Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : विमान दुर्घटना अपडेटदेखी राप्रपा अध्यक्ष लिङदेनको सत्ता यात्रासम्म

नेपाल अपडेट : विमान दुर्घटना अपडेटदेखी राप्रपा अध्यक्ष लिङदेनको सत्ता यात्रासम्म


काठमाडौं । पोखरा विमान दुर्घटना अपडेट, मन्त्रिमण्डल विस्तार, सर्वदलीय बैंठक, मौसमी अवस्था र रुकुमपश्चिमको पर्यटकिय गाउँको चहलपहल बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

पोखरा विमान दुर्घटना अपडेट : आफन्तले शव बुझ्न थाले
यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका २ जना खोजी अहिले पनि जारी छ । सोमबार ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएसँगै ७० जनाको शव भेटिएको छ । भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । २४ शवको सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ । अपुष्ट, विदेशी एवं पहिचान नखुलेका ४५ वटा शव आजै काठमाडौं ल्याएर आवश्यक प्रक्रिया पुरा गरि आफन्तको जिम्मा लगाइने बताइएको छ ।

आज मन्त्रिमण्डलले पुर्णता पाउने
सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकबाट मन्त्रालयको भागबण्डा टुंगिएसँगै आज मन्त्रिमडलले पुर्णता पाउने भएको छ । सत्ता गठबन्धनको ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । एमालेका दुई राज्यमन्त्रीले सपथ लिनेछन् । यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएअनुसार आज सपथ हुँदैछ । राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । जनमत पार्टीले एक मन्त्री यसअघि नै पाएको छ । जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरिसकेको अवस्था छैन । यद्यपी आज भागबण्डा अनुसार सबै मन्त्री र राज्यमन्त्रीले दिउँसो १ बजे सपथ लिने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक
राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको छ । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको हो । बिहिबार हुने सभामुखको चुनावका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिने÷नदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताउनु भएको छ । गएको पुस १० गतेको समझदारीअनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशावादी हुनुहुन्छ । यही पृष्ठभूमि बनाउन कांग्रेसले गएको २६ गतो प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो ।

यस्तो छ नेपालको पछिल्लो मौसमी अवस्था
आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली नै रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । आज प्रदेश १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । तर पानी भने पर्ने सम्भावना नरहेको बताइएको छ । काठमाण्डौको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसम बदलीसँगै हिमपात बढ्न थालेको बताइएको छ ।

पूर्वीरुकुमको भूमे १ मा पर्ने लुकुम गाउँमा आन्तरिक पर्यटकको ओहिरो
पूर्वीरुकुमको भूमे १ मा पर्ने लुकुम गाउँ एक दशक अगाडिसम्म सुनसान रहेकोमा अहिले पर्यटकीय गन्तव्य बन्न थालेको छ । थियो । मध्यपहाडी लोकमार्गले जोडिएको गाउँमा विकासका लहर छाउनुका साथै लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत भएको छ । लोकमार्गले नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ । अहिले दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तीन वर्ष अगाडि लोकमार्ग कालोपत्र भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ