Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : ७ प्रदेशमा नयाँ मुख्यमन्त्रीदेखी दुर्गम गाउँमा हेलीप्याडसम्म

नेपाल अपडेट : ७ प्रदेशमा नयाँ मुख्यमन्त्रीदेखी दुर्गम गाउँमा हेलीप्याडसम्म


काठमाडौं । ७ वटै प्रदेशमा नयाँ मुख्यमन्त्री, नेपाली बैंकले घटाएको ब्याजदर, नेपालको मौसमी अवस्था, अनेरास्ववियुको महाधिवेशन बिवादसँगै नेपाली सेनाले डोटीको दुर्गम गाउँमा बनाएको हेलीप्याड बारेका प्रमुख ५ खबर यस्ता छन् ।

सातवटै प्रदेशले पाए नयाँ मुख्यमन्त्री
नेपालका सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् । बुधबार चार प्रदेशमा एकै साथ मुख्यमन्त्री नियुक्त भएसँगै सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका हुन । सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा एमालेका लीला गिरी र मधेसमा सरोज यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । यसअघि नै प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमतीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल र गण्डकी मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसक्नुभएको छ । मधेस प्रदेशमा जसपा र जनमत, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा एमाले र माओबादी केन्द्रबीच आलोपालो गर्ने केन्द्रको सहमति अनुसार साढे दुई वर्षको लागि मुख्यमन्त्री नियुक्त भएका हुन् । केन्द्रबाट प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पाँच वर्षसम्म सरकार चलाउने सहमति भएपनि कर्णाली प्रदेश संसदीय दलले आलोपालोमा सहमति गरेका छन् ।

घट्यो नेपाली बैंकको ब्याजदर
नेपालमा बैंकको ब्याजदर घटेको छ । वुधबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो । पछिल्लो केहीदिन यता ऋण प्रवाह रोकिएर लगानीयोग्य पूँजी प्रभावित भएको भन्दै अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाउनुपर्ने आवाज उठाएका थिए । यसअघि मुद्दती निक्षेपको ब्याजदर १२ दशमलब १३ प्रतिशत रहेको थियो । घटेको ब्याजदर माघ १ बाट लागू हूने बताइएको छ ।

मौसममा क्रमश सुधार हुँदै, चिसोले जनजीवन प्रभावित
देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली देखिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहे पनि तराईमा हुस्सुले जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका राती हल्का हिमपातको आँकलन गरिएको छ । सितलहर र हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित बनाएको छ ।

अनेरास्ववियुले २३ औं महाधिवेशन फागुनमा, केहीको असन्तुष्टि
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ सम्म गर्ने निर्णय गरेको छ । पदाधिकारी बैठकबाट काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएसँगै संगठनका केही पदाधिकारी र सदस्यले असन्तुष्टि जनाएका छन् । अखिल इन्चार्ज माधव ढुंगेल र अध्यक्ष सुनिता बरालले पदाधिकारी बैठकमा महाधिवेशनको मिति प्रस्ताव गरेका थिए । यता, वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू मोती विक वाङ्फु योञ्जन, उमेश आचार्यलगायतका पदाधिकारीले स्ववियु चुनावपछि अधिवेशन गर्नुपर्ने भन्दै असहमति जनाएका छन्।

डोटीको दुर्गम गाउँमा सेनाले निर्माण गर्यो हेलीप्याड
नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ ।गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा विपदमा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले हेलीप्याड निर्माण गरिएको हो । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले विपद उद्धारलाई केन्द्रमा राखेर हेलीप्याड निर्माण गरिएको जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ