
ब्रिजवेन
राम्रो चलचित्र बने हलहलमा दर्शकको बाढी लाग्छ भन्ने कुरा जात्रैजात्राले पुष्टी गरिदिएको छ । सामान्य कथामा अब्बल चलचित्र बनेको भन्दै दर्शकको वाहवाही पाएको जात्रैजात्राको क्रेज अष्ट्रेलियामा पनि उत्तिकै देखिएको छ ।
सबै शोहरु हाउसफुल हुन थालेपछि दर्शकले भूइमै बसेर भएपनि सिनेमा हेरेका छन् । मंगलबार व्रिजवेनमा भएको दोस्रो शो हाउसफुल भएपछि २० जना दर्शकले भूइ र सानो कुर्सीमा बसेर सिनेमा हरेका हुन् ।
हाउसफुल भइसकेपछि आएका दर्शकहरुले जसरी पनि सिनेमा हेर्नुपर्ने माग गरेपछि आयोजकले हल प्रशासनसंग अनुमति लिएर केही कुर्सी थप गरेको हो । थप कुर्सीमा बसेकाहरुलाई न्युन शुल्क लिएकाे आयाेजकले जनाएकाे छ ।

व्रिजवेनमा एकैपटकमा ६० वटा सम्म टिकट बेचेका अमृत खत्रीले यसअघिको कुनै पनि नेपाली सिनेमाको टिकटका लागि यति धेरै माग आएको आफुले थाहा नपाएको बताउनुभयो ।
‘अन्तिम समयमा हलमा पुगेका दर्शकहरुले अनुरोधलाई नकार्न नसकेपछि हामीले विकल्प खोजेका हौं’ – नेप्स्ब्रिजवेनका संचालक अरुण तिवारीले भने -‘अब हामी अरु शोहरु ठुलो हलमा देखाउने तयारी गरिरहेका छौ’ ।
व्रिजवेनमा पहिलो २६० र दोस्रो शो भएको हलमा १७५ जनाको क्षमता थियो ।

त्यस्तै अष्ट्रेलियाको सिड्नी र तासमानियामा पनि शोहरु हाउसफुल भएका छन् । सिड्नीमा त दर्शकको चाप खेप्न नसकेर तोकिएको ४ शोलाई बढाएर ८ शो बनाइएको अष्ट्रेलियाको वितरण जिम्मा पाएको ‘हो र होइन होला’ इभेन्टले जनाएको छ ।
सबै शोहरु हाउसफुल हुन थालेपछि अन्य शहरहरुमा पनि तोकिएको भन्दा थप शोहरु थपिएको इन्भेन्टका संचालक रोशन भट्टराईले जानकारी दिनुभयो ।
