Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविमान दुर्घटनामा निधनकाहरुको शव आफन्तलाई जिम्मा लगाइदै, आज सार्वजनिक बिदा

विमान दुर्घटनामा निधनकाहरुको शव आफन्तलाई जिम्मा लगाइदै, आज सार्वजनिक बिदा


कास्की, काठमाडौं । पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आफन्तलाई जिम्मा लगाउन थालिएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाउन थालिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभएको हो ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत काठमाडौं ल्याइने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६८ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । चार जनाको खोजी भैरहेको छ । सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार बिहानैदेखि सुरु गरिएको छ ।

आज यतीका सबै उडान रद्द
यती एयरलाइन्सले आज सोमबारका सबै उडान रद्द गरेको छ । पोखरामा आइतबार ९एन–एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जानकारि दिएको हो ।

शोकमा आज सरकारले दियो सार्वजनिक बिदा
विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको सरकारले आज शोक मनाउन सार्वजनिक विदा दिएको छ । यस्तै दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ