Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनए अष्ट्रेलियाको नेतृत्व कसको पोल्टामा ?

एनआरएनए अष्ट्रेलियाको नेतृत्व कसको पोल्टामा ?


सरल गुरुङ/सिड्नी

आगामी जुन ३ देखि ८ तारिखभित्र हो औपचारिक रुपमा उमेद्वारी घोषणा गर्ने । तर, यो मिति आउनु महिनौ दिन अघि नै गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी नेतृत्वका लागि ३ जनाले सामाजिक संजालमा आ आफ्नो उमेद्वारी घोषणा गरिसकेका छन् । अन्य पदमा पनि फेसबुके उमेद्वारी दिनेको लर्को लामै छ । तर, अध्यक्ष पदका लागि समय अघि नै मैदानमा उत्रिएकाहरुका विषयमा भने अष्ट्रेलियाली नेपाली समाजमा चर्चा परिचर्चा सुरु भइसकेको छ ।
त्यसो त अघिल्ला वर्षहरुमा चुनाव आउनु ३/४ महिनादेखि नै कोठे बैठकहरुमा कसलाई जिताउने भन्ने रणनीति बनिसकेको हुन्थ्यो । तर, यसपाली संघिय निर्वाचन र त्यसमा पनि नेपाली उमेद्वार खडा भएकाले यहाँको नेपाली समाजमा एनआरएनए निर्वाचन अलि ओझेलमा पर्यो ।
संघिय चुनावपछि व्यापक चुनावी रणनीतिमा जाने तयारीमा रहेका उमेद्वारहरुले आ-आफ्नो सक्रियता बढाइसकेका छन् ।

अब चर्चा गरौ नेतृत्वका लागि फेसबुकमा उमेद्वारी घोषणा गरेकाहरुको ।
एनआरएनए अष्ट्रेलियाको २०१९-२०२१ कार्यकालको नेतृत्वका लागि न्यु साउथ वेल्स राज्यबाट दिनेश पोखरेल र नन्द गुरुङले उमेद्वारी दिएका छन् भने भिक्टोरिया राज्यबाट केशव कँडेल मैदानमा उत्रिएका छन् ।
यी तिनै उमेद्वारका प्रत्यासी अष्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित नाम हुन् । फेसबुकमा लामो स्टाटस लेखेर उमेद्वारी दिएका तीनै जनाले यस अघि विभिन्न पदमा बसेर काम गरिसकेकाले आगामी नेतृत्व आफुले पाउनुपर्ने दावी गरेका छन् ।
हाल एनएसडब्लु राज्यको संयोजक तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष समेत रहेका नन्द गुरुङले आफु २४ वर्षदेखि नै यहाँको नेपाली समाजमा सक्रिय रहेको दावी गर्दै लेखेका छन् – दुइ दशक भन्दा अघि देखि नै अष्ट्रेलियामा बस्दै आएको, समाज सेवाको नशा लागेको एउटा इमान्दार कर्मठ, मेहनती र दुरदर्शी एनआरएनएको अभियन्ताको रुपमा आज यहाँहरुको सामु उभ्याउन पाउदा गर्व लागेको छ ।
आफुलाई नेतृत्वमा दावी गर्दै उनले तमू समाज सिड्नीको उपाध्यक्ष हुदै ग्रानभिल नेपलिज कम्युनिटी क्लबको अध्यक्ष हुदा सम्मको आफ्नो कामलाई बेलिबिस्तार लगाएका छन् ।
त्यस्तै उनले युवा र खेलकुदको विकासका लागि ग्रानभिल राइनोस फुटवल क्लव स्थापना गरेको कार्यलाई महत्वपूर्ण उपलब्धी समेत मानेका छन् ।


न्यु साउथ वेल्स राज्यको संयोजकका रुपमा नन्द गुरुङले नेपाली समाजलाई पु¥याएको योगदान प्रशंसायोग्य छ । खासगरी सबै समुदायलाई समेटेर नेपाल महोत्सव सिड्नी २०१८ आयोजना गरेपछि गुरुङको नेतृत्वको प्रशंसा भएको थियो ।
एनएसडब्लु राज्यको संयोजक बन्नुमा नेपाली समाजकै विश्वास रहेको भन्दै अध्यक्षका उमेद्वार गुरुङले आफुलाई पुन एक पटक साथ दिन सबैमा अपिल गरेका छन् ।

गुरुङ र कँडेलको तुलनामा संक्षिप्त स्टाटस लेखेका अर्का उमेद्वार दिनेश पोखरेल अष्ट्रेलियाकै एक प्रतिष्ठित अनुहार मध्ये एक हो । खासगरी नेपाली समाजमा मर्दापर्दा धेरैको सहयोगी बनेका पोखरेलले पनि यसअघि विभिन्न पदमा रहेर गरेको सेवालाई नै आगामी नेतृत्वका लागि मुख्य मानकका रुपमा पेश गरेका छन् ।
उनले एनआरएनए अष्ट्रेलियाको प्रवक्ता देखि न्यु साउथ वेल्स राज्य संयोजकसम्म भएर नेपाली समाजमा योगदान गरेका छन् ।
सिड्नीमा हुने नेपाल महोत्सवलाई भव्य बनाउन समेत महत्वपूर्ण योगदान पु¥याएको सन्दर्भलाई समेत पोखरेलले आफ्नो उमेद्वारी घोषणामा उल्लेख गरेका छन् ।

खासगरी हालको अष्ट्रेलियाको केन्द्रिय कार्यसमितिमा सोसियल वेलफेयर फण्डका संयोजक समेत रहेका पोखरेलले नेपाली समाजमा भइपरी आउने घटनामा सहयोग र उद्धार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै धेरैले प्रशंसा गर्ने गरेका छन् । 
त्यसो त अन्तराष्ट्रिय झापाली समाजका अध्यक्षका रुपमा समेत पोखरेलले नेपाली समाजलाई जोड्ने काम गरेका छन् । नेपाली सिनेमा क्षेत्रमा लगानी गरेर नेपाली कलासंस्कृति जोगाउन समेत पोखरेल सक्रिय देखिन्छन् ।
प्राय सामाजिक सेवामै रमाउने पोखरेलले आफुलाई जिताउन सबैमा अपिल गरेका छन् ।

अब लागौ तेस्रो उमेद्वारतर्फ ।
भिक्टोरिया राज्यको मेलवर्नमा बसोबास गर्ने केशव कँडेल नेपाली समाजका लागि नौलो नाम होइन । उनले आफ्नो उमेद्वारी घोषणा स्टाटसमा लेखेका छन् – म सन् १९९८ सालमा अष्ट्रेलियाको मेलवर्नमा विद्यार्थीका रुपमा आएदेखि नै नेपाली समाजमा मनबचन र कर्मले सक्रिय हुदै आएको छु ।
सन् २००८ मा पढाइ सकेपछि भने निरन्तर रुपमा नेपाली समाजलाई योगदान पु¥याउदै आएको कँडेलले उल्लेख गरेका छन् । सन् २००८ मा स्वयम् सेवकबाट सुरु एनआरएनएको यात्रा एनसीसी सदस्य हुदै भिक्टोरिया राज्यको दुइ पटकसम्म संयोजक पदमा निर्वाचित भएको कुरा कँडेलले सगौरव स्मरण गरेका छन् । कँडेल हाल भिक्टोरिया राज्यको एनआरएनएको नेतृत्वमा छन् ।

समाजिक कार्यमा आफ्नो व्यवसायिक स्वार्थ बाझिन नदिन हदैसम्मको सर्तकता अपनाएको कडेलको दाबी छ । त्यसैले अनुभव र परिपक्कताको आधारमा आगामी कार्यकालका लागि अष्ट्रेलियाली नेपालीकोहरुको सारथी बन्नुपर्ने कँडेलको भनाई छ ।

तीनै जना उमेद्वारहरुले आफुलाई गैरराजनीतिक दावी गरेका छन् । त्यसो त गैर आवासिय नेपाली संघ एक गैर राजनीतिक संस्था पनि हो । तर, यसअघि झै यसपालि पनि नेतृत्वको उमेद्वारी राजनीतिक गन्धबाट मुक्त हुन सकेको छैन ।
यसपाली पनि नेपालकै राजनीतिक दलको भातृ संगठन जसरी उमेद्वारी दिने कामले निरन्तरता पाएको छ ।
खुलेर घोषणा नगरेपनि यसपाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा दिनेश पोखरेलले उमेद्वारी दिएका छन् भने, नेपाली कांग्रेसबाट नन्द गुरुङ र केशव कँडेल मैदानमा ओर्लिएका हुन् ।
तीनै जना उमेद्वारले पार्टी, क्षेत्र र वर्गका आधारमा आ आफ्नो प्यानल नै बनाएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् ।
अब प्रश्न उठ्छ अष्ट्रेलियाको गैरआवासिय नेपाली समाजको नेतृत्व यसपाली कसको पोल्टामा जाला ?
यसको उत्तर त्यति सजिलो छैन । तर, पार्टीगत रुपमा हेर्ने हो भने चाहि नेपाली कांग्रेसको दुइ उमेद्वार नै मतदानमा गएमा दिनेश पोखरेलले बाजी मार्ने देखिन्छ ।
अर्को तर्फ यदि कांगे्रेसका दुइ मध्ये एकले मैदान छोडेमा नतिजा अलि फरक आउन सक्छ ।
त्यसैले दुइ कांग्रेसी उमेद्वारहरु आफ्ना लागि मैदान खाली गराउन हदैसम्मको कसरतमा जुटेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ