Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा सरकारी अनुगमन तिब्र, ६ सय २३ कामदारले पाउनेभए ४ लाख डलर

ब्रिजबेनमा सरकारी अनुगमन तिब्र, ६ सय २३ कामदारले पाउनेभए ४ लाख डलर

तपाई ठगिदै हुनुहुन्छ, यसरी खोज्नुहोस कानुनी अधिकार !


ब्रिजबेन । फेयरवर्क अम्बुडस्म्यानले कामदारमाथी ठगी गर्ने, भुक्तानीको बिजविजक र रेकर्ड लुकाउने ब्रिजबेन क्षेत्रका व्यवसायीविरुद्धको कारबाहीलाई तिब्रता दिएको छ । फेयरवर्क अम्बुडस्म्यानका निरीक्षकहरुले गरेको अनुगमनबाट ब्रिजबेनको खाद्य क्षेत्रमा कार्यरत ६ सय २३ जना कामदारको ४ लाख ४ हजार ७२१ पारिश्रमिक फिर्ता दिलाइएको हो ।

फेयर वर्क इन्स्पेक्टरहरूले ब्रिस्बेन सीबीडी, साउथ ब्रिस्बेन, फोर्टिट्यूड भ्याली र सन्नीबैंक सहित उपनगर क्षेत्रका ७७ व्यवसायहरूको अनुसन्धान गरेका थिए । अनुगमन गरिएका मध्ये ७५ प्रतिशत व्यवसायले कार्यस्थल कानुन उल्लङ्घन गरेको पाइएको छ । अनुगमन गरिएका मध्ये ५३ वटा व्यवसायले कामदारहरूलाई कम पारिश्रमिक दिएको २६ व्यवसायीले भुक्तानीको बिल लगायतका रेकर्डहरु नराखेको पाइएको छ । यी बाहेक सामान्य कानुन उल्लङ्घनमा संलग्न व्यवसायमाथी समेत अनुगमन गरिएको छ । ४० व्यवसायहरूले सेवा सुविधा भुक्तानीमा आलटाल गरेको, ३७ व्यवसायीले न्यूनतम प्रतिघण्टा तलब दरको नियमन पूर्ण रुपमा पालना नगरेको र १९ व्यवसायीले वेतन पर्ची कानूनहरूको उल्लङ्घन गरेको पाइएको छ ।

फेयर वर्क ओम्बड्सम्यान सान्ड्रा पार्करले सरकारी निरीक्षण जारी रहने भन्दै कानुन कार्यान्वयनमा सबै व्यवसायीलाई गम्भिर बन्न आग्रह गर्नुभएको छ । ब्रिस्बेनको वेस्ट एन्ड र मेलबर्न, सिड्नी, गोल्ड कोस्ट, पर्थ, एडिलेड, डार्विन, होबर्ट र लान्सेस्टनमा खाद्य क्षेत्रहरूलाई लक्षित गर्दै गरिएका अनुगमनबाट कामदारहरूका लागि २ मिलियन भन्दा बढी भुक्तानी दिलाइएको बताइएको छ । ब्रिस्बेनका फास्ट फूड, रेस्टुरेन्ट र क्याफे क्षेत्रमा समेत अनुगमनलाई तिब्रता दिइएको छ । विद्यार्थी भिसामा रहेका धेरै युवा कामदार र अस्थायी भिसामा रहेकाहरुलाई रोजगारी दिने व्यवसायीले न्यूनतम तलब, सेवासुविधा नदिएको अनुगमनबाट खुलेको पार्करले जानकारी दिनुभएको छ । आफ्नो तलब वा सुविधामा ठगिएको महशुस भएमा फेयरवर्क अम्बुडस्म्यानमा निशुल्क गुनासो गर्न र सहयोग लिन आह्वान गरिएको छ ।

यसरी पारिश्रमिकमा ठगिने कामदारमा अष्ट्रेलियाका स्थानीय भन्दा अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भीसा बाहकहरु बढी रहेका छन् । नेपालीसहित विदेशी कामदारलाई कम तलब र सेवासुविधा दिने व्यवसायी र कानुन उल्लंघन गर्नेहरुमाथीको अनुगमन र कारबाही तिब्र पारिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ