Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वकपका दुई पूर्व विजेताको भेट क्वाटरफाइनलमै, शनिबार भिड्दै फ्रान्स र इंग्ल्याण्ड !

विश्वकपका दुई पूर्व विजेताको भेट क्वाटरफाइनलमै, शनिबार भिड्दै फ्रान्स र इंग्ल्याण्ड !


काठमाडौं, एजेन्सी । सेनेगलमाथि प्रभावशाली ३–० को जितसँगै इंग्ल्याण्डले फिफा विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँगको भेट पक्का गरेको छ । यता, आइतबार साँझ भएको खेलमा पोल्याण्डलाई ३–१ ले हराएर फ्रान्सले शनिबारको क्वाटरफाइनलमा इंग्ल्याण्डसँग भिड्ने भएको हो ।

दोहाले अल बायेट रंगशालामा सुरुवातमा लड्खडाएको इंग्लिस टिमले कमब्याक गराउँदै जुड बेलिंगघमले शानदार प्रदर्शन गरे । ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गरेको पहिलो गोलमा उनैले शशक्त क्रस उपलब्ध गराएका थिए । पहिलो हाफ सकिनु केहि सेकेण्डअघि उनी र फिल फोडेनको सन्तुलनसँगै उपलब्ध बलमा कप्तान ह्यारी केनले गोल गरेका हुन् । केनको यो विश्वकपमा पहिलो गोल हो । यो गोल केनको इंग्ल्याण्डका लागि ५२औं गोल हो । उनी इंग्ल्याण्डका सर्वकालीन सर्वाधिक गोलकर्ता वायने रुनीको कीर्तिमानबाट १ गोलले पछि छन् । कतार विश्वकप केनका लागि नयाँ कीर्तिमान बनाउने उपयुक्त मन्च बन्ने आँकलन गरिएको छ । फिल फोडेनले खेलमा दोस्रोपल्ट असिस्ट गर्दा ५७औं मिनेटमा इंग्ल्याण्डले अग्रता बढायो । यसपल्ट बुकायो साकाले सेनेगलका गोलरक्षक एडुवार्ड मेण्डीलाई छक्याउँदै गोल गरेका थिए ।

यता, अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए भने एमबाप्पेले दोस्रो हाफमा दुई गोल थपेका थिए । खेलको अन्तिम मिनेटमा पोल्याण्डका लागि रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत एक गोल फर्काए ।

विश्वकपका दुई पूर्व विजेताहरुको भेट क्वाटरफाइनलमै हुन लागेको हो । इंग्ल्याण्डले सन् १९६६ यता विश्वकप उपाधि जित्न सकेको छैन । फ्रान्सले सन् १९९८ र चार वर्षअघि विश्वकप उपाधि जितेको थियो । यो पटक हुने दुई पूर्व विजेताहरुको क्वाटरफाइनलको भेटले नयाँ विजेताको छिनोफनो गर्ने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ