Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालमा प्रदेश र संघीय सांसद छान्न मतदान हुँदै, एक करोड ७९ लाख बढी मतदाता सहभागी !

नेपालमा प्रदेश र संघीय सांसद छान्न मतदान हुँदै, एक करोड ७९ लाख बढी मतदाता सहभागी !


काठमाडौं । आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । नेपाली समय अनुसार बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको हो । साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् । निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ दुई हजार ४१२ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ । प्रतिनिधसभामा प्रत्यक्षतर्फ १६५ जना पहिलो हुने निर्वाचित हुनेछन् । समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुनेछन् । प्रदेशसभातर्फ प्रत्यक्षतर्फ तीन हजार २२४ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ७०८ जना उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ ।

प्रदेशसभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कुल पाँच हजार ६३६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार ९०७ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ । प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा गरी ४९५ सिटका लागि पाँच हजार ६३६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र देखाएर मतदान गर्न सक्नेछन् । मतदाता परिचयपत्र नभएका तर नाम सूचीकृत भएका मतदाताले अन्य सरकारी कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकको स्थायित्व र विकासका लागि असल जनप्रतिनिधि चुन्न सबै मतदातालाई आह्वान गर्नुभएको छ । आयोगले ७० प्रतिशत भन्दा बढी मतदान हुने विश्वास व्यक्त गरेको छ । मतगणना आज रातीबाटै सुरु हुने र बढीमा ४ दिनमा सबै नतिजा आउने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ