आजै फ्रान्स डिपोर्ट गरिए शोभराज, प्रेमिका निहिताले यस्तो बताइन
काठमाडौं । चाल्स शोभराजकी प्रेमिका अधिवक्ता निहिता विश्वासले १९ वर्ष जेल बसेर छुटेका आफ्ना प्रेमीलाई सुरक्षित घर फर्काउन चाहेको बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै विश्वासले मुटुको भल्भको समस्या रहेकोका शोभराजलाई सुरक्षित घर फर्काउन जरूरी भएको बताउनुभएको हो ।
बुढ्यौँली र स्वास्थ्य स्थितिलाई लिएर सर्वोच्चले कैदमुक्तको फैशला गरेको भन्दै विश्वासले केन्द्रीय कारागारबाट सिधै फ्रान्स पठाउन लागिएको बताउनुभयो । आफ्ना प्रेमी चार्ल्स शोभराज छुट्दा कस्तो लाग्यो भन्ने प्रश्नमा विश्वासले भन्नुभयो, ‘हाम्रो निजी सम्बन्ध कानुनकै कारण भएको थियो। यति लामो समयपछि उनी छुटेका छन्। अहिले म आफ्नो निजी कुरा गर्न चाहन्नँ। उनी सुरक्षित घर पुग्न सकुन् भन्ने मात्रै मेरो चाहना हो।’
धेरै वर्षपछि आफूहरूको लडाईं सकिएको भन्दै शोभराजका वकिलहरूको टिमलाई विश्वासले धन्यवाद समेत दिनुभएको थियो । सर्वोच्च अदालतले २०७५ सालपछि नै शोभराजलाई छोड्न सकिने भन्दै विभिन्न आदेशहरू दिएको भएपनि सरकारी अड्डाहरूले निर्णय गर्न नसकेको र अहिले न्याय पाएको उहाँको जिकिर थियो । निहिता आफूहरुको प्रेम र अन्य मामिला बारे पछि नै कुरा गर्ने भन्दै पन्छिनुभएको थियो ।
आजै फ्रान्स डिपोर्ट भए शोभराज
सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज साँझ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स फर्किएका छन् । शोभराजका वकिल गोपाल शिवाकोटीले केहीदिन नेपाल बस्न चाहेको भएपनि सुरक्षाको कारण देखाउँदै आजै डिपोट गरिएको बताउनुभयो । दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्ष २ महिना नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा भएको थियो ।
तपाईको प्रतिक्रिया