Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकस्तो बन्ला नेपालको संसदिय समिकरण, माओवादी कमजोर बन्दा क–कस्लाई फाइदा ?

कस्तो बन्ला नेपालको संसदिय समिकरण, माओवादी कमजोर बन्दा क–कस्लाई फाइदा ?


काठमाडौं । २०६२/६३ मा शान्ति प्रक्रियामा आएदेखी अहिलेसम्म सत्ता राजनीतिमा निर्णायक हुँदैआएको माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो निर्वाचनबाट निर्णायक हैसियत गुमाउने देखिएको छ ।

करिब २१ वर्षदेखी राजनीतिमा कहिले मूल शक्ति त कहिले निर्णायक शक्तिका रूपमा रहँदै आएको माओवादी केन्द्रलाई यसपटक पनि तेस्रो, तर निर्णायक शक्ति बनाउने चाहाना राखेर अध्यक्ष प्रचण्ड गठबन्धनसहित चुनावी मैदानमा होमिनुभएको थियो । यो कुटिल राजनीतिमा सञ्चारकर्म छाडेर एकाएक बैकल्पिक शक्ति बन्छौँ, बनाउँछौँ भन्दै घण्टी चिह्न लिएर चुनावी मैदानमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने बाधक बन्ने देखिएका छन् । प्रत्यक्षसहित समानुपातिक मतमा समेत आक्रामक नतिजा निकाल्दा माओवादी केन्द्रले निर्णायक हैसियत गुमाउने प्रष्ट चित्र देखिदैछ । यद्यपी अन्तिम नतिजाले यसमा केही प्रभाव भने पार्नसक्छ । अहिलेसम्म प्राप्त अन्तिम नतिजा र अग्रताले माओवादी केन्द्र प्रत्यक्षतर्फ तेस्रो र समानुपातिकतर्फ चौथो स्थानमा देखिएको छ । अहिलेसम्मको प्रत्यक्ष तर्फको मत परिणाम र समानुपातिकको मत रुझानले आगामी संसदमा नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित जस्तै छ । यसपछि एमाले दोश्रो, माओवादी केन्द्र तेस्रो र रास्वपा चौथो स्थानमा हुन्छन ।

बिहिबार विहान यो समाचार तयार पार्दासम्मको नतिजाका आधारमा नेपाली कांग्रेसले २५ सिट जितेर ३३ स्थानमा अग्रता लिइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) १४ सिट जितेर २८ स्थानमा अग्रता लिइरहेको छ । ७ सिट जितेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२ स्थानमा अग्रता बनाइरहेको छ । ६ स्थान जितेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ४ स्थानमा अग्रता लिदैगरेको अवस्थामा छ । ५ स्थानको सिट सुरक्षित गरेको रवी लामिछाने नेतृत्वको रास्वपा पार्टीले ४ स्थानमा जित उन्मुख अग्रता बनाएको छ । २ स्थानमा जीत निकालेको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले समेत ३ स्थानमा अग्रता लिएको छ । यी दल बाहेकका दल र स्वतन्त्र सांसदहरुले संघीय संसदमा राष्ट्रिय दलको मान्यता नपाएपनि सरकार गठनको अंकगणितमा भुमिका खेल्न सक्नेछन् ।

सत्ता गठबन्धनको बलमा सरकार बन्ने अवस्था नआएमा एमालेसँग राप्रपा, रास्वपा, जसपासहितका अरु दलबाट जित्ने सांसद समेत मिलेर सरकार बनाउने परिस्थिति निर्माण हुनसक्छ । यो अवस्थामा ओलीकै नेतृत्वमा सरकार बन्ने वा राप्रपा अध्यक्ष लिङदेन वा रवीलाई एमालेले साथ दिने प्रष्ट भैसकेको छैन । बाँकी परिणामले बाम लोकतान्त्रिक गठबन्धनले नै बहुमत अर्थात १३८ नघाएमा गठबन्धनकै निरन्तरता स्वरुप सरकार बन्नसक्छ । यो अवस्थामा सरकारको नेतृत्व शेरबहादुर देउवा र प्रचण्डको हातमा जान्छ वा गगन थापा जस्ता युवाले हस्तक्षप गर्नेछन, अहिले नै चित्र प्रष्ट भएको छैन ।

एउटा जित र ४ स्थानमा अग्रता लिएको उपेन्द्र यादव नेतृत्वको जसपा, एक जित र एक अग्रताको स्थितिमा रहेको नागरिक उन्मुक्ति पार्टी, एक सिट जितेको सिके राउत नेतृत्वको जनमत पार्टी, एक जितसहित २ अग्रता लिएको महन्थ ठाकुर नेतृत्वको लोसपा र एक जित र करिब ६ स्थानमा जित उन्मुख देखिएका स्वतन्त्र सांसदहरु समेत अहिलेको संसदीय समिकरणमा प्रभाव राख्नसक्ने अवस्थामा आउनसक्नेछन । ठूला दलको आकार खुम्चिएको फाइदा यस्ता दलिया र स्वतन्त्रले लिनसक्छन् ।

समानुपातिक तर्फको प्रारम्भिक मत परिणामअनुसार एमाले ४ लाख ६९ हजार २२५ मतसहित पहिलो स्थानमा देखिदा नेपाली काँग्रेसले ४ लाख ३२ हजार १०८ मतसहित दोश्रो स्थान बनाएको छ । तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ४१ हजार ६८९ समानुपातिक मत पाएको छ । माओवादी केन्द्रले चौथो स्थानमा रहँदै २ लाख ७७७ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ स्थानमा रहेर १ लाख २६ हजार ७८२ मतसहित थ्रेस होल्ड कटाउने रेसमा छ । जनता समाजवादी पार्टी, नेपालले ५८ हजार ३८० मत पाएपनि अहिलेसम्मको परिणामले ५ दल बाहेक राष्ट्रिय दलको रुपमा उभिनसक्ने आधार देखिएको छैन । प्रत्यक्षतर्फको सिट खुम्चिनु र समानुपातिकतर्फ रास्वपाले तेश्रो स्थानमा रहेर भारी मत ल्याउनुले समेत माओवादीको निर्णायक शक्ति बन्ने सम्भावनालाई झनै कमजोर बनाइरहेको छ । समानुपातिकतर्फ धेरै मत गन्न बाँकी छ । माओवादीको समानुपातिक मत आउने पहाडी क्षेत्रको मत गणना र मंसिर ४ मा निर्वाचन हुन नसकेर रोकिएका बाँकी स्थानको मतपरिणामले सत्ता गठबन्धन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीको सिट बढाएको अवस्थामा बाहेक अहिलेको अवस्थाले सबैभन्दा कमजोर माओवादी केन्द्रलाई बनाएको छ । एमालेबाट बाहिरिएर माधवकुमार नेपालले गठन गरेको एकिकृत समाजवादी त राष्ट्रिय दलको मान्यता पाउने संघर्षमा छ । सत्ता गठबन्धन दलहरूको मात्रै अंकगणितले सरकार बन्ने अवस्था नदेखिएसँगै माओवादीले निर्णायक हैसियत गुमाउने आँकलन हुन थालेको छ ।

विगतमा माओवादी र प्रचण्डको भुमिका
२०६२/६३ मा शान्ति प्रक्रियामा आएलगत्तै बनेको अन्तरिम व्यवस्थापिकामा माओवादी, एमालेकै हैसियतमा संसदमा थियो । जतिबेला नेपाली कांग्रेसले ८५ सिट लिँदा एमाले तथा माओवादीले समान ८३–८३ सिट लिएका थिए । सहमतिको सरकार बनेकाले यतिबेला संसदीय अंकगणितको खासै महत्व देखिएन् । २०६४ को पहिलो संविधानसभामा माओवादी सबभन्दा ठूलो दल बन्यो । तर संसदीय राजनीतिको कमजोर अभ्यासले माओवादीले भूमिका देखाउन सकेन । यद्यपी निर्णायक भुमिका भने खेलिरह्यो । २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा माओवादी एकैपटक घटेर ८३ सिटसहित तेस्रो शक्ति बन्यो । कांग्रेस २०६ सिटसहित पहिलो र एमाले १८४ सिटसहित दोस्रो शक्ति बनेपनि माओवादीको उपस्थिति विना कांग्रेस एमालेले अन्य दलसँग मिलेर केही गर्न सक्ने अवस्था देखिएन । संविधान निर्माणपछि २०७४ सालमा सम्पन्न पहिलो आम निर्वाचनमा पनि माओवादी तेस्रो तर निर्णायक शक्ति बन्यो । संसदको २७५ सिटमध्ये एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ गरी कुल १२१ सिट ल्यायो । एमालेसँगै गठबन्धन गरेको माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट गरी ६१ सिट ल्याएको थियो । यी दुई दलसँगमात्रैसत्ता समीकरणका लागि आवश्यक १३८ सिट पुग्थ्यो । यो समिकरणले एमाले र माओवादीलाई नेकपाका नाममा एक बनाएपनि लामो समय टिक्न सकेन । ओली बिरुद्धको मोर्चा बनाउनसमेत माओवादी केन्द्र र अध्यक्ष प्रचण्डले संसदीय गणितका हिसाबमा निर्णायक भुमिका खेले ।

माओवादी जोसँग गठबन्धन गरे पनि एकपछि अर्को थप कमजोर बन्ने क्रमले निरन्तरता पाउँदा पहिलो पटक चुनावमा होमिएको रास्वपासँगै राप्रपाले समेत संसदको अंकगणितमा भूमिका पाउने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ