Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो सफलता, रवी लामिछानेसँगै अरु क–कस्को छ हात ?

पहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो सफलता, रवी लामिछानेसँगै अरु क–कस्को छ हात ?


काठमाडौं । चुनावको चर्चा चल्दैगर्दा अर्थात गत असार ७ गते सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवी लामिछाने र उनी सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा अहिले देशैभर चुलिएको छ । संसदीय राजनीतिको चुनावी मैदानमा होमिएको पहिलो प्रयासमै सभापति लामिछाने प्रतिनिधि सभातर्फ चितवन २ बाट विजयी भएका छन् ।

लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याउँदा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएर दोश्रो बनेका छन् । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी हुँदा २०७४ का विजयी सांसद समेत रहेका एमाले उम्मेदवार कृष्णभक्त पखरेल १४ हजार ६ सय ४९ मत ल्याएर तेश्रो बनेका छन् । रवी मात्रै नभएर उनको लोकप्रियता र सञ्चारकर्मको चर्चाको बलमा उनका सहयात्री धेरैले सांसद छिर्ने अवशर पाएका छन् ।

काठमाडौं २ बाट सोबिता गौतमले १५ हजार २२९ मतसहित एमालेका मणिराम फुयाललाई पराजित गरेकि छिन । काठमाडौं ८ मा १० हजार १०५ मत ल्याएर विराजभक्त श्रेष्ठले हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई पराजित गरेका छन् । काठमाडौं ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी हुँदा एमालेका श्यामकुमार घिमिरे पराजित भएका छन् । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै शिशिर खनाल १४ हजार २०४ मत ल्याएर विजयी बन्दा एमालेका सर्वेन्द्र खनाल पराजित भएका छन् । ललितपुर क्षेत्र नं ३ मा बहालवाला मन्त्री माओवादी केन्द्रकी नेतृ पम्फा भुषाल र एमालेका अमृत खड्कालाई पराजित गर्दै डा. तोसिमा कार्की विजयी भएकी छिन । तोसिमाले ३१ हजार १ सय ३६ मत ल्याउदा नेकपा एमालेका अमृत खड्का १२ हजार ९६३ मत पाएर पराजित भएका छन् । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३४ हजार १ सय ८९ मतसहित विजयी हुँदा नेकपा एमालेका सुरेन्द्र पाण्डे २६ हजार ६ सय ८ मत ल्याएर पराजित भएका छन् ।

यी ७ वटा जित मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टीकै गोमा तामाङले सुनसरी १ मा एमाले समेतको समर्थन रहेका जनता समाजवादी पार्टीका अशोककुमार राई र माओवादी केन्द्रका मुक्‍सामहाङ सुब्‍बालाई पछि पारेर अग्रता लिइरहेकी छिन । यता, समानुपातिकतर्फ समेत रवीको क्रेजका कारण यो समाचार तयार पार्दाको विवरणका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख मत नघाएको छ । यहि रफ्तारमा मत आएमा समानुपातिक समेत जोड्दा २० सिट हाराहारिको हैसियतमा संसद छिर्नेछ ।

कसरी देशभर छाउँदैछ त रवी र राष्ट्रिय स्वतन्त्र पार्टीको लहर ?
सञ्चारकर्ममा रहँदा गरेको खबरदारी, समस्यामा परेकाहरुलाई दिएको अभिभावकत्व, कुनै समस्यामा फसेकाहरुलाई उद्धार लगायतका सहयोगमा पत्रकारिताको धर्मभन्दा माथी उठेर गरेको सत्कर्मको प्रतिफलका रुपमा यो निर्वाचनलाई हेरिएको छ । २०६९ चैतमा न्यूज ट्वान्टी फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व रेकर्ड कायम गरेसँगै रवी लामिछानेको चर्चा सुरु भएको थियो । यसपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहकार्यमा सिधा कुरा प्रधानमन्त्रीसँग कार्याक्रम नेपाल टेलिभिजनमा चलाउने मौकासँगै आफूलाई परिचित गराउने मौका पाए । प्रधानमन्त्रीबाट ओली हटेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै लामिछाने प्रस्तोताबाट निकालिए । यसपछि वेलकम एडभरटाइजिङको पहलमा न्यूज ट्वान्टी फोर टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाउन थाले । आज भन्दा ७ वर्षअघि अर्थात २०७३ सालमा थालिएको यहि कार्यक्रमको बलमा रवीले २०७९ मा आफू प्रबन्ध निर्देशक बनेर नेपाली टेलिभिजन आकासमा ग्यालेक्सी फोरके टिभी मात्रै जन्माएनन सञ्चारकर्मको बाटो बदलेर राजनीतिमा होमिए । सञ्चारकर्मकै क्रममा कतिपय बिवाद उब्जिएका भएपनि ती सबै अहिले सेलाएका छन् । २०७४ सालमा अमेरिका हानिएका लामिछाने पारिवारिक किचलो लगायतका कारण १० वर्षपछि अर्थात २०७४ असोजमा नेपाल फर्किएका थिए । अमेरिकी नागरिकता लिएका लामिछानेले विदेशी नागरिकता त्यागेपनि नयाँ नलिएको र पुरानै नागरिकता प्रयोग गरेको भन्ने विवाद अहिलेसम्म पनि यथावत छ । तर रवी लामिछाने ७ वर्षे टेलिभिजन कार्यक्रम र कार्यक्रममा उठाइएका मुद्धाका कारण यतिबेला नेपालका एक सफल राजनीतिज्ञ बन्नेगरि उदाएका छन् ।

यो भयो रवी लामिछानेले बनाएको आफ्नै क्रेज । यो बाहेक नेपालमा स्थापित ठूला दल र दलका नेताहरुले बोल्ने एकअर्काविरुद्धका तुच्छ गाली, बेतुकका बोली, जनतासँग गरेका प्रतिबद्धता पुरा गर्न गराउनमा हुँदैआएको बेवास्ता । सत्ता र स्वार्थका लागि गर्दै आएको खिचातानीको नांगो नाचले रवीको छवीलाई थप बढाएको छ । राजनीतिक दल, दलका शिर्ष नेताहरुको स्वार्थी चरित्र र प्रबृत्तिसँगै झुटको राजनीतिक संस्कारले समेत बैकल्पिक राजनीतिक शक्तिका रुपमा रवीको राष्ट्रिय स्वतन्त्र पार्टी उदाउने संकेत देखिएको छ ।

मतदाताले दिएको अभिमत, ठूला दल र नेतासँगै स्वयम रवीलाई समेत चुनौँती !
अहिलेको मतदानको आँकलन गर्दा मतदाताले कुनैपनि दललाई सहि विकल्पका रुपमा स्विकार्न सकेको देखिदैन । ठूला स्थापित दल र नेताहरुको प्रबृत्ति सुधार्न खबरदारी गरेका मतदाताले अहिले उदायकाहरुलाई समेत परिक्षण गरिरहेका छन् । राजनीति भन्दा बाहिर रहेर गरेका गाली, आलोचना र गुनासो संसदमा पुगेपछि कसरी बुलन्द हुन्छन ? प्रतिबद्धता अनुसार प्रस्तुत हुन्छन वा पुरानै प्रबृत्तिको उजागर हुन्छ, मतदातासँगै हुन्छन कि बिर्सिन्छन ? यो परिक्षामा मतदाताले सबैलाई उभ्याएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ