Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : भ्रष्टाचारविरुद्ध अख्तियारको डण्डादेखी, नेपाली सेनाको सम्मेलनसम्म

नेपाल अपडेट : भ्रष्टाचारविरुद्ध अख्तियारको डण्डादेखी, नेपाली सेनाको सम्मेलनसम्म


काठमाडौं । भ्रष्टाचारविरुद्ध अख्तियारको कारबाही, धनकुटामा आगोलागी, नारायणगढ–मुग्लीन सडकमा हटेको अबरोध, रोजगार कार्यक्रमको अर्बौँ रकम खर्च नभएको, नेपाली सेनाको सम्मेलन लगायतका प्रमुख ५ खबरहरु यस्ता छन् ।

यातायातका तत्कालिन निमित्त कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चावहिलका तत्काल–ीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध एक करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । पोखरेलले आफ्नो पदको दुरुपयोग गरी स्रोत नुखलेको अनियमित रकम आफ्नो श्रीमतीको नाममा जोडेको अभियोग लगाइएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारि दिनुभयो । हालको उनको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफतको बिगो दाबीको माग गरिएको छ ।

धनकुटाको सिँधुवा बजारमा आगलागी
धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा शुक्रबार बेलुका भएको आगलागीबाट ६ वटा घरमा क्षती पुगेको छ । सन्तोष राईको घरबाट सुरु भएको आगोले बजारका दुई घरमा पूर्ण तथा ४ घरमा आंशिक गरी ६ वटा घरमा क्षति पुगेको छ । बेलुका ७ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले तथा छिमेकी तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुरबाट आएको दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासमा निभाइएको थियो । आगो ताप्न बालिएको कोइलाबाट आगो सल्किएको प्ररम्भिक आँकलनसहित क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुई दिनका लागि मुग्लिन–नारायणगढ सडकको अवरोध हट्यो
मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने भएका छन् । पुल बनाउनको लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको यो सडक खण्डमा माघे सङ्क्रान्तिका लागि आज र भोलि गाडी नरोकिने निर्माण पक्षले जानकारि दिएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले अवरोध हटाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यो सडक खण्डमा गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आइएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको छ भने अझै चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ

रोजगार कार्यक्रमको ७ अर्ब ढुकुटीमै थन्कियो
चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको कायार्वन्यन फितलो देखिएको छ । पुस सकिनै लाग्दासम्म रोजगार कार्यक्रमका लागि विनियोजित बजेटको ४ प्रतिशत मात्रै खर्च भएर ७ अर्ब ढुकुटीमै थन्किएको हो । चालु आर्थिक वर्षको लागि सरकारले रोजगार कार्यक्रमका लागि ७ अर्ब १३ करोड २९ लाख बजेट विनियोजन गरेको छ । तर, खर्च भने ५८ लाख हाराहारि भएको छ । यो कुल विनियोजित बजेटको ४.२ प्रतिशत मात्रै हो । सरकारले यो वर्ष २ लाख सूचीकृत बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी दिने लक्ष्यसहित कार्यक्रम कार्यान्वयन गरिरहेको छ । अहिलेसम्म २ हजार ७२५ जनाले मात्रै कार्यक्रम अन्तर्गत निर्माण आयोजनाहरुमा काम पाएका छन् । स्थानीय तहले यो वर्ष ६ हजार ४८५ वटा आयोजनाका लागि ५ अर्ब २६ करोड खर्चे गर्ने गरी कार्यक्रम तय गरेपनि प्रभावकारी कार्यान्वयन देखिएको छैन ।

नेपाली सेनाको कार्यरथी सम्मेलन सम्पन्न
नेपाली सेनाले जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आफ्ना जिम्मेवारीको वर्तमान वस्तुस्थिति, सम्पादित कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरिका छन् । सम्मेलन पूर्वकार्यरथीको अनुभव र सुझावले सेनालाई जिम्मेवारी निर्वाह गर्न तथा भावी नीति र योजना निर्माणमा ठोस योगदान प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ