Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको अर्थतन्त्रमा आन्तरिक दबाब र मुद्रास्फीतिको मार, यस्तो हुनसक्छ जनजिवनमा प्रभाव !

अष्ट्रेलियाको अर्थतन्त्रमा आन्तरिक दबाब र मुद्रास्फीतिको मार, यस्तो हुनसक्छ जनजिवनमा प्रभाव !


ब्रिजबेन । मुद्रास्फीति नियन्त्रणमा राख्न नसक्दा अष्ट्रेलियामा आागमी केही वर्षसम्म महंगीको मार खेप्नुपर्ने भएको छ । रिजर्व बैंक अफ अष्ट्रेलियाले मुद्रास्फीतिको नकारात्मक प्रभाव र बेरोजगारी बढ्न थालेपछि वास्तविक ज्यालामा गिरावट आउने अनि मुल्य वृद्धि समेत उच्चविन्दुमा पुग्ने प्रक्षेपण गरेको हो ।

प्रत्येक तीन महिनामा जारी हुने मौद्रिक नीतिसम्बन्धी आफ्नो पछिल्लो वक्तव्य जारी गर्दै रिजर्व बैंक अफ अष्ट्रेलिया (आर.बी.ए.) का गभर्नर फिलिप लोवेले मुद्रास्फीति पूर्वानुमानमा ७.८ देखि ८ प्रतिशतको छोटो अवधिको वृद्धि ब्यहोर्नुपर्ने बताउनुभएको छ । अन्य बैंकले पनि मुद्रास्फीति पहिले सोचेको भन्दा लामो समयसम्म रहने भविष्यवाणी गरेका छन् । अघिल्लो प्रक्षेपणमा उपभोक्ता मूल्य वृद्धि डिसेम्बर २०२४ सम्ममा २ देखि ३ प्रतिशत रहने लक्ष्य राखिएको थियो । रिजर्व बैंक अफ अष्ट्रेलिया अब वार्षिक मूल्य वृद्धि ३.२ प्रतिशतबाट उकालो लाग्ने आँकलन गरेको छ । आर.बी.ए. ले मुद्रास्फीति २०२५ सम्ममा आफ्नो लक्ष्य अनुसारको दायरामा फर्किने आशा गरेको छ ।

मुद्रास्फीतिको असर स्वरुप कामदारहरूको ज्याला वृद्धिमा भने २०२४ को अन्त्यसम्म लगाम लाग्ने बताइएको छ । लामो समयसम्म अर्थतन्त्रमा आन्तरिक दबाब र मुद्रास्फीति उच्च रहदा श्रम बजारका कामदारहरूसँगै व्यवसायीहरु समेत दबाबमा पर्नेछन् । अष्ट्रेलियाका दुई ठूला सहरहरूमा मुद्रास्फीतिको दबाब थप बढ्ने बताइएको छ । खुद्रा माग उच्च रहदा घरजग्गा अर्थात नयाँ घरहरूको बिक्री घटेको छ । मुद्रस्फीतिकै कारण जीवनयापनको आवश्यक लागत र धितो दरहरू निरन्तर बढ्दै गएको पाइएको छ ।

विश्व अर्थतन्त्र नै सुस्त भएको असर अष्ट्रेलियाको आर्थिक बजारमा समेत परेको आँकलन गरिएको छ । अर्थतन्त्रमा परेको दबाब अर्को वर्ष र त्यसपछिको वर्ष पनि कायम रहने भएकाले अष्ट्रेलियाली घरपरिवार र व्यवसायका लागि वर्ष २०२२ भन्दा धेरै कठिन हुने प्रक्षेपण रिजर्व बैंक अफ अष्ट्रेलियाले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ