Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsब्रिजवेनमा नेपालीले मनाए बुद्ध जयन्ती । अष्ट्रेलियामा २ हजार वर्ष अघि नै बुद्ध धर्मको प्रभाव

ब्रिजवेनमा नेपालीले मनाए बुद्ध जयन्ती । अष्ट्रेलियामा २ हजार वर्ष अघि नै बुद्ध धर्मको प्रभाव


ब्रिजवेन/सरल गुरुङ

ब्रिजवेनका नेपालीले विशेष कार्यक्रम गरि २५६३ औं बुद्ध जयन्ती मनाएका छन् ।
ब्रिजवेनको मुटु साउथ बैंकमा रहेको नेपाली प्यागोडा मन्दिर परिसरमा भेला भएर नेपालीले बुद्ध जयन्ती मनाएका हुन् । विभिन्न नेपाली भेषभुषामा सजिएर भेला भएका सहभागीहरुले विश्वशान्तिको कामना गरेका थिए । नेप्लिज इन्डिजिनियस ग्रुप अफ अष्ट्रेलिया (निगा) र नेप्लिज एसोसियसन अफ कुइन्सल्याण्ड (न्याक) ले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो ।
बुद्ध धर्मको प्रचारप्रसार र नेपाली कला संस्कृतिको संरक्षण गर्न भन्दै सन् २०१५ देखि यी संस्था मिलेर व्रिजवेनमा बुद्ध जयन्ती मनाउदै आएको छ ।

नेपाली मौलिख कलासंस्कृति र चाडपर्वलाई अष्ट्रेलियामा हुर्कदै गरेको दोस्रो पुस्तालाई हस्तान्तरण गर्न पनि बुद्ध जयन्ती मनाउने गरिएको निगाका अध्यक्ष सन्तोष पाख्रिनले बताउनुभयो ।
कार्यक्रममा सहभागी बुध्दिष्ट काउन्सिल अफ कुइन्सल्याण्डका अध्यक्ष किम होलो र उहाँकी धर्मपत्नी मेभ होलोले बुद्ध प्रतिमामा पुष्पगुच्छा अपर्ण गरि सम्मान गर्नु भएको थियो ।
नेपाल ट्युबसंग कुरा गर्दै अध्यक्ष होलोले शाक्यमुनी बुद्धको जन्मभूमि नेपालको लुम्बिनी बारे विवाद गर्नुपर्ने कारण नरहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै उहाले बौद्ध ज्ञान प्रचारका लागि आफ्नो संस्था सधै लागि परेको समेत बताउनुभयो ।
कार्यक्रममा तमु समाज कुइन्सल्याण्ड, तामाङ कम्युनिटी अफ कुइन्सल्याण्ड , शेर्पा क्युदुक, मगर संघ जस्ता जातिय संघसंस्थाहरुका प्रतिनिधी पनि सहभागी थिए ।
कार्यक्रममा विश्व बस्नेत,बन्दना पाख्रिन लगायत कलाकारले सांगितिक प्रस्तुती समेत दिएका थिए ।

अष्ट्रेलियामा २ हजार वर्ष अघि नै बुद्ध धर्मको प्रभाव

अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यमा २ हजार वर्ष अघि नै बुद्ध धर्मको विस्तार भएको आधारहरु भेटिएको बुदिष्ट काउन्सिल अफ कुइन्सल्याण्डले जनाएको छ । काउन्सिलको वेवसाइटमा उल्लेख गरिएको विवरण अनुसार कुइन्सल्याण्डको केप वर्क भन्ने स्थानमा २ हजार वर्ष पुराना बौद्धमार्गीहरुले प्रयोग गर्ने भाडाकुडाको अवशेषहरु भेटिएको छ ।


बौद्ध धर्म अष्ट्रेलिया प्रवेश गर्ने पहिलो बाहिरी धर्म समेत हो । हाल कुइन्सल्याण्डमा ९० वटा भन्दा बढी धर्मा केन्द्र र बौद्ध धर्म सम्बन्धि संस्थाहरु छन् । यो संख्या सन् १९८२ सम्म ४ र २००४ सम्म जम्मा ४० वटा रहेको काउन्सिलले जनाएको छ ।
ब्रिजवेनमा सन् २००८ मा मनाइएको बुद्ध जयन्तीमा एक लाख ८० हजारभन्दा बढी मानिस सहभागी भएका थिए ।

बुद्ध को हुन् ? 

वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्म जयन्ती अर्थात बुद्ध जयन्ती को रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

इसापूर्व ५६३ अर्थात आजभन्दा २५६३ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।
ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ