क्रिकेटर सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । मुद्दा दर्ता भएसँगै आजै अदालतमा उपस्थित गराइएको छ । तीन पटकसम्म म्याद थप गरी प्रहरीले सन्दीपविरुद्ध अनुसन्धान गरेको थियो । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । यस्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको अभियोग लागेको छ ।

सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको दाबीसहित कानुनी लडाई लड्ने बताउँदै आएका छन् । आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको दाबी गरेपनि पीडितको उजूरीका आधारमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ