Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली क्रिकेटर लामिछाने पुर्पक्षका लागि थुनामा, अदालतको पूर्ण फैसलाको प्रतिक्षा !

नेपाली क्रिकेटर लामिछाने पुर्पक्षका लागि थुनामा, अदालतको पूर्ण फैसलाको प्रतिक्षा !


काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले नावालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेश अनुसार लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारि दिनुभयो । मंगलबारदेखि भएको थुनछेक बहसका क्रममा लामिछानेले जाहेरीकर्ताले ‘अरु कसैको उक्साहटमा आरोप लगाएको’ जिकिर प्रस्तुत गरेका थिए । लामिछाने पक्षका वकिलहरुले बलात्कार आरोपभन्दा पनि पीडित नाबालिग हुन् वा होइनन् भन्ने विषयमा बहस गरेका थिए । सन्दीपका वकिलहरुले पीडितले जन्ममिति सच्याएको र उनी नाबालिका नभएको जिकिर गर्दा तर सरकारी वकिलहरुले उमेरको कुरा सहायक विषय भएको बताउँदै मुख्य कुरा बलात्कार भएको प्रमाणहरुले स्थापित हुने दाबी गरेका थिए ।

लामिछाने स्वयम्ले बयानमा पीडित भनिएकी किशोरीसँग भक्तपुर घुम्न गएर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बसेको स्वीकारेका छन् । होटलको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजबाट पनि यो पुष्टि भएको बताउँदै सरकारी वकिलले बलात्कार पुष्टि हुने दाबी गरेको थियो । लामिछानेले कोठामा सँगै बसे पनि कुर्सीमा निदाएको र बलात्कार नगरेको दाबी गर्दा पीडितले राति दुई पटक आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको, दोस्रो पटक रुँदै कराउन थालेपछि लामिछानेले कुटपिट पनि गरेको बयान दिएकी छिन् । लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा जमैका रहेका लामिछाने एक महिनासम्म सम्पर्कविहीन रहे । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएपछि २० असोजमा नेपाल आउँदैगर्दा लामिछाने विमानस्थलबाटै पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौंले १४ कात्तिकमा करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ