Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalयसरी गरिदैछ संघीय सरकारमा मन्त्रीको भागबडा, रवी लामिछानेका कती मन्त्री ?

यसरी गरिदैछ संघीय सरकारमा मन्त्रीको भागबडा, रवी लामिछानेका कती मन्त्री ?


काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालय नफुटाउने सहमति भएसँगै केही राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषदले ढिलोमा शुक्रवारसम्म पूर्णता पाउनेगरि सत्तारुढ दलका नेताहरुले छलफललाई तिब्रता दिएका छन् । आज समेत सत्ता गठबन्धन बैठकमा बस्दैछन् । संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकार अनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँटको गृहकार्य थालेका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असाधारण मतसहित विश्वासको मत पाएसँगै सत्ता साझेदार दलहरुबीच संघीय मन्त्रीमण्डल भागबण्डाको गृहकार्य तिब्र बनाइएको छ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाईलाई शर्त बनाउँदै सरकारमा सहभागी हुन आनाकानी गरेको छ । यद्यपी उन्मुक्तिभित्र सरकारमा गएर रेशमको रिहाइको पहल गर्ने कि बाहिर बस्ने भन्ने दुईधार देखिएको छ । नागरिक उन्मुक्ति सरकारमा जाँदा उसले एउटा मन्त्रालय पाउने समझदारी छ ।

सत्तारुढ दलहरुबीचको संवादले औपचारिक सहमति नपाएपनि ७९ सीट रहेको सत्ता घटकको सबैभन्दा ठूलो दल नेकपा एमालेले १० वटा मन्त्रालयको दाबी गरेको छ । सात दलबीच बाँडफाँट गर्दा ९ वटामा चित्त बुझाउनुपर्ने अवस्था देखिएको छ । एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित हाल चार जना मन्त्री सरकारमा छन् । मन्त्रालय बाँडफाँट नभएकाले ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी अहिले बिना विभागीय छन् । अब एमालेबाट बढीमा ५ जना मन्त्री थपिनेछन् । ३२ सीट रहेको माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित बढीमा ६ जना हुनेछन् । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको क्याबिनेटमा उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ छन् । अब माओवादीबाट बढीमा ४ जना मन्त्री थपिनेछन् । साझेदार दलहरुमा भागबण्डा गर्दा माओवादीले थप ३ मन्त्रीमा नै चित्त बुझाउनुपर्ने अवस्था आउनसक्छ ।

सत्ता साझेदारमध्ये तेस्रो ठूलो दल २० सीट बोकेको रास्वपाले ४ वटा मन्त्री पाउनेछ । अहिले रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहको जिम्मेवारीमा छन् । अब एक राज्यमन्त्रीसहित ३ जनाले रास्वपाबाट सरकारमा मौका पाउनेछन् । चौथो ठूलो घटक राप्रपाको १४ सीट छ, उसले ३ वटा मन्त्रालय पाउने भएको छ । राप्रपाले एक राज्यमन्त्रीसहित ४ मन्त्री मागेको छ । सरकारमा सहभागी हुने निर्णय गरि नसके पनि १२ सिटे जसपालाई २ वटा मन्त्रालय दिने तयारी छ । ६ सीट रहेको जनमत पार्टीले एउटा मन्त्री पाइसकेको छ । उसले थप एक मन्त्रालय मागे पनि एउटैमा चित्त बुझाउनु पर्ने अवस्था छ । उसले मधेसमा जसपाका मुख्यमन्त्रीलाई विस्तापित गरेर दोस्रो चरणको मुख्यमन्त्री पाउनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ